 
																			२१ फागुन, काठमाडौं । निजामती सेवा प्रवेशका लागि उम्मेदवार बन्न पाउने अधिकतम उमेर सीमा घटाउने प्रस्ताव गरिएको छ ।
सोमबार संघीय संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकमा पुरुषले ३२ वर्ष र महिलाले ३७ वर्ष हुँदासम्म लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने प्रस्ताव गरिएको छ । यसअघि पुरुषहरुले ३५ वर्ष र महिलाहरुले ४० वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउँथे ।
यसअघि ४० वर्षको उमेरमा सेवा प्रवेश गरेका महिलाहरु ५८ वर्ष उमेरमा सेवा निवृत्त हुँदा सेवा अवधि १८ वर्ष मात्र हुन्थ्यो । पेन्सन पाउन सेवा अवधि कम्तिमा २० वर्ष हुनुपर्छ । १८ वर्षमै सेवानिवृत्त हुने कर्मचारीहरुलाई २ वर्ष सेवा थप गरी सरकारले पेन्सन उपलब्ध गराउँथ्यो ।
तर आइतबार संसद सचिवालयमा दर्ता भएको निजामती सेवा विधेयकमा भने महिला र पुरुष दुवै उम्मेदवारको सेवा प्रवेशको अधिकतम उमेर घटाइएको छ ।
विधेयको दफा १८ मा उम्मेदवार हुनका लागि योग्यता सम्बन्धी व्यवस्था छ । राजपत्र अनंकित वा सहायक तहको पदमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने र राजपत्रांकित वा अधिकृत तहको पदमा एक्काइस वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ ।
यसैगरी पुरुष उम्मेदवारको हकमा ३२ वर्ष र महिला उम्मेदवारको हकमा ३७ वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था दफा १८ को ‘ग’ मा उल्लेख छ ।
तर भूतपूर्व सैनिक वा प्रहरी नियुक्ति हुने भनी तोकिएको संघीय निजामती सेवाको पदमा ४० वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्ने व्यवस्था राखिएको छ ।
यसैगरी अधिकृत नवौं तहको पदका लागि हुने खुला प्रतियोगितामा ४० वर्ष ननाघेको व्यक्ति उम्मेदवार हुन सक्ने छन् ।
पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता वा मध्यम अशक्त अपाङ्गता भएको व्यक्ति पनि ३७ वर्षसम्म उम्मेदवार हुन सक्ने छन् ।
संघीय निजामती सेवाका स्थायी कर्मचारी, कर्मचारी समायोजन सम्बन्धी संघीय कानुन बमोजिम सरकारी सेवाबाट प्रदेश निजामती सेवा वा स्थानीय सेवामा समायोजन भएका कर्मचारी वा लोक सेवा आयोग वा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई प्रदेश निजामती सेवा वा स्थानीय सेवामा स्थानीय नियुक्ति भएका कर्मचारीलाई भने उमेरको हद नलाग्ने व्यवस्था छ ।
संघीय संसदमा दर्ता भएको विधेयक अब संसदभित्रै छलफल, संशोधन र परिमार्जन भएर प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपतिबाट अनुमोदन भएपछि लागू हुनेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4