+
+

इजरायलमा मृत्यु भएका नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण

आर्यन धिमाल आर्यन धिमाल
२०८० कात्तिक ५ गते ९:५०

५ कात्तिक, काठमाडौं । इजरायलमा प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये दीपेश विष्ट र लोकेन्द्रसिंह धामीको शव आज बिहान काठमाडौं ल्याइपुर्याइएको छ ।

नारायणप्रसाद न्यौपानेको शव भने राति नै काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आज बिहान ल्याइपुर्याइएका धामी र विष्टको शव पनि त्रिवि शिक्षण अस्पतालमै लगिएको छ ।

आशिष चौधरीको शव भने आज दिउँसो आइपुग्दै छ । चारवटै शव अपराह्न दुई बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लगिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल ल्याइएका शवमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरे ।

उनले प्यालेस्टिनी आतंकवादीको आक्रमणमा परी मृत्यु भएका १ हजार ४०० जनाको शव इजरायलमा रहेको भन्दै ती शव पहिचान गरेर पठाउने क्रम जारी रहेको जानकारी दिए । उनले इजरायलमा बेपत्ता विपिन जोशीलाई खोज्न अन्तर्राष्ट्रिय समुदाय र सहयोगी संस्थामात्र नभइ हमासलाई पनि खोजीका लागि आह्वान गरेको जानकारी दिए ।

इजरायलस्थित नेपाली राजदूतावासले पहिलो चरणमा चरणमा दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, नारायणप्रसाद न्यौपाने र आशिष चौधरीको शव नेपाल पठाइएको जनाएको छ । अन्य ६ जना नेपालीको शव भने पहिचान गर्नेे र पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने दूतावासले जनाएको छ ।

कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।

युद्ध तत्काल रोकिने स्थिति नदेखिएपछि सरकारले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको थियो । पहिलोपटक नेपाल एयरलाइन्सको हवाई जहाज पठाएर २५४ जना नेपालीहरुलाई स्वदेश ल्याइएको थियो भने १८ जना नेपालीहरु भारतको उद्धार उडान मार्फत् आएका थिए ।

नेपाल फर्किन चाहनेहरुका लागि इजरायलको तेलअविवस्थित नेपाली दूतावासले अनलाइन रजिष्ट्रेसन गर्दै आएको छ । अनलाइनमा थप १४० जना नेपालीहरुले स्वदेश फर्किने इच्छासहित आफ्नो विवरण इन्ट्री गराएको र तीमध्ये सात जना मात्रै तत्कालै नेपाल फर्किन इच्छुक रहेको दूतावासले जनाएको छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?