+
+
Shares

कर्मचारीको आत्मसम्मानमा कसरी लाग्दैछ ठेस?

कर्मचारीमा नैराश्यता बढ्दै गएको छ । राजीनामा दिएर सेवाबाटै बाहिरिने र पलायन हुने बढ्दैछन् । निजामती सेवामा आवेदन दिने संख्या घट्दैछ ।

उमेश दाहाल उमेश दाहाल
२०८२ भदौ ८ गते १२:५७

कर्मचारी भएर कर्मचारीतन्त्रका नकारात्मक कुरा गर्दा कता कता संकोच लागेर आउँछ । केन्द्रदेखि स्थानीयस्तरसम्म सञ्जाल रहेको कर्मचारीको शासकीय शैलीमा समयक्रम अनुसार फरकपना हुँदै जानुपर्ने हो । कर्मचारी भन्ने बित्तिकै निजामतीलाई मात्रै बुझ्ने गरिन्छ ।

अन्य निजी क्षेत्र, सार्वजनिक संस्थान, विभिन्न कम्पनीहरू लगायतका निजामती बाहेकका कर्मचारीलाई झट्ट रुपमा भन्दा संस्था सञ्चालनका अगुवा जस्तो बुझाई जनतामा भएको आभास हुन्छ । निजामती कर्मचारी भन्नासाथ नकारात्मक दृष्टिले हेर्ने वा चित्रित गर्ने गरेको महसुस हुन्छ ।

 कर्मचारी प्रशासनले गर्ने कार्यशैली र व्यवहारलाई जनता र समग्र कर्मचारीले नराम्रो मान्दैनन् ।

 कर्मचारीतन्त्रमाथी निरन्तर प्रहार गर्ने खराब राजनीतिकर्मी र सोही आवरणका पात्रहरू हुन् भन्दा अत्युक्ति नहोला । देशको राजनीतिक चरित्रले नै कर्मचारीतन्त्रको शासकीय मार्गरेखा कोर्ने हो ।

राजनीतिज्ञहरू शासकीय पद लिईसकेपछि क्षणमै पुरै कर्मचारीतन्त्रलाई स्क्यान गरेर दिमागमा राखेजस्तो गर्छन् । क्षणभरमै कर्मचारीतन्त्रका सिद्धान्त र शैलीहरूलाई मिथ्या साबित गर्दै तर्क र विचारहरू राखेको पाईन्छ ।

आफ्नो शैली, स्वभाव र व्यवहार अनुकूल कर्मचारीहरू परिचालन भएनन् भन्ने भाष्य भएमा कर्मचारी थाङ्ग्ने हुन्छन्, माग्ने हुन्छन्, प्रक्रिया खोज्ने र काम टार्ने हुन्छन्, अटेरी हुन्छन्, भ्रष्ट हुन्छन्, यस्तै यस्तै ।

कर्मचारीतन्त्रका विश्वब्यापी सिद्धान्तहरू उस्तै प्रकृतिका छन् । तिनै प्रतिपादित सिद्धान्तहरूबाट मार्गनिर्देशित भई शासन सञ्चालनका कार्यविधिहरू तय गरिन्छन् र सोही अनुरुप कार्यसञ्चालनका मार्गरेखाहरूबाट कर्मचारी प्रशासन सञ्चालन गरिन्छ ।

यसका साथै विश्व प्रसिद्ध प्रशासनविद्हरुका अनुभव, भनाई उद्वरणीय विचार, सोचाई जस्ता कुराहरूलाई आधार बनाएर समेत समयक्रम अनुसार विधिहरूलाई परिमार्जित स्वरुपमा अनुशरण गरी प्रशासनिक काम कारबाही गर्ने गरेको पाईन्छ ।

कर्मचारीतन्त्रले तटस्थतापूर्वक र निष्पक्ष भई सेवा प्रवाह गर्न वर्तमान राजनीतिक नेतृत्वप्रति जति बफादार हुनुपर्छ त्यतिकै पछि आउने नेतृत्वप्रति पनि बफादार हुनपर्छ भन्ने कर्मचारीतन्त्रको ुक्रमिक दाम्पत्यको सिद्धान्तु अनुरुप काम कारबाही गर्नुपर्छ ।

यस सिद्धान्तले कर्मचारीतन्त्र राजनीतिकरणबाट जोगिनुपर्छ भन्ने बुझाउँछ । त्यसैले नै कर्मचारीतन्त्रलाई स्थायी सरकार, अनिर्वाचित सिनेट भनिएको हो ।

कर्मचारीहरू राजनीतिक हस्तक्षेप र अन्यायपूर्ण व्यवहारबाट मुक्त भई दबाब र तनावरहित कार्य वातावरणमा काम गर्न चाहन्छन् । निश्चित भविष्य र सुरक्षा चाहन्छन् । कामप्रतिको मूल्यांकनका आधारमा सम्मान चाहन्छन्

हाम्रो देशमा विद्यालय तहको शिक्षा, विश्वविद्यालय तहको शिक्षा, निजामती सेवामा वा अन्य सेवामा प्रवेशका लागि भर्ना छनौट र पदपूर्तिका लागि निर्धारित गरी तोकिएको पाठ्यक्रम र पढनुपर्ने विषयवस्तु, सेवा प्रवेश पछिको काम गर्ने कार्यविधिगत तौरतरिका र शैली बीचमा कुनैपनि तादात्म्यता छैन ।

सबै उल्लेखित क्षेत्रमा फरक फरक अनुभव र ज्ञान लिनुपर्ने बाध्यात्मक अवस्था छ । कर्मचारीले सेवा प्रवेश पछिको कार्यक्षेत्रको जिम्मेवारी र कर्मचारीतन्त्र सञ्चालनको आधार र इतिहासलाई बुझ्न करोडौं दिमागी सेलहरू खर्च गर्नुपर्ने हुन्छ ।

अनगिन्ती अनुभवहरू हासिल गर्नुपर्छ । विभिन्न तहहरू पार गर्नुपर्छ वर्षौंको समय खर्च गर्नुपर्छ । पारिवारिक मोह र माहोलको रस्वास्वादन त्याग गर्नुपर्छ । रंगिन जिजिविषाका इच्छा र आकाङ्क्षाहरू मार्नुपर्छ । जीवनलाई धार मुनीको अचानोमा राखेर जिम्मेवारी सम्हाल्नुपर्छ ।

 लुकीछिपी अध्ययन र अध्यापन गर्नुपर्ने बाध्यता पर्छ । जिवनका यौवनहरूलाई व्यर्थैमा खरानी बनाउनुपर्छ । जागिरको स्वार्थमा जीवनको मणि हराउनुपर्छ ।

नागरिकका गर्भदेखि मृत्युपर्यन्त चिहानसम्मका हरेक कार्यहरूमा केन्द्रदेखि स्थानीय जराधार तहसम्म पुगेर कार्यहरूलाई प्रमाणिकरण गर्ने जिम्मेवारी बोकेको कर्मचारीतन्त्रले वर्षौंसम्म अनेकन साक्षीहरू बसेर काम गर्दा र संघर्षपूर्ण तवरबाट कार्यसम्पादन गर्दा पनि बिश्वब्यापी रुपमा सिर्जित कर्मचारीतन्त्रका सिद्धान्त, मर्म र भावनलाई खुट्याएर मिहिन रुपमा बुझेको हुँदैन ।

 तर एकाध दिनमै र समयमै सरसर्ती विश्लेषण गरी राजनीतिक दाउपेचमा आक्षेपयुक्त चलन र संस्कृतिले कर्मचारीतन्त्रको व्यावसायिकतामा गम्भीर असर पर्ने कुरालाई ख्याल गरिनु जरुरी छ ।

आफ्नो स्वभाव र शैली अनुकूल नहुँदा स्वार्थप्रेरित भएर चरण चरणमा लगाईने आक्षेपहरूबाट कर्मचारीले आत्मबल गुमाउँछन् । लगनशीलता र लगावलाई सिध्याउँछ । इमान्दारिता, सीप र योग्यतालाई थाती राख्छ । शक्तिशाली पेशागत रत्नलाई गायब बनाउँछ ।

देश र जनताको सेवाप्रतिको गर्वलाई मार्छ, निष्ठा प्रेरणा र सेवाभावलाई गुमाउँछ । कर्मचारीको मेहनतको मूल्य चाकडी र चाप्लुसी भन्दा सस्तो भयो भने इमान्दार मनको मणि हराउँछ ।

हाम्रो प्रशासनिक संयन्त्रहरूमा सेवा प्रवाहका लागि विभिन्न मोडलहरू ल्याईएका छन् । बनाईएका छन् । सेवा वितरणलाई जनतामाझ सशक्त ढंगले सुसूचित गराई सहभागितामूलक तुल्याउने ढंगले विविध समूह, कचहरी, मञ्च, सुनुवाई समिति गठन गरेर भएपनि कार्यलाई प्रभावकारी बनाउने भन्ने व्यवस्थाहरू कार्यान्वयनमा ल्याईएको छ ।

कर्मचारीहरू निश्चित संख्यामा बदमास छन् भन्दैमा पुरै संगठनका नैतिकवान कर्मचारीलाई मुछेर आरोप लगाइन्छ । यसको अन्त्य जरुरी छ

विकासात्मक क्रियाकलापहरू सञ्चालन गर्नेदेखि योजनाको कार्यान्वयनकर्ता, नीतिको ब्यवहारिक अनुयायी र नागरिकलाई प्रत्यक्ष सेवा प्रवाहमा संलग्न पात्र कर्मचारीलाई अत्यधिक आलोचना गर्ने प्रवृत्ति हुनुलाई स्वभाविक मान्नु हुँदैन । भनिन्छ, कर्मचारीले लोकप्रिय बन्न जरुरी छैन । लोकप्रिय नहुने भनेर गलत प्रवृत्तिले सिर्जना भएका आलोचना सहनुपर्छ भन्ने पनि छैन ।

 कानुनका प्रक्रिया पुरा गरेर छिटोछरितो, मितव्ययी, पारदर्शी ढंगले सेवा प्रवाह गर्नुपर्ने र नीति तर्जुमादेखि कार्यान्वयन तहसम्म मुख्य हकदारको भूमिका निर्वाह गर्ने कर्मचारी प्रशासन नसुध्रिनुमा गाँठो कहाँनेर परेको छ भनेर गाँठो पार्नेलाई र पारेको देख्नेलाई थाहा छ ।

तर गाँठो फुकाउने क्षमता र दक्षता कसैले राख्न सक्दैन । कर्मचारीसँग बुद्धि कम होला तर ज्ञान अथाह छ । विश्वविख्यात प्रशासनविद् इमर्सनले भनेका छन्( ज्ञान उपयोग गर्न बुद्धि हुनु आवश्यक छ । त्यसैले ज्ञानको उपयोग गर्नसक्ने सद्बुद्धि कोसँग हुनुपर्नेररहनुपर्ने हो विचारणीय छ ।

कर्मचारी नेतृत्व वर्गले शासकीय क्षमतालाई उत्कृष्ट तुल्याई सन्तुलन कायम गर्नसक्ने ल्याकत र क्षमता राख्नुपर्छ । राजनीति र प्रशासनबीचको सम्बन्धलाई देश र जनताप्रति समर्पण गर्दै प्रगाढ तुल्याउने साथै जनउत्तरदायी र परिणाममुखी बनाउन नागरिकलाई केन्द्रविन्दु मानी उत्कृष्ट शासकीय गतिविधि सञ्चालन व्यवस्था मिलाउनु अपरिहार्य छ ।

कर्मचारीले जनताप्रति र राष्ट्रप्रति गर्ने श्रम र समर्पणको भूमिका लाई नजरअन्दाज नगर्ने जिम्मेवारी कसको हो भन्ने ग्रहण गर्नैपर्छ । इमान्दारीपूर्वक भूमिकामा रही काम गर्ने कर्मचारी भन्दा अनियमिततामा संलग्न रही काम गर्ने कर्मचारी अत्यन्तै न्यून रहने गर्छन् । त्यसको असर सम्पूर्ण कर्मचारी वर्गमाथि पर्छ । यसलाई न्यायसंगत मान्न सकिँदैन । सबैलाई एकै गामालट्ठीले हान्नु गलत हो ।

कर्मचारीमा नैराश्यता बढ्दै गएको महशुस गर्न सकिन्छ । गत आर्थिक वर्षमा राजीनामा दिएर सेवाबाट बाहिरिएको र सेवाबाटै पलायन भएको संख्या हजारौं रहेको समाचार आईरहेका छन् ।

विगत वर्षहरूको तुलनामा निजामती सेवामा विज्ञापन हुँदा आवेदन दिने संख्या अत्यधिक घट्दै गएको पनि जानकारी पाईन्छ । यी दुवै कुराले कर्मचारीतन्त्रप्रतिको विश्वास घटेको मात्र नभई वितृष्णा र घृणा रहेको आभास सजिलै गर्न सकिन्छ । कर्मचारीतन्त्र भित्रका एकाध कपटपूर्ण व्यवहार गर्ने प्रवृत्ति भएकाहरूले सेवामा विध्वंश मच्चाईरहेका छन् । यस्ता प्रवृत्ति भएकाहरू स्वयं आत्मालोचना गरी  सेवाबाट बाहिरिनु जरुरी छ ।

कर्मचारीहरू जनताबाट अपमानित हुन चाहँदैनन् । असभ्य  र अपमानजनक व्यवहार भोग्न चाहँदैनन् । मानसिक रुपमा आत्मसम्मानयुक्त ढंगले कामप्रति जिम्मेवार बन्न चाहन्छन् ।

राजनीतिक हस्तक्षेप र अन्यायपूर्ण व्यवहारबाट मुक्त भई दबाब र तनावरहित कार्य वातावरणमा काम गर्न चाहन्छन् । निश्चित भविष्य र सुरक्षा चाहन्छन् । कामप्रतिको मूल्यांकनका आधारमा सम्मान चाहन्छन् ।

कर्मचारीहरू निश्चित संख्यामा बदमास छन् भन्दैमा पुरै संगठनका नैतिकवान कर्मचारीलाई मुछेर आरोप लगाउने संस्कृतिको अन्त्य चाहन्छन् ।

कर्मचारीका सिद्धान्तहरू अनुशरण गरी काम गर्न चाहन्छन् । कर्मचारीतन्त्रमा छायामा परेका सिर्जनात्मकता, व्यवसायिकता, जवाफदेहिता, आदेशको एकात्मकता उजागर गरी कार्यसम्पादन गर्न चाहन्छन् । कर्मचारीकै पेशागत हकहित र संस्कृतिमा रमाउँदै जनताप्रति बफादार र लगनशील भएर काम गर्न चाहन्छन् । राजनीतिसँग प्रतिष्पर्धा गरेर नभई सहकार्य र सुमधुर सम्बन्धमा काम गर्न चाहन्छन् ।

लेखक
उमेश दाहाल

लेखक धनुषा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी  हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?