+
+

चीनले आफ्नो स्पेस स्टेशनमा उमार्‍यो गोलभेंडा, प्याज र पालुंगो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ११:२१

सेन्झोउ १६ मिसनमार्फत् अन्तरिक्षमा गएका चिनियाँ अन्तरिक्षयात्रीहरुले तियांगोङ अन्तरिक्ष स्टेशनमा पालुंगो र गोलभेंडा उमोरका छन् । अन्तरिक्षमा बालीनाली उमार्ने काम चीनको गहन अन्तरिक्ष मिसनको हिस्सा हो ।

मिसन कमान्डर जिंग हायपेंग तथा अन्तरिक्षयात्रीहरु झु यांगझु र गुई हेचो गत मे महिनादेखि स्पेस स्टेशनमा थिए । उनीहरु हालैमात्र पृथ्वीमा फर्किएका हुन् ।

उनीहरुले नै दुईवटा विशेष खालका यन्त्रको सहयोगमा पालुंगो तथा चेरी गोलभेंडाको बाली स्पेस स्टेशनमा फलाएका हुन् ।

दोस्रो कार्यक्रम अगष्टमा सुरु भएको थियो । जसमा उनीहरुले चेरी गोलभेंडा र हरियो प्याज उमारे । अर्थात् तीनैवटा बाली अन्तरिक्षमा उमार्न उनीहरु सफल भए ।

यतिमात्र होइन चिको अन्तरिक्षयात्री तालिम तथा अनुसन्धान केन्द्रले पृथ्वीमा स्पेस स्टेशनको रेप्लिका तथा त्यही जस्तै माहौल समेत तयार पारेको छ । ताकि वनस्पती, बाली तथा फलहरुको खेती गर्ने प्रयोग गर्न सकियोस् र फसलमा हुने असरको समेत अध्ययन गर्न सकियोस् ।

अन्तरिक्षका वनस्पती तथा जमिनमा उम्रिने वनस्पतीको फरक बुझ्न पनि यसले सहयोग गर्नेछ । अन्तरिक्षमा बाली बिरुवाहरु उमार्नु एउटा लामो परियोजनाको हिस्सा हो ।

चाइना एस्ट्रोनट रिसर्च एण्ड ट्रेनिंग सेन्टरको अनुसन्धानकर्ता यांग रेन्जेका अनुसार स्पेस स्टेशनमा वनस्पती उमार्नुको अर्थ वातावरणीय नियन्त्रण तथा लाइफ सपोर्ट सिस्टमको जाँच गर्नु हो । यस्तो प्रविधिको प्रयोग भविष्यमा ठूलो परिमाणमा अन्तरीक्षमा बाली फलाउनका लागि गर्न सकिन्छ ।

जब कुनै बाह्य ग्रहमा वस्ती बस्नेछ तब त्यहाँ Environmental Control and Life Support System (ECLSS)  प्रविधि को आवश्यकता पर्नेछ ।

खासगरी चन्द्रमा र मंगलमा । जुन बिरुवाहरु यो प्रविधिबाट उमि्रनेछन् त्यस्ता बिरुवाहरुले कार्वनडाइअक्साइड सोसेर अक्सिजन प्रदान गर्नेछन् ।

यसको फाइदा अन्तरिक्षयात्रीहरुलाई हुनेछ । चीनले सन् २०३० भन्दा अगावै चन्द्रमामा दुईजना अन्तरिक्षयात्रीलाई पठाउने योजना बनाएको छ ।

चीनले चन्द्रमामा आफ्नो आधार शिबिरसमेत बनाउने लक्ष्य राखेको छ, जसको नाम इन्टरनेसनल लूनर रिसर्च सेन्टर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?