
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभाले संघीय निजामती सेवा विधेयकको दफा ५२ मा सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने व्यवस्था उल्ट्याएर स्वास्थ्य बीमा बोर्डसँग आबद्ध गर्ने व्यवस्था गरेको छ।
- प्रतिनिधिसभाले सामाजिक सुरक्षा कोष वा नागरिक लगानी कोषसँग आबद्ध गरी स्वास्थ्य बीमा योजना लागू गर्ने व्यवस्था गरेको थियो।
- सरकारले ल्याएको विधेयकमा निजामती कर्मचारी र परिवारका सदस्यको औषधि उपचारका लागि सामाजिक सुरक्षा कोषसँग आबद्ध हुने व्यवस्था थियो।
१७ भदौ, काठमाडौं । निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने प्रतिनिधिसभाको निर्णय राष्ट्रिय सभामा उल्टिएको छ ।
मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको संघीय निजामती सेवा विधेयकमा स्वास्थ्य बीमा सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू गर्ने उल्लेख छ ।
सरकारले सुरुमा ल्याएको विधेयकको दफा ५२ मा स्वास्थ्य बीमा योजना लागू गर्ने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘नेपाल सरकारले निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि प्रचलित कानूनबमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू गर्नेछ ।’
यसमा केही संशोधन गर्दै प्रतिनिधिसभाले ‘सामाजिक सुरक्षा कोष’ वा ‘नागरिक लगानी कोष’ भन्ने शब्दहरू थपेको थियो ।
यसअनुसार ऐन बनेको भए निजामती कर्मचारी तथा निजामती कर्मचारीको परिवारका सदस्यको औषधि उपचारको लागि सामाजिक सुरक्षा कोष वा नागरिक लगानी कोषसँग आबद्ध गरी योगदानमा आधारित स्वास्थ्य बीमा योजना लागू हुनेथियो ।
राष्ट्रिय सभाले प्रतिनिधिसभाको निर्णय उल्ट्याएर विधेयकको दफा ५२ मा रहेका ‘प्रचलित कानूनबमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषसँग’ भन्ने शब्दहरूको सट्टा ‘स्वास्थ्य बीमा सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग’ भन्ने शब्दहरू राखेको छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यो विषयका लागि लबिइङ समेत गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र नै पठाएर स्वास्थ्य बीमा सम्बन्धी प्रचलित कानुन बमोजिम स्थापना भएको स्वास्थ्य बीमा बोर्डसँग आबद्ध गर्नुपर्ने बताएको थियो । सोही अनुसार विधायन व्यवस्थापन समितिले निर्णय लिएको हो ।
प्रतिक्रिया 4