+
+

निगमलाई जहाज बेच्न तीन कम्पनी इच्छुक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १९:३८
फाइल तस्वीर

२० मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमलाई जहाज बेच्न तीनवटा कम्पनी इच्छुक देखिएका छन् । भारतको हिन्दुस्तान एरोनोटिक्स लिमिटेड, चेक रिपब्लिकको एयरक्राफ्ट इण्डस्ट्रिज र क्यानडाको डी हेभिल्याण्ड क्यानडाले नियमलाई सानो आकार (सर्ट टेकअफ एन्ड ल्यान्डिङ) जहाज बेच्न इच्छा व्यक्त गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

निगमले गत २२ अक्टोबरमा जहाज किन्न बोलपत्र आह्वान गरेको थियो । त्यसको अन्तिम म्याद ५ डिसेम्बरसम्ममा तीन कम्पनीको बोलपत्र परेको प्रवक्ता पौडेलले बताए ।

नेपाल वायुसेवा निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो ।

निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको जनाएको छ । नेपाल वायु सेवा निगमसँग हाल आन्तरिक उडानमा दुई थान ट्वीनअटर जहाज छन् । तीमध्ये नियमित रुपमा एउटा मात्रै उड्ने गरेको छ ।

नयाँ जहाज किनेपछि यात्रुले सेवा पाउने, पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले भाडा दरमा सन्तुलन कायम हुने र सेवा प्रभावकारी हुने विश्वास निगमले लिएको छ ।

निगमले उडान थालेका सुकेटार, इलाम, गुल्मी, डोल्पा, मनाङ, जुम्लाजस्ता बढ्दो मागका बाबजुद जहाज अभावले नियमित उडान हुन सकेको छैन । ऋणात्मक प्रगतिलाई रोक्न र बजार उपस्थिति बढाउन जहाज थप गर्नु परेको निगमको दाबी छ ।

प्रतिस्पर्धामा रहेका हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले डोर्नियर जहाज बनाउँछ । त्यस्तै चेक रिपब्लिकको एयरक्राफ्ट इण्डस्ट्रिजले लेट एल द्४१० जहाज बनाउँछ भने क्यानडाको डी हेभिल्याण्ड क्यानडा ट्वीनअटर निर्माता हो ।

ट्वनअटर खरिद गर्ने निगमको योजना

निगमका एक उच्च अधिकारीका अनुसार यसपटक निगमले लामो समयदेखि चलाइरहेको मोडल ट्वीनअटर जहाज नै थप गरिनेछ । ट्वीनअटर निर्माता डी हेभील्यान्ड क्यानडा पनि अहिलेको प्रतिस्पर्धामा छ ।

‘यो जहाजमा हाम्रो पाँच दशकभन्दा लामो अनुभव छ,’ उनी भन्छन्, ‘हाम्रा जनशक्ति, इन्जिनियर, पाइलट सबै यसमै भएका कारण जहाज किनेको भोलिपल्टबाटै उडाउन सम्भव पनि छ ।’ अब ब्राण्ड परिवर्तन गर्दा चिनियाँ जहाजकै हालत हुने जोखिमका कारण ट्वीनअटर जहाजमै जाने योजना बनाइएको निगम स्रोतले जनाएको छ ।

निगमले नयाँ किन्ने योजना बनाएको ट्वीनअटर जहाजको बजार मूल्य अहिले एक अर्ब रुपैयाँ हाराहारी पर्न आउँछ । यो रकम बराबरको स्रोत निगमले आफ्नै स्रोतबाट जोहो गर्ने र संस्थालाई थप भार नपर्ने दाबी गरिएको छ ।

निगमले पहिलो पटक २०२८ सालमा ट्वीनअटर जहाज भित्र्याएको हो । त्यसयता निगमले ३९ वटा भन्दा बढी आन्तरिक गन्तव्यमा यसै जहाजबाट आफ्नो बलियो उपस्थिति जनाएको थियो ।

निगमले आर्थिक वर्ष २०७८-७९ सम्म विभिन्न शीर्षकमा उठाउनुपर्ने रकम नै २ अर्ब १९ करोड रुपैयाँ भन्दा माथि छ । यो रकम उठाउन सक्दा मात्र समेत आन्तरिक उडानमा जहाज खरिद गर्न रकम पुग्ने निगम स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?