+
+

‘रचनात्मक सहर’मा छानिएपछि काठमाडौंको योजना : आर्ट काउन्सिलदेखि फिल्म फेस्टिभलसम्म

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १५ गते १७:१७

काठमाडौं । चलचित्र विधाबाट काठमाडौं महानगरपालिका युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क)मा जोडिएपछि महानगरले गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले चलचित्र क्षेत्रको विकास र विस्तार यससँग सम्बन्धित उद्योगको सञ्चालन, आवश्यक पर्ने नीति, अनुसन्धान र विकासका लागि काठमाडौं क्रिएटिभ आर्ट्स काउन्सिल (केसीएसी, केएमसी) स्थापना हुने जनाएको हो ।

महानगरका प्रवक्ता नवीन मानन्धरले फिल्म उद्योगमा आवद्ध जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, फिल्म अध्ययन हुने विश्वविद्यालयबीच समन्वय गरेर स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन गरिने बताए ।

‘सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गरिने हामीले तयारी गरेका छौं,’ मानन्धरले भने ।

महानगरले ल्यान्डस्केप डिजाइन, विश्व सम्पदा क्षेत्रहरुको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला सम्वर्द्धन, चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पुर्‍याउने दृश्यात्मक मनमोहक स्थान फिल्मका उपलब्ध गराउने जनाइएको छ ।

फिल्म उद्यमी ल्याउन फिल्म एक्स्पो र समिट

काठमाडौं महानगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उद्यमीलाई जोड्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिटलगायत कार्यक्रम गर्ने जनाएको छ । ‘विश्वभरका चलचित्र निर्माता, लगानीकर्ता तथा वितरकलाई एक्स्पो समिटबाट ल्याएर अन्तर्राष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र विस्तार हुनेछन्,’ प्रवक्ता मानन्धरले भने । रचनात्मक सहर सञ्जालका सदस्य रहेको अन्य मुलुकका सहरहरुमा विद्यार्थी, कलाकार, अनुसन्धानकर्ताबीच अनुभव र ज्ञान आदानप्रदानको काम गर्ने उनले बताए ।

महानगरले यस्ता कार्यक्रमका लागि पाँच करोड रुपैयाँ विनियोजन गरिसकेको मानन्धरले जानकारी दिए । रचनात्मक सहरका लागि तोकिएका सात क्षेत्रमध्ये काठमाडौँ महानगरपालिकाले चलचित्र विधा छानेको थियो । सञ्जालमा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नुपर्ने थियो । यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको हो ।

उपप्रमुख सुनिता डंगोलले रचनात्मक सहरका सबै विधाहरु काठमाडौंसँग सम्बन्धित भए पनि फिल्म विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकाले महानगरपालिकाले यसलाई छानेको बताइन् ।

युनेस्को नेपालका आवासीय प्रतिनिधि माइकल क्रप्टले नेपालको प्राकृतिक र सांस्कृतिक विविधता अलौकिक रहेको बताए । ‘म जस्तै नेपाल र काठमाडौंका विषयमा थाहा नपाउनेहरुका लागि चलचित्र विधाबाट गरिने क्रियाकलाप प्रवर्द्धनका लागि उपयोगी हुनेछन् । यो काठमाडौंका लागि अवसर हो । यसलाई उपयोग गर्नुपर्छ,’ पत्रकार सम्मेलनमा क्रप्टले भने ।

सञ्जालमा १०० भन्दा धेरै देशका ३५० वटा सहर आवद्ध छन् । यसपटक ५५ वटा सहर थपिएका हुन् । युनेस्को चलचित्र विधाको सञ्जालमा यस वर्ष जोडिएका सहरमध्ये काठमाडौंसहित पाँच सहर चलचित्र विधामा छानिएका छन् । यस्तै संगीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार) मा सातवटा, मिडिया कलामा चारवटा सहर जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?