+
+
Shares

सुत्केरीपछि कसरी तन्दुस्त रहने ? उपयोगी ५ उपाय

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेलिभरीपछि महिलाहरूलाई शारीरिक र मानसिक थकानले फिटनेसमा फर्कन चुनौती हुन्छ, तर सही तरिका अपनाएर स्वस्थ जीवनशैली बनाउन सकिन्छ।
  • डेलिभरीपछि फिटनेसका लागि हिँडाइ, योग, स्ट्रेचिङ, कोर स्ट्रेन्थ बढाउने र हल्का कार्डियो गर्ने पाँच प्रभावकारी उपायहरू छन्।
  • यी उपायहरूले शरीरलाई आराम, लचकता, शक्ति र सक्रियता दिन्छन् र बच्चाको हेरचाहमा सहजता ल्याउँछन्।

धेरै महिलाहरूलाई लाग्छ कि, सुत्केरी पछिको समय गर्भावस्था भन्दा पनि बढी कठिन हुन्छ । किनभने यो समयमा शरीरलाई रिकभरी र आराम चाहिन्छ, तर नयाँ आमाको जिम्मेवारी धेरै हुन्छन् । बच्चाको हेरचाह, स्तनपान, निद्रा नपुग्ने अवस्था र मानसिक तनावका कारण आफूलाई समय दिन गाह्रो हुन्छ ।

यही कारणले धेरै आमाले आफ्नो स्वास्थ्य र फिटनेसलाई प्राथमिकतामा राख्न सक्दैनन् ।

डेलिभरीपछि फिटनेस रुटिनमा फर्कनु नयाँ आमाहरूका लागि चुनौतीपूर्ण हुन सक्छ । बच्चाको हेरचाह, शारीरिक र मानसिक थकान र शरीरको रिकभरीको आवश्यकताले फिटनेसलाई पछाडि धकेल्न सक्छ । तर, सही तरिका र साना कदमहरू चालेर आफ्नो फिटनेस यात्रालाई पुनः सुरू गर्न र स्वस्थ जीवनशैली अपनाउन सकिन्छ ।

डेलिभरीपछि फेरि फिट हुन सहयोग गर्ने ५ प्रभावकारी उपायहरू

१. हिँडाइबाट सुरू गर्ने

डेलिभरीपछि व्यायाम सुरू गर्न सबैभन्दा सजिलो र सुरक्षित विकल्प हिँडाइ हो । दैनिक करिब १५ मिनेट हल्का गतिमा हिँडाइ सुरू गर्न सकिन्छ । शरीर बिस्तारै तन्दुरुस्त भएपछि समयलाई ३० मिनेट वा बढी बढाउन सकिन्छ । छिटो हिँड्दा मुटु र फोक्सो बलियो हुन्छ, रक्तसञ्चार राम्रो हुन्छ र तौल नियन्त्रणमा सहयोग पुग्छ । यदि बच्चालाई स्ट्रोलरमा राखेर बिहान वा बेलुकी हिँड्ने बानी बसाल्न सकिन्छ भने आमा र बच्चा दुवैलाई फाइदा हुन्छ ।

२. योग गर्ने

योगले शरीरलाई मात्र होइन, मनलाई पनि सन्तुलनमा राख्छ । सेतु बन्धासन, सुप्तबद्ध कोणासन, शवासन जस्ता योगासनले शरीरलाई आराम दिन्छ । बालासन र मार्जरीआसनले ढाड दुखाइ कम गर्छ र शरीरमा लचकता ल्याउँछ । योग गर्दा गहिरो श्वासप्रश्वास अभ्यास गर्नाले मानसिक तनाव घट्छ र निद्रा सुधार हुन्छ । सुरुमा प्रशिक्षकको सल्लाह लिएर हल्का योग गर्नुपर्छ ।

३. स्ट्रेचिङ गर्ने

गर्भावस्था र डेलिभरीपछि शरीर कडा र थाकेको हुन्छ । स्ट्रेचिङले मांसपेशीलाई आराम दिन्छ र चोटपटकको जोखिम घटाउँछ । स्पाइनल ट्विस्ट स्ट्रेच, हिप फ्लेक्सर स्ट्रेच, सिटेड फरवार्ड बेन्ड, चेस्ट ओपनर स्ट्रेच, क्याट–काउ स्ट्रेच जस्ता अभ्यास उपयोगी हुन्छन् । व्यायाम सुरू गर्नुअघि र पछि हल्का स्ट्रेचिङ गर्दा शरीर तात्छ र आराम पाउँछ । स्ट्रेचिङ गर्दा शरीरमा अत्यधिक दबाब नपरोस् भन्नेमा ध्यान दिनुपर्छ ।

४. कोर स्ट्रेन्थ बढाउने

डेलिभरीपछि पेट र ढाडका मांसपेशी कमजोर हुन्छन् । त्यसलाई बलियो बनाउन कोर एक्सरसाइज उपयोगी हुन्छ । ब्रिज पोज र हल्का क्रन्चेजबाट सुरु गर्न सकिन्छ । पेट बलियो हुँदै गएपछि ढाड दुखाइ घट्छ र शरीरलाई सजिलोसँग चलाउन सकिन्छ । हल्का डम्बल वा शरीरको तौल प्रयोग गरेर हात–खुट्टाको व्यायाम गर्दा शरीर अझ राम्रो हुन्छ । नियमित अभ्यासले बच्चा उठाउने, बोक्ने जस्ता दैनिक गतिविधि सजिलो बनाउँछ ।

५. हल्का कार्डियो गर्ने

कार्डियो व्यायामले क्यालोरी बर्न गर्छ र शरीरलाई सक्रिय राख्छ । स्टेशनरी साइक्लिङ, छिटो हिँडाइ, हल्का एरोबिक्स राम्रो विकल्प हुन् । स्टेपिङ वा हल्का नृत्य एरोबिक डान्सले पनि ऊर्जा बढाउँछ र मज्जाले पसिना आउँछ । यी व्यायामहरूले जोर्नीमा बढी दबाब नदिई शरीरलाई टोन गर्छन् । हप्तामा ३–४ दिन हल्का कार्डियो सुरु गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?