+
+

इजरायल घटनाले चुँडियो मन, बदलियो विदेश सपना

इजरायल घटनापछि आफ्नो मन चुँडिएको भन्दै उनले अब विदेशिने सपनालाई सपनामै सीमित गरेको बताए । ‘अब स्वदेशमै खेतीपाती गर्नेछु । रामपुरमा सिकेको ज्ञानलाई गाउँघरमै व्यावहारिकतामा उतार्दै स्वदेशमै श्रम बगाउँछु । गाउँमै बसेर आर्थिक उपार्जनको बाटो खोज्नेछु’, उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १७:२३

२६ कात्तिक, काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पनि ‘पढ्दै सिक्दै कार्यक्रम’अन्तर्गत इजरायल जाने योजनामा थिए ।

पढाइसँगै राम्रो आम्दानी हुने आशमा इजरायलको सपना देख्दै आएका मेहता हमासको आक्रमणपश्चात भने हच्किएका छन् ।

‘पढ्दै सिक्दै कार्यक्रम’अन्तर्गत इजरायल पुगेका अग्रजसहितका साथी गुमाउनु पर्दा अमनको मन मात्रै चुँडिएको छैन, वर्षौंदेखिको उनको सपना समेत तुहिएको छ ।

पढ्दापढ्दै इजरायल गएका साथीहरु हमासको आक्रमणमा परी मृत्यु भएको घटनापश्चात भने अमनले सोच बदलेका छन् । पुरानो सपना त्यागेका छन्, नयाँ सपना देखेका छन् । विदेश नजाने निधोमा पुगेका छन् ।

इजरायल घटनापछि आफ्नो मन चुँडिएको भन्दै उनले अब विदेशिने सपनालाई सपनामै सीमित गरेको बताए । ‘अब स्वदेशमै खेतीपाती गर्नेछु । रामपुरमा सिकेको ज्ञानलाई गाउँघरमै व्यावहारिकतामा उतार्दै स्वदेशमै श्रम बगाउँछु । गाउँमै बसेर आर्थिक उपार्जनको बाटो खोज्नेछु’, उनले भने ।

हुनतः हरिनगर ३ गौतमपुर घर भएका अमन मेहताले कृषि विज्ञान अध्ययन थाल्दै गर्दा खेतीबाली लगाउन थालिसकेका थिए । त्यसबेला अनुसन्धान तथा सिकाइका रुपमा अघि बढाएको उक्त कार्यलाई अब भने उनी व्यावसायिक खेतीका रुपमा अंगाल्ने अठोटसाथ अघि बढेका छन् ।

गाउँमै खोलेको एलिसा कृषि फर्मलाई दीर्घकालीन रुपमा अघि बढाउने सोचमा उनी पुगेका छन् । घरमै खोलिएको कृषि फर्मलाई अमनका बुबा रामेश्वर मेहतासहित सिङ्गो परिवारले साथ दिएको छ ।
पछिल्लो घटनाक्रम पश्चात त अझ छोरो घरमै बसोस् र गाउँघरमै काम गरेर कमाओस् भन्नेमा पुगेको छ, अमनको परिवार ।

अमनले कृषि फर्ममा यतिबेला सयपत्री फूल फुलाएका छन् । ड्रागन फल फलाएका छन् । ५ कट्ठा क्षेत्रफलमा ड्रागन फलसहित सयपत्री लगाएका अमन यही कृषि पेशालाई अघि बढाउने तयारीमा पुगेका छन् ।

आफू अध्ययनकै क्रममा रहेको र विदेशिने सोचमा रहँदा थोरै जग्गामा गरेको खेतीलाई अब भने विस्तार गर्ने सोचमा रहेको अमनले बताए ।

उनले विदेशिने सोच बदेलेर स्वदेशमै काम गरी कमाउने उद्देश्यसाथ लागिपर्ने आफ्नो योजना रहेको बताए ।

स्वदेशमै रोजगारी गर्ने वातावरण सरकारले मिलाउन नसकेकोप्रति चिन्तित युवा किसान अमनले कृषि नीतिमा समय सापेक्ष परिवर्तनको खाँचो रहेको औंल्याए ।

सरकारले किसानको हकहितमुखी योजना लागू गर्नसके स्वदेशमै खेती किसानी गर्नेलाई राहत मिल्ने र व्यवसायिक रुपमा कृषि क्रान्ति सम्भव हुने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?