+
+

विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने होडमा तीन टोली

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते ११:४६

२३ कात्तिक, काठमाडौं । भारतमा भइरहेको आईसीसी क्रिकेट विश्वकपमा तीन टोली सेमिफाइनलमा पुगिसकेका छन् ।

आयोजक भारतसहित दक्षिण अफ्रिका र अष्ट्रेलियाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसक्दा अब एक टोलीको टुङ्गो लाग्न बाँकी छ ।

१० टोली सहभागी विश्वकपमा सेमिफाइनलको एक स्थानका लागि तीन टोली होडमा छन् । त्यसमा न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

भारत ८ वटै खेल जितेर १६ अंक जोड्दै शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका र अष्ट्रेलियाको समान १२ अंक छ । यस्तै त्यसपछि रहेका न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान तीनै टोलीको समान ८ अंक छ । यी तीन टोलीबीच नेट रेटरेटले मात्र छुट्याएको छ ।

जसमा न्युजिल्याण्डको रनरेट राम्रो छ । उसको प्लस ०.३९८ छ भने पाकिस्तानको प्लस ०.०३६ छ । यस्तै अफगानिस्तानको माइनस ०.३३८ छ ।

तीनै टोलीले चार खेल जित्दा चारमा पराजित भएका थिए । अब हुने तीन खेल तीनवटै टोलीका लागि महत्वपूर्ण छ ।

आज न्युजिल्याण्डले श्रीलंकासँग खेल्दैछ भने अफगानिस्तानले शुक्रबार दक्षिण अफ्रिका र  पाकिस्तानले शनिबार इंग्ल्याण्डसँग खेल्नैछ । तीनै टोलीका लागि सेमिफाइनल पुग्ने सम्भावना बाँकी छ र अन्य टिमको नतिजा पनि निर्णायक हुन सक्छ ।

कसका लागि के चाहिन्छ?

न्युजिल्याण्डले संघर्ष गरिरहेको श्रीलंकासँग बेंगलुरुमा खेल्दैछ । तर बिहीबार बेंगलुरुमा पानी पार्ने सम्भावना रहेकोले यो खेल मौसममा पनि भर पर्नेछ । न्युजिल्याण्डलाई प्रतियोगितामा रहिरहन यो खेल जित्नुपर्ने आवश्यकता छ ।

यस्तै पाकिस्तानले इंग्लयाण्डसँग खेल्दा सेमिफाइनल पुग्नका लागि जित्नैपर्ने अवस्था छ र अन्य खेलको नतिजा पनि भर पर्नेछ ।

न्युजिल्याण्ड र अफगानिस्तानको खेल पछि पाकिस्तानले खेल्ने हुँदा पाकिस्तानलाई कस्तो नतिजा चाहिन्छ त्यही अनुसार खेल्ने अवसर हुनेछ ।

यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको अफगानिस्तानका लागि भने जितको विकल्प छैन । अफगानिस्तानले सेमिफाइनल पुग्न दक्षिण अप्रिकालाई हराउनुपर्नेछ भने अन्य दुई खेलको नतिजा पनि हेर्नुपर्नेछ ।

भारत-पाकिस्तान सेमिफाइनल होला ?

दुई चिरपरिचित प्रतिद्वन्द्वी आयोजक भारत र पाकिस्तानबीच सेमिफाइनल खेल हुने सम्भावना पनि बाँकी छ ।

पाकिस्तानले इंग्ल्याण्डलाई ठूलो अन्तरले पराजित गर्दै न्युजिल्याण्ड र अफगानिस्तानलाई पछि पारेमा पाकिस्तानले सेमिफाइनलमा भारतसँग खेल्नुपर्नेछ ।

त्यसका लागि पहिले पाकिस्तानले अन्तिम लिग खेल जित्नुपर्नेछ ।

भारत शीर्ष स्थानमा रहने पक्का भइसकेकोले चौथो स्थानमा रहने टोलीसँग आउने बुधबार पहिलो सेमिफाइनल खेल्नेछ ।

दक्षिण अफ्रिका र अष्ट्रेलिया दोस्रो र तेस्रो स्थानमा रहने पक्का भएकोले अब भारतले चौथो स्थानको टोलीसँग सेमिफाइनल खेल्नेछ ।

दोस्रो सेमिफाइनल दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच आउने बिहीबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?