+
+
Shares

निगम अध्यक्ष अधिकारीको चलखेल, विदेश सरुवा गर्न नपाएपछि पाँच कर्मचारीको बढुवा

सामान्यतया माथिल्लो तहको पद खाली रहँदा पनि तल्लो तहका कर्मचारी सो पदमा बढुवाका लागि योग्यता नपुगेको अवस्थामा निमित्त दिने चलन छ। आठौं तहमा तीन वर्ष काम नगरेका कर्मचारी माथिल्लो तहमा बढुवा हुन नपाउने स्रोतले बतायो। तर, निगम अध्यक्ष अधिकारीले उनीहरूलाई निमित्त दिएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले पाँच जना आठौं तहका कर्मचारीलाई नवौं तहको निमित्त उपनिर्देशकमा बढुवा गरी आर्थिक भार थपेका छन्।
  • अध्यक्ष अधिकारीले विदेशस्थित कार्यालयमा १३ जना कर्मचारी सरुवा गर्ने तयारी गरेका थिए, तर मन्त्रालयको निर्देशनमा त्यो रोकिएको थियो।
  • अध्यक्ष अधिकारीले कानूनविपरीत अन्तर्वार्ता लिएर ४५ जना करार कर्मचारी भर्ती गरेका छन् र २ सयभन्दा बढी कार्यकर्तालाई दैनिक ज्यालादारीमा नियुक्त गरेको स्रोतले बताएको छ।

९ असोज, काठमाडौं । अवकाश जानु एक महिनाअघि नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले पाँच जना कर्मचारीलाई माथिल्लो पदमा ‘निमित्त’ दिएर संस्थालाई अनावश्यक आर्थिक भार थपेका छन्।

विदेशस्थित विभिन्न कार्यालयमा १३ जना कर्मचारी सरुवा गर्न लागेका उनलाई त्यो काम गर्न मन्त्रालयले रोकेपछि आठौं तहका पाँचजना कर्मचारीलाई नवौं तहमा ‘निमित्त’ दिएका हुन्। आठौं तहका पाँचजना प्रबन्धकहरूलाई नवौं तहको ‘निमित्त उपनिर्देशक’मा बढुवाको चिठी शुक्रबार दिइएको निगम स्रोतले अनलाइनखबरलाई बतायो।

उनले आफूनिकट कर्मचारीहरू नवराज उपाध्याय, गिता चन्द, ज्ञान अर्याल, होम पराजुली र प्रेम उप्रेतीलाई निमित्त उपनिर्देशकमा बढुवा गरेका हुन्।

एक जना कर्मचारीलाई उपनिर्देशकमा बढुवा गर्दा तलब तथा सुविधा गरेर ५० देखि ६० हजार रुपैयाँ मासिक भार थपिने निगम स्रोत बताउँछ। ‘उपनिर्देशकलाई गाडी, ड्राइभरदेखि विदेश यात्रामा बिजनेस क्लासको टिकटसम्म दिनुपर्छ। त्यसो हुँदा यसले निगमलाई अनावश्यक भार थपिन्छ,’ उनले भने।

सामान्यतया माथिल्लो तहको पद खाली रहँदा पनि तल्लो तहका कर्मचारी सो पदमा बढुवाका लागि योग्यता नपुगेको अवस्थामा निमित्त दिने चलन छ। आठौं तहमा तीन वर्ष काम नगरेका कर्मचारी माथिल्लो तहमा बढुवा हुन नपाउने स्रोतले बतायो। तर, निगम अध्यक्ष अधिकारीले उनीहरूलाई निमित्त दिएका हुन्।

‘निगममा यति धेरै डेपुटी डाइरेक्टर नै चाहिँदैन। यस्ता धेरै पद खारेज गर्ने भनेर ओएन्डएम पनि भएको छ, प्रतिवेदन आए पनि पारित भएको छैन,’ स्रोतले भन्यो, ‘त्यही मौकामा अधिकारीले जाने बेला आफू निकटका कर्मचारीलाई बढुवा गरी आर्थिक भार थपेका छन्।’

अर्कातिर, निगमको कर्मचारी विनियमावली मन्त्रिपरिषद्ले स्वीकृत नै नगरेको भन्दै अदालतमा मुद्दा समेत परेको छ।

यसअघि निगम अध्यक्ष अधिकारीले विदेशस्थित कार्यालयमा १३ जना कर्मचारी सरुवा गर्ने अन्तिम तयारी गरेकोमा अर्थ मन्त्रालयको निर्देशनमा पर्यटन मन्त्रालयले त्यो रोकिदिएको थियो।

निगमका विभिन्न अन्तर्राष्ट्रिय कार्यालयमा कन्ट्री म्यानेजर तथा एकाउन्ट म्यानेजरलगायत पदमा सरुवाका लागि अधिकारीले इन्टरभ्युसमेत लिइसकेका थिए। विदेशमा राम्रो कमाइ हुने भएकाले ती स्टेसनमा सरुवा हुन चाहनेहरूसँग आर्थिक लाभ लिएर मात्रै अधिकारीले सरुवा गर्ने गरेका थिए। ‘यसरी देशबाहिरका विभिन्न स्टेसनमा पोस्टिङ लिन चाहनेहरूसँग आर्थिक लाभ लिने र भनेको ठाउँमा सरुवा गरिदिने संस्कृति नै अध्यक्षले बनाएका छन्,’ निगम निकट स्रोतले भन्यो, ‘भारतका स्टेसनमा सरुवा हुनेसँग ५ लाखसम्म र तेस्रो मुलुकमा जानसँग ८ देखि १० लाख रुपैयाँको डिल हुने गरेको छ।’ अवकाशमा जानुअघि त्यो आर्थिक स्रोत बन्द भए पछि उनले केही कर्मचारीलाई नवौं तहमा बढुवा गरिदिएका हुन्।

त्यसअघि आफ्नो  कार्यकाल सकिन लाग्दा अधिकारीले कानूनविपरीत अन्तर्वार्ता मात्रै लिएर करारमा ४५ जना कर्मचारी भर्ती गरेका थिए। तेस्रो, चौथो र पाँचौं तहमा गरेर उनले ४५ जनालाई छनोट गरेका थिए।

लोक सेवा आयोगको संगठित संस्थाका कर्मचारीको सेवाका शर्त सम्बन्धी कानून, बढुवा र विभागीय कारबाही सम्बन्धी व्यवस्था सामान्यतया संगठित संस्थाले अस्थायी वा करारमा नियुक्ति गर्न पाइँदैन। तर, संगठनलाई आवश्यक पर्ने कार्यालय सहयोगी र श्रेणीविहीन पदहरूमा कर्मचारी नियुक्ति गर्नु परेमा मात्रै करार वा दैनिक ज्यालादारीमा राख्न पाइने व्यवस्था छ। त्यसरी अस्थायी वा करारमा कर्मचारी नियुक्ति गर्न गर्दा प्रतिस्पर्धाका आधारमा गर्नु पर्ने व्यवस्था समेत छ।

तर, कार्यकारी अध्यक्ष अधिकारीले कानूनविपरीत तेस्रो, चौथो र पाँचौं तहमा अत्यधिक मात्रामा कर्मचारी भर्ना गरेका हुन्। आफ्नो चार वर्षे कार्यकालमा विभिन्न पार्टीका २ सयभन्दा बढी कार्यकर्तालाई अधिकारीले दैनिक ज्यालादारी तथा करारमा नियुक्त गरेको स्रोत बताउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?