+
+

कोशी प्रदेशमा सांसदले खोजे सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १८:४७

२० कात्तिक, विराटनगर । कोशी प्रदेशसभाको बैठकमा सांसदहरुले सभामुखको खोजी गरेका छन् । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएका कारण उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन गर्दै आएकी छन् ।

सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरु मैया श्रेष्ठ, गोपाल तामाङ, इन्दिरा थापा, शोभा चेम्जोङ र गोपाल विश्वकर्माले सभामुख चयन प्रक्रिया तत्काल सुरु गर्न माग गरे ।

थापा राप्रपाका हुन् भने अरु नेपाली कांग्रेसका हुन् । सदनको गरिमा बढाउनका लागि सभामुख चयन प्रक्रिया तत्काल सुरु गर्नुपर्ने उनीहरुको भनाइ छ ।

तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशी प्रदेश सभामुखविहीन छ । कांग्रेस नेता उद्धव थापालाई दोस्रो पटक मुख्यमन्त्री नियुक्तिका लागि समर्थन जुटाउन १६ साउनमा गौतमले राजीनामा दिएका थिए ।

थापा मुख्यमन्त्री नियुक्त भएपछि गौतम अर्थमन्त्री नियुक्त भएका थिए । तर ४ भदौमा मुख्यमन्त्री थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको फैसला गरेपछि पदमुक्त भएका थिए ।

संसदीय अंकगणितमा समस्या हुने भएकाले सत्ता गठबन्धनले सभामुख लिन मानेको छैन । सत्ता गठबन्धनले राप्रपालाई सभामुख पद दिएर सहकार्यको प्रस्ताव गरेको छ । राप्रपाले सभामुखको जिम्मेवारी लिए सत्तापक्षसँग कठिन बहुमत ४७ मत हुनेछ । सत्तागठबन्धन दलबाटै सभामुख भएको अवस्थामा सरकार अल्पमतमा पर्नेछ ।

बजेट अध्यादेश प्रदेशसभामा

कोशी प्रदेशसभाको बैठकले बजेट अध्यादेशलाई स्वीकार गर्ने निर्णय गरेको छ । यसअघि एमाले नेतृत्वको सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेशलाई स्वीकार गरेको हो ।

सोमबारको प्रदेशसभा बैठकमा ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र‘आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो ।

सो अध्यादेश अस्वीकृतको सूचना सत्ता गठबन्धन दलले दर्ता गरेका थिए । सूचना फिर्ता भएपछि प्रदेशसभाले स्वीकार गर्ने प्रस्ताव पारित भएको हो । अब अध्यादेशको प्रावधानलाई समेटेर प्रतिस्थापन विधेयक सरकारले पेश गर्नेछ ।

प्रदेशसभाको सोमबारकै बैठकमा ‘निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा पेश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?