+
+

लोकसेवा पास गर्नेमा गुल्मी, स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका धेरै

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते २३:५९

१५ कात्तिक, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८०मा लोकसेवा पास गरेर निजामतीमा स्थायी जागिर खानेमा गुल्मीका सबैभन्दा धेरै रहेका छन् । लोकसेवा आयोगका अनुसार गुल्मीपछि स्याङ्जा, सर्लाही, जुम्ला र धनुषाका धेरै छन् ।

आर्थिक वर्ष २०७९/०८० को अवधिमा निजामती सेवातर्फ महिला १ हजार ९९ र पुरुष २ हजार ५ सय ७६ गरी कुल ३ हजार ६ सय ७५ उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएको लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

पछिल्ला समयमा कर्णालीका हुम्ला लगायतका जिल्लामा समेत लोकसेवा आयोगको परीक्षा दिने र पास गरेर निजामती सेवामा प्रवेश गर्ने क्रम चुलिएको छ । गुल्मी र स्याङ्जामा लोकसेवा तयारी गर्ने र पास गर्नेको संख्या अधिक हुँदा निजामतीेमा उनीहरुको नै वर्चस्व छ ।

पछिल्ला समयमा तराईका धनुषा र सर्लाहीजस्ता जिल्लामा समेत लोकसेवा आयोगका परीक्षा पास गर्नेहरु बढ्दै गएको प्रतिवेदनले जनाएको छ । गत आर्थिक वर्षमा सिफारिस हुने उम्मेदवारहरूको औसत उमेर २८ वर्ष रहेको आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईँले जानकारी दिइन् ।

सो अवधिमा सिफारिस भएका कूल २ हजार ६ सय ७५ पदमध्ये आर्थिक वर्ष २०७६/०७७ मा भएका विज्ञापनबाट ६ सय ४, आर्थिक वर्ष २०७७/०७८ मा भएका विज्ञापनका १ हजार ६ सय २३ आर्थिक वर्ष २०७८/०७९ मा भएका विज्ञापनका १ हजार १ सय १२, र आर्थिक वर्ष २०७९/०८० मा भएका विज्ञापनबाट २ सय ५२ गरी जम्मा ३ हजार ६ सय ७५ पद सिफारिस भएका हुन् ।

एक वर्षमा मनाङ र मुस्ताङ जिल्लाका कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन् । मधेश प्रदेशबाट सबैभन्दा बढी ६ सय ०४ र सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा कम ३ सय ९१ उम्मेदवार सिफारिस भएका थिए ।
समावेशी समूहतर्फका विज्ञापनबाट महिलातर्फ १ सय, आदिवासी/जनजातितर्फ ४ सय १, मधेसीतर्फ ३ सय १०, दलिततर्फ १ सय ३, अपाङ्गतर्फ ५८ र पिछडिएको क्षेत्रतर्फ ५८ गरी कुल १ हजार ४ सय ६० उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । पछिल्लो १६ वर्षमा सबै समावेशी समूहबाट गरी कुल २४ हजार १ सय १२ उम्मेदवारहरू स्थायी नियुक्तिका लागि सिफारिस भएको आयोगले जनाएको छ ।

विभिन्न सेवा सञ्चालन गर्ने निकायहरूबाट रिक्त पदपूर्तिका लागि आयोगले गत आर्थिक वर्षमा बढुवातर्फ ९ सय ९०, आन्तरिक प्रतियोगितातर्फ २ सय ०१, खुला प्रतियोगितातर्फ १ हजार ८० तथा महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रका समावेशी समूहतर्फ जम्मा १ हजार ६ गरी कूल ३ हजार ३ सय ५७ पदका लागि १ हजार ६ सय १६ ओटा विज्ञापन तथा वढुवा सूचना प्रकाशन गरी दरखास्त माग गरिएको थियो ।

आन्तरिक तथा खुला प्रतियोगितात्मक विज्ञापनबाट लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणालीमा कूल ४ लाख ८३ हजार २ सय ३ दरखास्त प्राप्त भएका थिए । आर्थिक वर्ष २०७९/८० मा नेपालका ७७ वटै जिल्लाबाट दरखास्त परेका छन् ।

लोकसेवा आयोगका अनुसार सबैभन्दा अधिक दरखास्त पर्ने पाँच जिल्लाहरु क्रमशः सर्लाही, बारा, रौतहट, महोत्तरी र धनुषा रहेका छन् । ती पाँच जिल्लाबाट कुल ८१ हजार ४ सय ३ अर्थात् १७ प्रतिशत दरखास्त परेको आयोगकी प्रवक्ता हुमागाईँले जानकारी दिइन् ।

मनाङ, मुस्ताङ, रसुवा, म्याग्दी र डोल्पाबाट सबैभन्दा न्यून दरखास्त गरेका थिए । यी जिल्लाबाट कुल ३ हजार ७३ अर्थात ०.६३ प्रतिशत मात्र दरखास्त परेको थियो ।

यो अवधिमा आयोगबाट निजामती सेवातर्फ सञ्चालित विभिन्न लिखित परीक्षाहरुमा ४५ हजार ७ सय १५ महिला र ८४ हजार ७ सय ६ पुरुष गरी कूल १ लाख ३० हजार ४ सय २१ उम्मेदवार सहभागी भएका थिए । परीक्षामा अनियमितता गर्ने १९ महिला र २४ पुरुष गरी जम्मा ४३ जना उम्मेदवार कारबाहीमा पनि परेको प्रवक्ता हुमागाईँले जानकारी दिइन् ।

आर्थिक वर्ष २०७९/०८० को अवधिमा आयोगबाट ४ वटा सुरक्षा निकाय र ४० ओटा संगठित संस्थाका १८ हजार ६ सय १६ पदमा पदपूर्तिका लागि विज्ञापन प्रकाशन गर्ने सहमति प्रदान गरिएको थियो । सहमति प्रदान गरिएका सम्बन्धित संस्थाबाट ६ सय ३ वटा विज्ञापन प्रकाशन गरी २ लाख १० हजार ८३ उम्मेदवारले दरखास्त पेश भएका थिए ।

एक वर्षको अवधिमा सहमति प्रदान गरिएबमोजिम ३० ओटा निकायका विभिन्न विज्ञापनका लागि लिइएका लिखित परीक्षामा सुरक्षा निकायतर्फ ९८ प्रतिशत र संगठित संस्थातर्फ ३९ प्रतिशत उम्मेदवारको उपस्थिति रहेको आयोगले जनाएको छ । आयोगबाट सञ्चालित विभिन्न ३० वटा निकायका लिखित परीक्षाबाट १४ हजार ३ सय ७५ उम्मेदवार छनोट गरी अन्तर्वार्ताका लागि सम्बन्धित निकायको पदपूर्ति समितिमा पठाइएको प्रवक्त हुमागाईँले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?