+
+

निगमका २ जहाज बिग्रिए, २ वटाबाट मात्र अन्तर्राष्ट्रिय उडान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १७:१०

२ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये दुई जहाज प्राविधिक समस्स्याका कारण ग्राउन्डेड भएका छन् । यसबाट सयौं यात्रुको यात्रा प्रभावित बनेको छ । निगमको दर्ता नम्बर ९एन–एएलजेड ए३३० सिरिजको वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

‘हिजो राति दोहा उड्नुपर्ने यो जहाजको उडान रोकिएको छ, रोकिएका यात्रुलाई आज साँझ ७ः ४५ बजेको उडानबाट दोहा लैजाने गरी तयारी गरिरहेका छौं,’ उनले भने, ‘जहाजहरू ग्राउन्डेड हुँदा उडानहरू डिले हुने छन्, सकेसम्म पूर्वनिर्धारित उडान रद्द नगर्ने गरी योजना बनाएका छौं ।’

निगमको एउटा न्यारोबडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । एक महिनाभन्दा लामो समय नेपालमै ग्राउन्डेड  भएको यो जहाज बेलैमा मर्मतको व्यवस्था मिलाउन नसक्दा निगमको एकैसाथ अन्तर्राष्ट्रिय उडानमा दुई जहाज कमी हुन पुगेको हो ।

प्रवक्ता पौडेलका अनुसार रातिबाट ग्राउन्डेड भएको जहाजको मर्मतको काम जारी छ । ‘यसलाई आजै उडानयोग्य बनाउने प्रयास छ,’ उनले भने, ‘त्यसो गर्न सकियो भने पूर्वनिर्धारित उडानहरू प्रभावित हुने छैनन् ।’ निगमसँग अब एउटा वाइडबडी र एउटा न्यारोबडी जहाजमात्र उडानयोग्य अवस्थामा छन् ।

दोहा उडानमा काठमाडौंबाट उड्ने तयारीमा रहेका २ सय ७६ यात्रुलाई राति होटेलमा राख्नुपरेको थियो । उनीहरूलाई आज उडाउने तयारी रहेको प्रवक्ता पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?