+
+

गाजापट्टी र वेस्ट बैंकमा इजरायली सेनाको तीव्र आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ६ गते १७:१९

६ कात्तिक, काठमाडौं । इजरायलले हमास समूहको नियन्त्रण रहेको गाजापट्टीसँगै प्यालेस्टाइन लिब्रेसन अर्गनाइजेसन (पीएलओ) को नियन्त्रण रहेको वेस्ट बैंकमा समेत आक्रमणलाई तीव्र बनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सुरक्षा संयन्त्र आईडीएफले गत ७ अक्टोबरको आक्रमणमा हमासले बन्धक र बेपत्ता बनाएका आफ्ना र विदेशी नागरिकको खोजी गर्ने भन्दै आइतबारदेखि गाजा र वेस्ट बैंक दुवै क्षेत्रमा आक्रमण बढाएको हो ।

इजरायलले आक्रमण बढाएपछि १२३ जना प्यालेस्टाइनीलाई नजरबन्द बनाएको जनाइएको छ । समाचार एजेन्सी वाफाका अनुसार गाजापट्टीका ४० जना कामदारसहित कम्तीमा १२३ प्यालेस्टाइनीलाई इजरायली सेनाले आइतबार रातभरदेखि बिहानसम्म छापा मारेर पक्राउ गरेको छ ।

इजरायलले ती छापामा ३७ ‘हमास सदस्यहरू’ पक्राउ परेको बताएको छ ।

इजरायलले गाजापट्टीको बारको पश्चिम क्षेत्रमा रहेका आतंककारी र हतियारलाई उत्त क्षेत्रबाट खाली गर्न र बन्धकहरूलाई खोज्न आˆनो सेनाले प्रयास गरेको दावी गरेको छ ।

हमासले मिसाइल प्रहार गरेर आफ्ना एक जना सिपाहीको मृत्यु र तीन जना घाइते भएपछि उक्त छापा मार्नु परेको तर्क इजरायलको छ ।

हमासले दक्षिणी गाजाको खान युनिसको पूर्वी भागमा इजरायली सैनिक प्रवेश गरेको जनाएको छ । त्यसभन्दा पहिले इजरायली सेनाले प्यालेस्टिनीहरूलाई आफ्नो सुरक्षाको लागि उक्त क्षेत्र छाड्न भनेर केही मिनेटको समय दिएको जनाइएको छ ।

इजरायली सुरक्षा संयन्त्र आइडीएफका प्रवक्ता ड्यानियल हगारीले इजरायलले गाजामा थप आक्रमण गरेको स्वीकार गरेका छन् ।

‘रातको समयमा ट्याङ्क र स्थल सेनाले छापा मारेको थियो । यी छापाहरू युद्धको अर्को चरणको लागि तयारी गरिरहेका आतंककारीहरूको टोलीलाई मार्ने उदेश्यले गरिएका थिए’, हगारीले भनेका छन्, ‘यसबाट हामी आतंकवादीहरूको नजिकसम्म पुग्ने छौं । हाम्रो उद्देश्य बेपत्ता र बन्धक बनाइएका हरूको गुप्तचरी सूचनाको आधारमा फेला पार्नु पनि हो ।’

गाजा पट्टीमा सहायता दिन अस्वीकार गर्नु ‘युद्ध अपराध’ : हृयुमन राइट्स वाच

अन्तर्राष्ट्रि मानवअधिकारवादी संस्था हृयुमन राइट्स वाचले इजरायलले घेरामा परेको गाजा पट्टीमा सहायता दिन अस्वीकार गर्नु ‘युद्ध अपराध’ भएको बताएको छ ।

हृयूमन राइट्स वाचका कार्यक्रम निर्देशक सारी बाशीले विगत दुई हप्तामा नागरिकहरूलाई लक्षित गरेर हमला गर्नु र युद्धको कानून अन्तर्गत रहेर नागरिकहरूको सुरक्षा गर्ने आधारभूत नियमहरू उल्लङ्घन गर्नु दुखद कुरा भएको बताइन् ।

‘हामास लडाकुहरूले इजरायली नागरिकहरूविरुद्ध युद्ध अपराध गरेको तथ्यले इजरायली अधिकारीहरूलाई प्यालेस्टिनी नागरिकहरूविरुद्ध युद्ध अपराध गरेको औचित्य पुष्टि हुँदैन । जो हामी अहिले देखिरहेका छौं’, बाशीले भनेकी छन् ।

अनले अगाडि भनिन्, ‘गाजामा सहायता अनुमति दिन अस्वीकार गर्नु युद्ध अपराध हो । यसले लडाकुहरूका कारण नागरिकलाई सामूहिक रूपमा दण्डित गरिरहेको छ । र गाजाका झन्डै आधा मानिसहरू बालबालिका भएकाले यसले वयस्क लडाकुहरूका कारण बालबालिकाहरूलाई सामूहिक रूपमा दण्डित गरिरहेको छ ।’

इजरायली सेनाले भने लेबनानबाट आएको ‘शङ्कास्पद सामग्री’ लाई रोकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?