+
+

कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने ट्रेड युनियनहरुको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते ९:३०

१९ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् ।

सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज, भोलि र पर्सि तीन दिन कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण प्रादेशिक कार्यालय प्रमुखहरुलाई समेत कार्यकक्षमा प्रवेश निषेध गर्ने निर्णय गरेका हुन् ।

आज कात्तिक १९ गते ११:१५ बजेदेखि १२:१५ बजेसम्म, भोलि कात्तिक २० गते ११:१५ बजेदेखि १२:४५ बजेसम्म र पर्सि ११:१५ बजेदेखि १:१५ बजेसम्म कार्यकक्ष प्रवेश निषेध गर्ने कर्मचारीहरुले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रममा उल्लेख छ ।

नेपाल विद्युत प्राधिकरणले गत असोज ३० गते विभिन्न पदका आठ तहदेखि दुई तहसम्मका २९७ जना कर्मचारीहरुको सरुवा गरेको थियो । सरुवा सूचीमा स्टोर शाखा प्रमुखदेखि कार्यालयमा विवादित भनेर चिनिएका केही कर्मचारीहरु पनि परेका थिए । त्यसैबेलादेखि ट्रेड युनियनहरु असन्तुष्ट थिए ।

यद्यपि नेपाल विद्युत प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुले संस्थागत उन्नती र कर्मचारीको हक हितका लागि भन्दै यही कात्तिक १२ गते पहिलो ध्यानाकर्षण पत्र बुझाएका थिए ।

यसैगरी कात्तिक १४ गते दोस्रो पटक सात बुँदे सहित तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । तर व्यवस्थापनसँगको वार्ताबाट निष्कर्षमा पुग्ने वातावरण नबनेको भन्दै कार्यकारी निर्देशक घिसिङसहित कार्यालय प्रमुखहरुलाई कार्यालय प्रवेशमा निषेध गर्ने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

यो कार्यक्रमबाट पनि माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?