+
+
स्थलगत :

ज्यामिरकोटमा त्रिपाल न खानेकुरा

आभास बुढाथोकी आर्यन धिमाल आभास बुढाथोकी, आर्यन धिमाल
२०८० कात्तिक २० गते १९:२७
भूकम्पपछि आफ्नो अस्थायी आवासअगाडि खानेकुरा पकाउँदै शेरु मल्ल ।

२० कात्तिक, रुकुम पश्चिम । रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१६ ज्यामिरकोटका शेरु मल्ल भूकम्प आउँदा घरमा एक्लै थिए । घर हल्लिन थालेपछि बार्दलीबाट हाम फालेर ज्यान जोगाए । ‘ढोका खुलै भएकाले मैले चाहिँ ज्यान जोगाउन सकेँ’, उनले भने ।

संयोगले त्यो दिन श्रीमती र छोरा बाहिर भएकाले घरमा उनी एक्लै थिए । मल्लकी पत्नी बिरामी भएपछि उनको उपचारका लागि आमाछोरा काठमाडौं पुगेका छन् । ‘परिवार पनि हुन्थे भने अवस्था अर्कै हुन सक्थ्यो’, भूकम्प गएको रात सम्झदै उनी भन्छन् ।

शुक्रबार गएको भूकम्पले घर ढलेको तीन दिन भइसकेको छ । घर भत्किएयता उनी खेतमै छन् । ‘घर भत्किँदा बाँकी केही रहेन, उनले भने, ‘धेरैजसो समानहरु घरभित्रै पुरियो । बचेको केही रासनपानी लिएर खेतमै बसिरहेको छु ।’

प्लाष्टिकको ओत लगाए पनि चिसो भुइँमा रात बिताइरहेका उनी अहिलेसम्म त्रिपाल पनि नपाएको बताउँछन् । भूकम्पले घर ढलेपछि चिसो रात बिताउनु त छदैछ, त्यसमा पनि खानेकुराको पनि अभाव हुन थालिसक्यो । ‘बचेको रासन पनि अब त सकिन लाग्यो, उनले भने, ‘अब पनि राहत नखाए भोकभोकै बस्नुपर्छ ।’

ज्यामिरकोटकै ५२ वर्षका गोठे महतराको पनि दुईवटै घर भूकम्पले भत्कियो ।

घर भत्किएपछि उनको परिवार खेतमा रात बिताइरहेको छ । पुरानो बोरा जोडेर उनले ओत लाग्ने ठाउँ बनाएका छन् । त्यही सानो टहरोमुनि उनकी श्रीमती र दुई छोरासहित चार जनाको परिवारले रात काट्दै आएको छ ।

भूकम्पले गाउँ नै रित्तिने गरी घर ढल्दा पनि अहिलेसम्म सरकारको तर्फबाट कोही नआएकामा उनी दुःखी छन् । ‘सरकारले राहत दिने भनेको मात्र सुन्छु । तर यहाँ कोही आएको छैन’, उनले भने, ‘हामीले त पालसम्म पाएका छैनौं । कतिञ्जेल बाहिर रात कटाउने ?’


रुकुम पश्चिममा भूकम्पबाट धेरै प्रभावित भएको गाउँमध्ये एक हो ज्यामिरकोट । शुक्रबार राति गएको ६.४ रेक्टरको शक्तिशाली भूकम्पले यहाँका सबैजसो घर भत्किए । स्वास्थ्य चौकी र विद्यालय भवन पनि बाकी रहेन । भूकम्पमा घर भत्किएर यो गाउँमा मात्रै चार जना बालबालिकासहित ९ जनाले ज्यान गुमाएका छन् ।

सिंगो गाउँ घरबाहिर, छानोसमेत छैन

रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११ डाडागाउँमा मात्रै एक सय हाराहारी घर छन् । भूकम्पले ठूलो मानवीय क्षति नभए पनि घरहरुमा भने धेरै भत्किएका छन् । स्थानीय बासिन्दाका अनुसार यो गाउँका ७५ प्रतिशत घर पूर्ण क्षति भएका छन् भने २५ प्रतिशत घरहरु जीर्ण भएर बस्न सक्ने स्थिति छैन ।

‘धेरैजसो घर भत्किएका छन्, बचेका केही घर पनि बस्न सक्ने अवस्था छैन । घरहरु भत्किएपछि सिंगो गाउँ नै बाहिर छ’, स्थानीय धनबहाहादुर घर्ती भन्छन्, ‘कोही खेतमा, कोही बारीमा छौं । सबैसँग ओत लाग्ने चिज छैन । आगोको भरमा चिसो रात कटाइरहेका छौं ।’

भूकम्पले घर भत्किएपछि डाँडागाउँका सुखद घर्ती मगरको परिवार पनि बारीमै रात बिताइरहेका छन् । तीन साना बच्चा पनि उनीसँगै बारीमा रात कटाइरहेका छन् ।

‘बालबच्चा पनि घर बाहिरै छन्’, उनले भने, ‘भूकम्पबाट त बालबच्चा बचायौं, चिसोबाट के गरी बचाउने ?’

खानका लागि रासन पानीसमेत नभएको घर्तीले बताए । ‘बचेका खाने कुरा पनि सकिएपछि चाउचाउ, बिस्कुट खाएर बसेका छौं’, उनले भने, ‘बालबच्चा पनि भोकै छन् । यसरी त कतिञ्जेल चल्ला र खै ?’

उनले सरकारले राहत पठाएको सुने पनि गाउँमा आफूहरुले केही नपाएको सुनाए । ‘सरकार राहत बाड्यौं भन्छ मात्र तर हामीले ओत लाग्ने पालसम्म पाएका छैनौं’, उनले पीडा र आक्रोश पोखे ।

रुकुम पश्चिमा मात्रै भूकम्पले २ हजार १३६ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको तथ्यांक छ ।

भूकम्पको कारण जिल्लामा ५२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते छन् । घाइतेमध्ये २७ जनालाई थप उपचारको लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौं पठाइएको छ भने १७४ जना डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुमा अहिले २६ जना उपचार गराइरहेका छन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?