+
+

३ वटा ट्वीनअटर जहाज थप्दै निगम, दुर्गममा उडान बढाउने

ऋणात्मक प्रगतिलाई रोक्न र बजार उपस्थिति बढाउन जहाज थप गर्नु परेको निगमको दाबी छ । आर्थिक जोहो कसरी ?

अच्युत पुरी अच्युत पुरी
२०८० कात्तिक ५ गते १२:३४
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज । फाइल फोटो

५ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले तीनवटा नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ ।

नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिएका थिए । उनका अनुसार निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको छ ।

मन्त्री किरातीले पछिल्ला दिनमा नेपाल वायुसेवा निगमका लागि थप जहाज किन्ने विषयलाई निरन्तर उठाउँदै आएका छन् । नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले तत्कालीन आवश्यकता पुरा गर्न अहिले कम्तिमा ३ वटा जहाज किन्ने योजना छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती

दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट किन्ने योजना रहेको उनले जानकारी दिए । उनका अनुसार यस पटक जहाज निर्माता कम्पनीबाटै सिधै खरीद गर्ने कार्ययोजना तयार भएको छ ।

निगमले किन्ने नयाँ ३ वटा जहाज नेपालका दुर्गम क्षेत्रमा केन्द्रित गर्ने निगमको योजना छ । यसले यात्रुले सेवा पाउने, पर्यटन प्रवद्र्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र सेवा प्रभावकारी हुने विश्वास निगमले लिएको छ ।

निगमले उडान थालेका सुकेटार, इलाम, गुल्मी, डोल्पा, मनाङ, जुम्लाजस्ता बढ्दो मागका बाबजुद जहाज अभावले नियमित उडान हुन सकेको छैन । ऋणात्मक प्रगतिलाई रोक्न र बजार उपस्थिति बढाउन जहाज थप गर्नु परेको निगमको दाबी छ ।

ट्वीनअटर जहाज किन्ने योजना, लागत कति ?

निगमका अर्का एक उच्च अधिकारीका अनुसार यसपटक निगमले लामो समयदेखि चलाइरहेको मोडल ट्वीनअटर जहाज नै थप गरिनेछ । ‘यो जहाजमा हाम्रो पाँच दशक भन्दा लामो अनुभव छ,’ उनी भन्छन्, ‘हाम्रा जनशक्ति, इन्जिनियर, पाइलट सबै यसमै भएका कारण जहाज किनेको भोलिपल्टबाटै उडाउन सम्भव पनि छ ।’ अब ब्राण्ड परिवर्तन गर्दा चिनियाँ जहाजकै हालत हुने जोखिमका कारण ट्वीनअटर जहाजमै जाने योजना बनाइएको निगम स्रोतले जनाएको छ ।

निगमले नयाँ किन्ने योजना बनाएको ट्वीनअटर जहाजको बजार मूल्य अहिले १ अर्ब रुपैयाँ हाराहारी पर्न आउँछ । यो रकम बराबरको स्रोत निगमले आफ्नै स्रोतबाट जोहो गर्ने र संस्थालाई थप भार नपर्ने दाबी गरिएको छ ।

अहिले निगमसँग आन्तरिक उडानमा एउटा मात्र जहाज उडानयोग्य अवस्थामा छ । निगमले आर्थिक वर्ष २०७८÷७९ सम्म विभिन्न शिर्षकमा उठाउनुपर्ने रकम नै २ अर्ब १९ करोड रुपैयाँ भन्दा माथि छ । यो रकम उठाउन सक्दा मात्र समेत आन्तरिक उडानमा जहाज खरीद गर्न रकम पुग्ने देखिएको छ ।

निगमले प्रभावकारी रुपमा बजार हस्तक्षेप गर्न नसक्दा आन्तरिक उडानमा निजी वायुसेवा कम्पनीहरुको मनोमानी देखिएको छ । सोहीकारण यस पटक दशैंमा चर्को भाडादरको विषय बहसमा आएको छ ।

२०२८ सालमा भित्राइएको थियो पहिलो पटक ट्वीनअटर

निगमले पहिलो पटक २०२८ सालमा ट्वीनअटर जहाज भित्राएको हो । त्यसयता निगमले ३९ वटा भन्दा बढी आन्तरिक गन्तव्यमा यसै जहाजबाट आफ्नो बलियो उपस्थिति जनाएको थियो ।

कुनै समय दक्षिण एसियाकै उत्कृष्ट वायुसेवा कम्पनी बहुदल आएयता भने राजनीतिक भर्तिकेन्द्र र स्वार्थ केन्द्रहरुको शिकार बन्यो । त्यसयता संस्था निरन्तर खस्किने क्रममा छ ।

चिनियाँ जहाजको नियती नदोहोरिने ग्यारेन्टी के छ ?

निगमले १५ साउन २०७७ यता ५ वटा चिनियाँ जहाज ग्राउण्डेड गरेको छ । थप एक जहाज उड्न नसक्ने गरी ड्यामेज भएको छ ।

यी जहाज चलाउन आवश्यक जनशक्ति नेपालमा नहुनु, महंगो बीमासहितका कारणले निगमले यी जहाज खरीद र अनुदानमा प्राप्त गरेको केही वर्षमै कवाडीमा बेच्नुपर्ने अवस्था आएको छ ।

निगमका एक अधिकारी अब निगमसँग जनशक्ति, अनुभव, उपकरण सबै उपलब्ध रहेकाले ब्राण्डमा जाने योजना छ । त्यसले चिनियाँ जहाजको जस्तै नियती नहोस् भन्नेमा निगम सचेत रहेको उनको दाबी छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?