+
+

गौतम घोषका तीन सिनेमा, जसले मभित्रको दर्शक बदले

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० कात्तिक ७ गते ८:५५

सानो छँदा मेरो सिकाइ सिनेमा विरोधी थियो । शनिबार नेपाल टिभीबाट आउने हिन्दी सिनेमा हेर्न अघोषित प्रतिबन्ध थियो । पढ्न प्रोत्साहित गर्नुहुने बुवा सिनेमा भने बन्देज गर्नुहुन्थ्यो । किन हेर्नु क्षणिक मनोरञ्जन, सस्तो फर्मूला फिल्म ! यस्तै प्रश्न गर्नुहुन्थ्यो । त्यो खासमा प्रश्न होइन, सिनेमाबारे उहाँको निर्णय थियो ।

घरमा टन्नै किताब थिए, टिभी थिएन । कारण, इलामको हाम्रो भेगमा बिजुलीबत्ती थिएन । बालसखा ठाकुरजंग थापा, नरेश राईको घरमा एसिड ब्याट्रीबाट चल्ने टिभीमा हाम्रो रहर पूरा हुन्थ्यो । घरमा आउने नवयुवा लगायत पत्रिकामा आउने सिनेमा रिभ्यु पनि एकदमै आलोचनात्मक कोणबाट लेखिएका हुन्थे ।

मेरो बालसखा जंग थापा आफूले हेर्ने गरेका सबै सिनेमाको नाम र मुख्य कलाकारको नाम टिपेर राख्थ्यो । सायद उसलाई सिनेमामा सबैभन्दा महत्वपूर्ण व्यक्ति भनेको निर्देशक हुन्छ भन्ने हेक्का भइसकेको थिएन । सिनेमाको पटकथादेखि गीतसम्म चाहिं सबै याद हुन्थ्यो । अर्को साथी पृथराज थेगिम सिनेमा हेर्दा हेर्दा सिनेमा जसरी नै सोच्ने भइसकेको थियो । हामीले स्कुल पढ्दा बेला लेखेका र मञ्चन गरेका नाटकहरूमा सिनेमाकै प्रभाव छ्याप्छ्याप्ती हुने गथ्र्यो ।

अहिले सम्झँदा लाग्छ, साथीहरूको बीचमा हुँदा समेत मभित्र सिनेमा पसिसकेको थिएन । तैपनि सिनेमाको प्रभाव त बाक्लै थियो ।

सिनेमा एकदमै आवश्यक कुरा हो भन्ने थाहा पाउन मैले मास्टर्स पढ्ने उमेरसम्म पर्खिनुपर्‍यो । त्यसअघि हिन्दुस्तानीदेखि राजा हिन्दुस्तानीसम्म, जिगरदेखि बाजिगरसम्म, टाइटानिकदेखि तेरेनामसम्म जेसुकै हेरे पनि समग्र सिनेमा प्रति पिता–प्रतिविम्बित पूर्वाग्रह नै ज्यादा थियो । उसो त पाँचथर सप्तमी रवितिर हाइभिजन हलदेखि फिदिमको छाब्दी बाराही सिनेमा हलसम्म गएर सिनेमा नहेरिएको होइन । अनि त्यस क्षेत्रका सांसद पद्मसुन्दर लावती कृषिमन्त्री भएका बेला बजारमा कृषि सम्बन्धी फिल्म र डकुमेन्ट्रीहरू देखाउने चलन थियो, जसलाई पर्दामा हेर्न पाएकैमा मख्ख हुन्थ्यौं । मगर बाहुल्य सप्तमी बजारमा सन्जोग लाफाले बनाएको मगर भाषाको सिनेमा लङ्घनदेखि रवि बजारका सूर्योदय भिडियो हलसम्म पुगेर गौरी मल्लका फाइटवाले सिनेमा जति हेरे पनि आफूभित्र सचेत दर्शकको निर्माण भइसकेको थिएन । हेर्‍यो, हेर्‍यो, सक्कियो ।

यो सिनेमा हेर्ने दर्शकको कथामा पनि सानोतिनो ट्वीस्ट छ ।

मास्टर्स पढ्न काठमाडौं आएपछि हेरिएका सिनेमाको छाप त्यति नै छ, जति बाल्यकालमा पढिएका किताबहरूको छ । अनि सिनेमा संसार र स्वयंलाई चियाउने शक्तिशाली झ्याल हो भन्ने बुझ्ने क्षमता दिलाउन थुप्रै संगतहरूको योगदान छ ।

त्यसै क्रममा हामीलाई कुमारी हलमा लगेर जानुभयो प्राध्यापक अरुण गुप्तोले ।

सन् २०१०–११ ताका म पोखरा विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभाग आयसरमा पढ्थें । त्यसबेला काठमाडौंको बानेश्वर हाइटमा रहेको आयसर ९क्ष्ब्ऋभ्च्० पढ्दाताका हाम्रा गुरु प्राध्यापक अरुण गुप्तोले हामीलाई कुमारी हल लगेर जानुभयो । जहाँ अघिल्लो वर्ष भारतको गोवामा आयोजित ४१औं अन्तर्राष्ट्रिय सिनेमामा उत्कृष्ट भएका तीन सिनेमा देखाउने कार्यक्रम रहेछ । तीनै सिनेमा प्रख्यात भारतीय निर्देशक गौतम घोषले निर्देशन गरेका रहेछन् । उनी आफैं काठमाडौं आएका थिए ।

सोही कार्यक्रममा आएकी मनिषा कोइराला जस्ती ख्यातनाम अभिनेत्रीले समेत उच्च सम्मान दिंदै घोषको नाम लिएपछि घोषको महत्ता थाहा हुन गयो । उनी ‘पार’ नामक विख्यात सिनेमाका निर्देशक रहेछन् । हिन्दी, बंगाली, तेलगु सिनेमा बनाउँदा रहेछन् । घोष सन् २०११ मा काठमाडौं आएका बेला उनीसँगै कुमारी हलमा बसेर पार, यात्रा, मोनेर मानुष जस्ता सिनेमा हेरेको याद आउँछ ।

त्यसमध्ये पार सिनेमा, जसले दृश्य माध्यमप्रतिकै धारणा बदल्न सघायो । तीन दर्जन सुँगुर जोगाउन एउटा पछि अर्को नदी पार गर्नुपर्ने बाध्यतामा रहेका दलित पात्रहरू (पात्रको नाम बिर्सें) कलाकार नसिरुद्दीन शाह र शबाना आजमीका पीडित आँखाहरू अहिले पनि सामुन्नेमा आउँछन् । सिनेमा भन्नेबित्तिकै चटक्क जीउडाल मिलेका सुकिला पात्रहरू मात्रै हुनुपर्छ, राम्री हिरोइन अनि सुगठित आँटिलो हिरो हुनुपर्छ भन्ने मान्यता बिर्साउनलाई घोषको सिनेमा पार पर्याप्त थियो । उनले दृश्यमा देखाउनलाई दलितको कथा रोजेका थिए, जहाँ कुनै स्टेरियोटाइप थिएन । बरु थियो, एकदमै स्थानीय दृश्य–चेतना ।

नाना पाटेकर र दीप्ति नवलले खेलेको यात्रा त्यस्तै अर्को शक्तिशाली सिनेमा थियो । बंगाली सिनेमा मोनेर मानुष हेर्दा धेरै कुरा नबुुझिए पनि कला–चेतना भने प्रष्टै थाहा हुन्थ्यो । यी तीन सिनेमा हेरिसक्दा घोषप्रति त सम्मान बढ्यो नै, यस्ता अरू सिनेमाहरू के कस्ता होलान् भनी खोज्ने उत्सुकता पनि बढ्दै गयो ।

त्यस क्रममा नागरिक दैनिकमा संलग्न भएसँगै अभय श्रेष्ठसँग सुरुवाती सिनेसंगत भयो । उनले सिनेमाका डीभीडी बेच्ने नयाँसडकका भट्टराईसँग चिनाए । मैले उनको नाम कहिल्यै सोधिनँ, तर भट्टराई भन्नु काफी थियो । हिजोआज कहाँ छन् कुन्नि ! उनैले सुझाउँथे अच्छा खासा सिनेमा ।

विस्तारै युग पाठक, अनुप सुवेदी, अनुप बराल हुँदै कुमार नगरकोटीसम्म संगत हुँदा एकैपल्ट प्रशस्तै सिनेमा हेर्न पुगियो । म त्यो बेला रेज द रेड ल्यान्टर्न बनाउने झाङ यिमुदेखि बाइसाइकल थिभ्स बनाउने भिटेरिया डे सिकासम्म, टेस्ट अफ् चेरी र क्लोज अप जस्ता सिनेमा बनाउने अब्बास किरुस्तामीदेखि बाबेल, अमेरोस पेरोस बनाउने अलेहान्द्रो गोन्जालेज इनारितुसम्म थाहा पाउने भइसकेको थिएँ । किम कि दुक, वोङ कार वईका सिनेमाको नामसूची यहाँ भन्नै परेन, किनभने म यी सबै डाइरेक्टर जान्न सक्ने भइसकेको थिएँ । गोविन्द निहलानीदेखि सत्यजित रायसम्म हेरेर दुई चार गफ गर्न सक्ने हुँदासम्म मेरो भेट नवीन सुब्बा, यज्ञश, बुद्धिसागरसम्म भइसकेको थियो । मजिद मजिदी र अनुराग कश्यप भन्नु भनेको प्राथमिक सिनेमा ज्ञानकै उद्घाटन हुनु जस्तो भइसकेको थियो । वुडी एलेनका सबै सिनेमा हेरिसकेको छु भन्नुमा बेग्लै मज्जा थियो, जबकि वेस एन्डर्सन र गेभिन हुडसम्म, दिवाकर बनर्जीदेखि विशाल भारद्वाजसम्म हेर्दा बुवाले भन्नुभएका फर्मूला सिनेमाहरूको छायाछवि मेटिंदो क्रममा थियो । क्लासिक्सदेखि नियो नोइरसम्म आइपुग्दा सिनेमा हेर्ने रुचि नै रुचिपूर्ण बनिसकेको थियो ।

सिनेमा जत्तिकै मज्जा डकुमेन्ट्रीहरू हेर्नुमा थियो, जसका बारेमा म आज चर्चा गर्दिनँ ।

म यो सबै फेहरिस्त यहाँ किन पेश गर्दैछु भने म यसबीचमा सिनेमाको क्रेजी दर्शकबाट पात्र, दृश्य, प्रकाश, कथानक, मौन अनेक चीजलाई विश्लेषण गर्न सक्ने क्षमता सिक्न कोसिस गर्ने मनुवामा बदलिन खोज्दैथिएँ । सिनेमाका बारेमा सतही सूचना राख्ने मित्रहरूदेखि गम्भीर छ्यानविचार गर्न सक्ने समीक्षकबारे छुट्याउन सक्ने भइसकेको थिएँ । सूचनाको अनिकालमा म आफैं पसेर यस्ता दुई–चार कुरा राख्ने भइसकेको थिएँ ।

वि.सं. २०६० को दशकअन्तिमदेखि ७० को बीचसम्म आइपुग्दासम्म सयौं सिनेमा हेरिए, दोहोर्‍याइए । आज सम्झँदा लाग्छ ः ती सिनेमाले मलाई जीवन, समाज र सिंगो अस्तित्वका बारेमा मात्रै सोच्न सिकाएनन्, स्वयं सिनेमा प्रतिको पूर्वाग्रह हटाउन समेत भूमिका खेले । प्रत्येक सिनेमामा गौतम घोष जस्तै गुरुगम्भीर निर्देशक थिए । कलाकारहरूका काम हेर्दै जाँदा हाम्रो नेपाली सिनेमा वास्तवमा कुन प्रकारको कमजोरी बोकेर अघि बढ्दैछ भन्ने थाहा पाउन पनि सजिलो भयो ।

पत्रकारिता र सिर्जनात्मक लेखनका चरम व्यस्त दिनहरूबीच मैले थोरै मात्र बचेको समय पनि ल्यापटपमा दिन थालें । गोकर्ण गौतमदेखि दिपेन्द्र लामासम्मका, समुद्र घिमिरेदेखि सुरज सुवेदीसम्मका लेखहरू पढेर आफ्नो दृष्टिकोण माझ्ने कोसिस गरें । (गोकर्णको दुई वर्षअघि दुःखद निधन भइसकेको छ) स्मार्टफोन पनि आइसकेपछि त्यसमा सिनेमा हेर्ने क्रम सुरु भयो । कतिपय सिनेमा बाबा अनिल चेले उनको ल्यापटपबाट डाउनलोड गरिदिन्थे ।

युट्युबदेखि टोरेन्टको भूमिगत अन्तर्जालसम्मको वैध, अवैध यात्राबीच आगमन भयो नेटफ्लिक्सको, जसले सिनेमाको अर्को संसारमा पुर्‍यायो । वेब सिरिजहरू थपिन थाले । नार्कोसमा पाब्लो इस्कोबारको भूमिका निभाएको देखेर वाग्नर मोउराप्रति बढेको मेरो चाख आजीवन रहनेछ । सिरिज हेर्दाखेरि एक किसिमले भन्ने हो भने किताब पढेकै बराबरको सन्तुष्टि समेत मिल्न थाल्यो । सिरिजका आफ्नै सीमा पनि हुँदा रहेछन्, जसमा व्यापारिक चाहनाले समेत काम गरेको हुँदोरहेछ भन्ने बुझ्न धेरै समय लागेन ।

यसै क्रममा कोभिड–१९ को विश्वव्याधि आयो । लकडाउनका बेला मैले असाध्यै सिनेमा हेरें । मैले हेरेका सबैजसो सिनेमाबारे मैले डायरी लेखेको छु । मैले दोहोर्‍याएका, तेहर्‍याएका सिनेमा पनि छन् । मैले किताबहरूलाई जत्तिकै सिनेमाहरूलाई पनि आदर गर्न सिकें । मैले पात्रहरूलाई कागजमा मात्रै होइन, दृश्यमा पनि सोच्न सिकें ।

इन द सिटी अफ् सिल्भियादेखि सेक्रेट लाइफ अफ वाल्टर मिट्टीसम्म पुग्दा यस्तैमा कुनै एक दिन मैले आफ्नो उपन्यासको काम अघि बढाएको थिएँ । सोचाइको भावभूमि अनि कल्पनाको कुनामा कतै बसिराखेको भए पनि लिखित रूप नपाएको किताब पछि गएर महाभारा नाममा छापियो । महाभारा लेख्न मानसिक पृष्ठभूमि तयार हुनुका पछाडि कतै न कतै सिनेमाहरूको पनि योगदान छ । किताब पढ्ने व्यसन मात्रै यसमा कारक छैन ।

एउटा बेला थियो, जति बेला म किताबहरूमा आधारित सिनेमा हेर्थें । सञ्जय थापाले लेखेको देउमाईको किनारमा देखि मारियो पुजोले लेखेको गडफादरसम्म आइपुग्दा किताबलाई हेर्ने सिनेमाको आँखा, अनि सिनेमालाई बुझ्ने किताबका लेखकका बीचमा कहीं न कहीं अन्तर छ भन्ने थाहा पाउन करै लाग्यो । यद्यपि आई हर्ड यु पेन्ट हाउसेज् किताबमा आइरिसम्यान जस्तो सिनेमा, अनि चे गुएभाराको मोटरसाइकल डायरिज पुस्तक, मो यानको नोबल विजेता उपन्यास रेड सोर्गममा झाङ यिमुले बनाएको सोही नामको सिनेमा देख्दा फेरि यसलाई खण्डित गर्न मन लाग्छ । इट प्रे लभदेखि अमेरिकन प्रमेथियस पुस्तकमा आधारित ओपनहाइमर हेर्दासम्म वास्तविक किताबका लेखकको महत्व कत्ति पनि कम लाग्दैन ।

गोविन्दबहादुर मल्ल गोठालेको कथामा दीपा बस्नेतले बनाएको सर्ट फिल्म ‘भाँडो’ होस् या पारिजातको साल्गीको बलात्कृत आँशुमा बद्री अधिकारीले बनाएको सिनेमा ‘साल्गी’ : प्रत्येक सिनेमाभित्र जीवन्त किताब छ । तर माथि आफैंले गरेको तर्कभन्दा अघि बढेर म भन्छु  : कुनै सिनेमा हेर्दा उधुमै मन पर्‍यो भने कस्तो किताब पढे जस्तो भन्नु किताब र सिनेमा दुवैको अवमूल्यन जस्तो लाग्छ । कुनै पनि विधा अधिमूल्यन र अवमूल्यनको हकदार छैन ।

हाम्रो सिनेमामा नवीन सुब्बा, दीपक रौनियार, मीन भाम, अविनाशविक्रम शाह, केसाङ छेतेन, छिरिङ रितार, उपेन्द्र सुब्बा, रामबाबु गुरुङहरू आउने क्रम जारी छ । सुजित बिडारी, विनोद पौडेल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, प्रदीप भट्टराई, रवीन्द्र सिंह बानियाँ आदि पनि यहीं छन् । सिनेमाको कला–चेतना यसैगरी अघि बढ्दै जाओस् ।

नेपालमा अर्को गौतम घोष जन्माउन सम्भव छ कि छैन, मैले जान्ने कुरो भएन । मोनेर मानुष, यात्रा, पार जस्ता सिनेमा हाम्रो समाजमा कति होलान् कति, त्यो पनि मैले सबै भन्न नसकुँला । तर नेपालको आफ्नै कुनै उचाइ हुनसक्छ, जसले म जस्तो अनाडी दर्शकलाई सचेत अवलोकनकर्तामा बदलिदिन सक्छ । सायद त्यस्तो सिनेकर्मी जन्मिसकेको छ, या जन्मिन बाँकी समेत हुनसक्छ, जसले गुड विल हन्टिङ, डेड पोयट्स सोसाइटी जस्ता सिनेमाहरू नेपाली मौलिकतामा देखाओस्, अनि मेरो बुवा पुस्तालाई पनि बदलिंदो सिनेमाबारे जागृत गराउन सकोस् । मसाला/फर्मूला फिल्म के हेर्छस् भनेर बुवाले सन्तानहरूलाई स्क्रिन हेर्न निरुत्साहित गर्ने परिस्थिति सिर्जना नहोस् । त्यो विभूषण बस्नेत/पूजा गुरुङ पनि हुनसक्छ । त्यो सेनाङ ग्याम्जो तामाङ, फिडेल देवकोटा वा सहारा शर्मा पनि हुनसक्छ ।

खगेन्द्र लामिछानेले संयोजन तथा प्रभाकर गौतमले सम्पादन गरेको सिनेमा विशेषांकबाट साभार । नेपाल चलचित्र निर्माता संघले यसलाई अघिल्लो साता प्रकाशित गरेको हो ।

 

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?