+
+

उन्नति सहकार्य लघुवित्तको एफपीओ खुल्यो, कस्तो छ कम्पनी ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते ९:२९

२१ कात्तिक, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ (फर्दर पब्लिक अफरिङ) मंगलबारदेखि खुलेको छ ।

संस्थाले अंकित मूल्य १०० दरले एक लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणमा निस्कासन गरेको हो । न्यूनतम १० र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपश्चात उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था बनेको हो ।

कम्पनीले सर्वसाधारण समूहको सेयर हिस्सा ३० प्रतिशत नपुगेकाले एफपीओ जारी गर्न लागेको हो । कुल चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार ६१८ रुपैयाँको २४.५५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख १४ हजार ६०२ रुपैयाँको सेयर मात्रै सर्वसाधारण समूहको छ । यसलाई ३० प्रतिशत पुर्‍याउन कम्पनीले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निस्कासन गर्न लागेको हो ।

कस्तो छ कम्पनी ?

सिद्धार्थनगर वडा नम्बर १२ भैरहवामा यसको रजिस्टर्ड कार्यालय सञ्चालनमा छ । २८ जिल्लाहरुमा ८२ शाखा कार्यालय सञ्चालनमा रहेका छन् ।

रौतहट, सर्लाही, महोत्तरी, रुपन्देही, नवलपरासी पश्चिम, धनुषा, सिराहा, बर्दिया, बाँके, बारा, दाङ, कञ्चनपुर, कैलाली लगायत जिल्लामा यसका शाखा कार्यालय सञ्चालनमा छन् ।

अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी २२ करोड ९० लाख २० हजार रुपैयाँ छ । एफपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २४ करोड ६८ लाख ६५ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष असार मसान्तसम्म १९ करोड रुपैयाँ बराबर खुद ब्याज आम्दानी गरेको छ भने ७६ लाख रुपैयाँ ५० हजार रुपैयाँ बराबर खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ६७ पैसा छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३४ पैसा छ । सञ्चित नाफा ९६ लाख रुपैयाँ बराबर रहेको कम्पनीको नेटवर्थमा प्रतिफल १.६३ प्रतिशत छ ।

कम्पनीले इक्रा नेपालबाट बी प्लस रेटिङ पाएको छ । जसले कम्पनी वित्तीय दायित्व वहन गर्न औसतभन्दा कमजोर स्थितिमा रहेको देखाउँछ । इक्राले सबैभन्दा बलियोदेखि कमजोर स्तरको कम्पनीलाई क्रमशः ‘एएए’ देखि डीसम्मको रेटिङ प्रदान गर्दछ । जसमा प्लस वा माइनसले सो समूहको सबल वा कमजोर संकेत गर्दछ ।

एफपीओबाट संकलित रकम के गर्छ ?

कम्पनीले एफपीओबाट प्राप्त १ करोड ७८ लाख ४५ हजार रुपैयाँमध्ये १५ प्रतिशत कर्जा तथा सापटका लागि उपयोग गर्ने जनाएको छ । त्यस्तै ७० प्रतिशत लगानी गर्ने, १० प्रतिशत शाखा विस्तारमा खर्च गर्ने र ५ प्रतिशत अन्य काममा खर्च हुने जनाएको छ ।

मर्जरपछि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुँदै आएको छ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सोमबार अन्तिम कारोबार हुँदा मूल्य प्रतिकित्ता ६९० रुपैयाँ पुगेको छ । विगत ५२ हप्ताको तथ्यांक हेर्दा कम्पनीको न्यूनतम मूल्य प्रतिकित्ता ६५९ रुपैयाँसम्म झरेको देखिन्छ भने उच्चतम १०८५ रुपैयाँसम्म पुगेको छ ।

को को छन् सञ्चालक ?

लघुवित्त संस्थामा हाल ६ जना सञ्चालक छन् । संस्थाका अध्यक्ष हुन्- संस्थापक समूहका खड्गबहादुर राना । त्यस्तै अन्य सञ्चालकमा खिलराज मैनाली, तुलसीसाम खनाल, राजन तिवारी, यमकुमार खड्का र भार्गव धिताल छन् ।

कम्पनीको सेयर प्रत्याभूतिकर्तामा एनएमबी क्यापिटल रहेको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रेमबहादुर पाठक हुन् भने नायव प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?