+
+

भूकम्प प्रभावितलाई थप राहतका लागि भारत र चीनका राजदूतसँग प्रधानमन्त्रीले गरे छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते ९:२६

२१ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा थप राहत सामग्री पुर्याउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनका राजदूतहरुसँग छलफल गरेका छन् । उनले आइतबार बेलुकी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्लाई बालुवाटारस्थित निवासमा बोलाएर छुट्टाछुट्टै छलफल गरेका थिए ।

‘छलफलमा दुवै देशबाट थप १०/१० हजार थान टेन्ट, पाल, ब्लाङ्केट लगायतका सामग्री भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने कुरा भएको छ’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने ।

यसअघि नै भारत र चीनले नेपालका भूकम्प पीडितहरुका लागि १०–१० करोड मूल्य बराबरका राहत सामग्री दिने घोषणा गरेका थिए । भारतले नेपाललाई सामग्री हस्तान्तरण गरिसकेको छ भने चीनले दिने भनिएका राहत सामग्री रसुवागढी नाकामा आइपुगेको छ ।

यही कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते भएका छन् । यसैगरी दुवै जिल्लामा गरी १७ हजार ७ सय बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

सरकारले खाद्यान्न र राहत सामग्री पठाउन सुरु गरे पनि कतिपय पीडितहरुसम्म अझै पुगेको छैन । त्यसैले उनीहरु आफैंले व्यवस्था गरेको त्रिपाल र प्लास्टिक टाँगेर खेत, बारी र चौरमा बस्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?