
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा पहिलो पटक लैङ्गिक समानता कार्निभल आयोजना भएको छ, जसले कला, साहित्य, बहस र मनोरञ्जनमार्फत लैङ्गिक हिंसाविरुद्ध आवाज उठायो।
- कार्यक्रम दुई चरणमा सम्पन्न भयो, जसमा अन्तरक्रियात्मक खेल, प्यानल छलफल र फेसन शोले लैङ्गिक हिंसाविरुद्ध सन्देश प्रवाह गरे।
- राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले नीति कार्यान्वयनको महत्त्व जोडिन् र अर्को महिना मधेश प्रदेशमा पनि कार्निभल आयोजना हुने जानकारी दिइयो।
१८ भदौ, काठमाडौं । काठमाडौंमा पहिलो पटक लैङ्गिक समानता कार्निभल आयोजना भएको छ, जसले कला, साहित्य, रचनात्मक अभिव्यक्ति, बहस र मनोरञ्जनमार्फत लैङ्गिक हिंसाविरुद्ध आवाज उठायो।
कार्यक्रम दुई चरणमा सम्पन्न भयो । पहिलो चरणमा सर्प र सिँढी, डार्ट गेम, मेहन्दी बुथ, नीति बुथ, वाल अफ एभिडेन्स, फोटो बुथ र ट्री अफ कमिटमेन्ट जस्ता अन्तरक्रियात्मक खेल र गतिविधिमार्फत लैङ्गिक समानता र हिंसा रोकथामका सन्देश प्रदान गरियो ।
दोस्रो चरणमा सरकारी तथा गैरसरकारी निकाय, नीति निर्माता, विशेषज्ञ र कार्यकर्ताहरूको प्यानल छलफल भयो, जसमा लैङ्गिक हिंसाविरुद्ध नीतिगत व्यवस्था, प्रयास र चुनौतीहरूमा केन्द्रित रह्यो ।
छलफलमा समूह गतिविधि र लैङ्गिक परिवर्तनकारी मान्यता झल्काउने विद्यार्थीहरूको फेसन शोले हानिकारक पितृसत्ता र विषाक्त पुरुषत्वविरुद्ध सन्देश प्रवाह गर्यो । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले नीति कार्यान्वयनको महत्त्व जोडिन् । प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले घरेलु हिंसाका ५ प्रतिशत मुद्दामा मात्रै न्याय हुने बताइन् ।
एलजीबीटीआईक्यू प्लस अभियान्ता भूमि श्रेष्ठले अन्तरलिङ्गी बालबालिकामाथि जबरजस्ती गरिने शल्यक्रियाको अन्त्य र कानुनी व्यवस्थाको आवश्यकता औंल्याइन् ।
राष्ट्रिय मधेसी आयोगका कार्यवाहक अध्यक्ष जिबाछ साहले विवाहको कानुनी उमेर घटाउने प्रस्तावको विरोध गरे । महिला अधिकारकर्मी आरती चटौतले एकल महिलाहरू सबैभन्दा बढी हिंसाको जोखिममा रहेको र विवाहको उमेर घटाउने पक्षमा प्रभावित नहुने वयस्कहरू मात्र रहेको अध्ययन प्रस्तुत गरिन् ।
छलफलमा बालविवाह, मानसिक स्वास्थ्य, कार्यस्थल उत्पीडन, स्वस्थ सम्बन्ध र पुरुषको लैङ्गिक समानतामा सहभागिताजस्ता विषयमा बहस भयो ।
अगस्ट ३० मा पाटनको स्क्वायर होटलमा आयोजित यो कार्निभलमा १२० भन्दा बढी सरोकारवालाको सहभागितामा थियो । दोस्रो चरण सर्वसाधारणका लागि निःशुल्क हुने र अर्को महिना मधेश प्रदेशमा पनि कार्निभल आयोजना हुने आयोजकले जानकारी दिए ।
प्रतिक्रिया 4