+
+

इजरायल-हमास युद्धलाई लिएर किन विभाजित छ हलिउड ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १७:३६

काठमाडौं । वर्षौंदेखि हलिउड प्रगतिशील मूल्यको यस्तो गढ हो, जहाँ उदारवादी डेमोक्रेटिक पार्टीले राम्रो समर्थन पाउँछ । यो एउटा ठाउँ हो जहाँ उदारवादी विचारधाराले महत्व पाउँछ र सेलिब्रिटीले ‘ब्ल्याक लाइभ्स म्याटर’जस्ता कारणलाई समर्थन गर्न यो प्लेटफर्मको प्रयोग गर्दै आइरहेका छन् ।

हलिउडको यो वैचारिक प्रतिबद्धता अक्टोबर ७ सम्म लगभग अटल जस्तै थियो । जब हमास विद्रोहीले इजरायलमाथि आक्रमण गरे, तब हलिउड विभाजितजस्तो देखियो । रकेट आक्रमणदेखि स्थलगत लडाइँसम्मले गाजा स्ट्रिप ध्वस्त जस्तै छ । यो लडाइमा हजारौं नागरिक हताहत भएका छन् । १० नेपाली विद्यार्थीले समेत यो लडाइँमा ज्यान गुमाए । इजरायलले हमासविरुद्ध औपचारिक रुपमै लडाइँको घोषणा गर्‍यो ।

परिणामस्वरुप इजरायलले गाजा पट्टीमा हवाई आक्रमण सुरु गर्‍यो, जसमा हजारौंको मृत्यु भयो । गाजामा इजरायलले खाद्यान्न, पानी, बिजुली र इन्धनको आपूर्ति बन्द गरेपछि मानवीय संकटको चिन्ता बढेको छ । युद्धलाई लिएर विश्वव्यापी जनमत विभाजितजस्तो देखिन्छ । विभिन्न सहरमा प्यालेस्टाइनको समर्थनमा जुलुस र कतिपय ठाउँमा आतंकवादी आक्रमणको खबर आइरहेका छन् । यो प्रभावबाट हलिउड पनि अछुतो छैन । यो चर्चा गर्दा हामीले हलिउडको विगतलाई पनि अलिकति खोतल्नुपर्छ ।

हलिउडको सुरुदेखि नै यहुदीले मनोरञ्जन उद्योगलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेका छन् । आफ्नो समुदायमाथिको विरोध, दमन र भेदभावबाट शरण खोज्दै २० औं शताब्दीको प्रारम्भमा यहुदी आप्रवासी फिल्म व्यवसायमा सहभागी भए । प्यारामाउन्ट पिक्चर्स, वार्नर ब्रोज, युनिभर्सल पिक्चर्सजस्ता ठूला हलिउड स्टुडियो यहुदी उद्यमीले स्थापना गरेका हुन् । जसलाई हलिउडको आधारशीला पनि मानिन्छ ।

दशकौंदेखि यहुदीले मनोरञ्जन र मिडिया व्यवसायका विभिन्न भूमिकामा प्रमुखता हासिल गरेका छन् । बार्बरा स्ट्रेइसान्ड, किर्क डगलस र नाटाली पोर्टम्यानजस्ता सेलिब्रिटीले अभिनेताको रुपमा अन्तर्राष्ट्रिय प्रशंसा हासिल गरेका छन् । स्टीवन स्पिलबर्ग र मेल ब्रुक्सजस्ता निर्देशकले फिल्ममा अमिट छाप छोडेका छन् । कार्ल लेमले र ल्यू वासरम्यान लगायतका निर्माताले उद्योगको व्यापार परिदृश्यलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेका छन् । फिल्ममा भनिने कथा, अन्वेषण गरिएका विषयवस्तु र मूल्य मान्यतामा पनि यहुदीको प्रभाव स्पष्ट देख्न सकिन्छ ।

हलिउडको वर्तमान विभाजनबारे के कुरा उल्लेखनीय छ भने इजरायल–हमास द्वन्द्वपछि हलिउड मौन छ । सोसल मिडियामा  विश्वव्यापी घटनाका बारेमा प्रायः मुखर सुनिने प्रख्यात सेलिब्रिटी यो घटनालाई लिएर चुप छन् । सामान्यतया विश्वव्यापी सामाजिक-राजनीतिक मुद्दाहरूमा टिप्पणी गर्न हतार गर्ने प्रमुख स्टुडियो पनि मौन छन् । तर उनीहरु सन् २०२२ को रुस-युक्रेन युद्धमा रुसविरुद्ध एकीकृत रुपमा उभिएका थिए । इजरायल-हमास युद्धमा यो प्रवृत्ति विपरीत देखिएको छ ।

सबैभन्दा स्पष्ट विभाजन राइटर्स गिल्ड अफ अमेरिकाभित्र देखा पर्‍यो, जसले हलिउडका पटकथा लेखकको महत्वपूर्ण पक्षलाई प्रतिनिधित्व गर्छ । इजरायलमा भएका आक्रमणहरूको निन्दा नगर्ने उक्त संस्थाको निर्णयले धेरै यहुदी लेखकलाई निराश तुल्यायो । कतिपयले युनियनसँग सम्बन्ध तोड्ने विचार पनि गरे । यस विपरीत डब्लुजीए भनेर चिनिने प्यालेस्टाइन समर्थक एक अज्ञात समर्थक समूहले युनियनको अडानलाई समर्थन गर्‍यो ।

यो विभाजन हलिउडमा मात्र सीमित छैन । बरु फराकिलो रुपमा फैलिएको छ । इजरायल-प्यालेस्टाइन द्वन्द्वले हार्वर्ड र स्ट्यानफोर्ड जस्ता प्रतिष्ठित विश्वविद्यालय, कलेज क्याम्पसका विद्यार्थी र प्रगतिशील कार्यकर्ता समूह र परोपकारी संस्थाका राजनीतिक वृत्तभित्र बहस सिर्जना गरेको छ । यहुदी समुदायभित्रै यतिबेला युद्धविरामको आवाज पनि चर्को रुपमा उठिरहेको देखिन्छ ।

पल रुड र बेन स्टिलर जस्ता प्रसिद्ध अभिनेताले राष्ट्रपति जो बाइडेनलाई पत्र लेख्दै उनको कूटनीतिक प्रयासको लागि कृतज्ञता व्यक्त गरेका छन् । यस विपरीत बेन एफ्लेक र टोनी कुसनर जस्ता प्रतिष्ठित व्यक्तिको अर्को समूहले राष्ट्रपति बिडेनलाई गाजा र इजरायलमा तत्काल युद्धविरामको लागि आह्वान गर्न आग्रह गर्दै छुट्टै पत्र लेखेको छ ।

हलिउडको यो वैचारिक मतभेद सामाजिक सञ्जालका प्लेटफर्ममा पनि फैलिएको छ । क्रिएटिभ आर्टिस्ट एजेन्सीका एजेन्ट महा दाखिलले एक इन्स्टाग्राम पोस्टमा गाजामा इजरायलको हवाई आक्रमणलाई ‘नरसंहार’ भनेर लेखेपछि उनले क्रुद्ध प्रतिक्रियाको सामना गर्नुपरेको छ । अभिनेत्रीहरु नताली पोर्टम्यान र रिज विदरस्पुन जस्ता हाइ–प्रोफाइल स्टारको प्रतिनिधित्व गर्ने एजेन्ट दाखिलले पनि सामाजिक सञ्जालबाट राजीनामा लिएको घोषणा गरे । यो घटनाले उक्त एजेन्सीलाई ठूलै क्षति पुगेको ठानिएको छ ।

मनोरञ्जन उद्योगभित्र विभाजित मतले मात्र हिंसालाई प्रश्रय दिएको छैन । संयुक्त राज्य अमेरिकाभित्र समेत इजरायल–हमास द्वन्द्व सुरु भएपछि भइरहेका अपराध र घृणाका घटनालाई लिएर समेत सेलिब्रिटीको चासो छ । गत वर्षको सोही अवधिको तुलनामा गत तीन हप्तामा सरकारले उत्पीडन, तोडफोड र आक्रमणमा ३८८ प्रतिशतले वृद्धि भएको जनाएको छ ।

हलिउडभित्र उत्पन्न भएको विभाजनले धेरै हदसम्म, इजरायल–प्यालेस्टाइन द्वन्द्वको अन्तर्निहित जटिलतालाई अझै पश्रय दिनसक्ने अनुमान गरिएको छ । यो बहुआयामिक र गहिरो रूपमा जोडिएको द्वन्द्वले सजिलै गर्न सकिने समाधानलाई महत्व दिएको छैन बरु हलिउडको उदारवादी गढभित्र पनि विचारको असमझदारीलाई उत्प्रेरित गरेको छ ।

वियोन न्युजबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?