+
+
Shares

सानी रोविहामा ट्याटुको चिह्न

डा. भागवत आचार्य डा. भागवत आचार्य
२०८० कात्तिक २२ गते १६:१२

आमा,

मेरो हातमा मेरै नाम किन लेखिदिएको ?

यो कालो ब्रासलेट किन लगाइदिएको ?

आँखामा आँसु र अनुहारमा विषाद् बोकेर

केहीबेर टोलाएपछि

जवाफ दिन्छिन् आमा- सानै छ्यौ रोविहा छोरी

थाहा पाउन्नौ यस्ता कुरा

नजन्मिंदै तिमी कसैकी शत्रु हौ

तिमी अनेकन अहङ्कारको निशानामा छ्यौ

जहाँ कुनै पनि बेला अहंकार बम बनेर आउँछ

र खाइदिन सक्छ, समाप्त पारिदिन सक्छ

त्यसबेला

‘मरें आमा’ भनेर तिम्रो आवाज आउँदा

बारुदको मुस्लोमा म पनि के रहुँला र ?

र रहे पनि

तिमीलाई छातीमा टाँसेर मातृत्वको भोक

मेटाउन के पाउँला र ?

तिम्रो क्षतविक्षत अनुहार सुम्सुम्याउन

कसरी सकुँला र मुटुको टुक्रा छोरी

त्यसबेला

तिम्रो शरीर चिन्न सकूँ

र दुई थोपा आँसुले अन्तिम बिदाइ गर्न सकूँ

अनि आमा हुनुको अर्थबोध गर्न सकूँ छोरी

त्यसैले तिम्रो नामांकित ट्याटु नमेट्नु तिमीले

तिमीले लगाएको ब्रासलेट नफ्याल्नु तिमीले

अहंकारमै त चलिरहेछ विश्व

अहंकारका अगाडि जीवनको मूल्य हुन्न रहेछ

ढुंगालाई जिजीविषाले छुन्न रहेछ

अहंकारको अग्निमा बलिरहेको छ विश्व

हतियारको भुङ्ग्रोमा डढिरहेको छ विश्व

ओइ अहंकार

तँमा अलिकति धर्म हुँदैन ?

तँभित्र रति संवेदना हुँदैन ?

तेरो कुनै आदर्श हुँदैन ?

चितुवाको दारा र चिलको चुच्चो लिएर

कति दिन रहलास् अहंकार

याद राख्, घरमा आगो लगाएपछि

ढिलो चाँडो आगोले स्वयंलाई डढाउन सक्छ

संवेदना नै हराएपछि

तेरो पनि अस्तित्व समाप्त हुन सक्छ ।।

 (डा. आचार्य नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यसमेत हुन् ।)

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?