+
+

सद्भाव बिगार्ने सामग्री हटाउन सरकारले माग्यो टिकटकसँग सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १७:५५

१९ कात्तिक, काठमाडौं । सरकारले चार्चित एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको छ ।

टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको गृह मन्त्रालयले जनाएको छ । दोषीउपर कानुन बमोजिम कारवाही गर्न नेपाल प्रहरीको साइवर व्युरो लगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबीच सहकार्य बढाउने सहमति पनि भएको छ ।

छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन सहज हुने भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

‘अतः जिम्मेवार नागरिकको रुपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेवापत हुने कानूनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ’, गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

टिकटकका प्रतिनिधिहरुसँग गृह मन्त्रालयमा भएको बैठकमा गृह मन्त्रालयसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकायका प्रतिनिधिहरु सहभागी थिए ।

टिकटक लगायतका सामाजिक सञ्जालको मर्यादित र कानुनसम्मत प्रयोगले नयाँ कुराहरु जानकारी लिन दिन र सामाजिक सम्पर्कमा रहन सहयोग पुर्‍याउने भन्दै गृह मन्त्रालयले गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पर्ने, व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्नेतर्फ सचेत गराएको छ ।

हेर्नुहोस् तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?