 
																			२३ कात्तिक, काठमाडौं । हामीले आफ्नो आवश्यकता अनुसार फोनमा विभिन्न खालका एपहरू डाउनलोड गर्दछौँ । यसरी फोनमा एप डाउनलोड गरेर प्रयोग गर्दा ती एपलाई आफ्नो फोनका विभिन्न डेटामा पहुँचको लागि अनुमति पनि दिनु पर्दछ । एपहरू चलाउनका लागि त्यस्तो अनुमति दिने शर्तहरू पालना नगरेसम्म एप चलाउन सक्दैनन् प्रयोगकर्ताले ।
हामी अधिकांशको बानी त्यस्ता एपहरूको मागेका अनुमतिका शर्तहरू नपढीकनै सिधै स्वीकार गरिदिएर अघि बढ्दछौँ । ती एपले आफ्ना कस्ता कस्ता डेटाहरूमा पहुँच राख्दछन् भन्ने कुराको हामीलाई खासै वास्ता हुँदैन ।
हालैको एक नयाँ अध्ययनमा यस्तै १ सय वटा एपहरूको विश्लेषण गरिएको छ । उक्त विश्लेषण अनुसार एप अनुमति मार्फत् प्रयोगकर्ताका सबैभन्दा धेरै डेटामा पहुँच राख्नेमा फेसबुक पहिलो स्थानमा छ ।
यो अध्ययनमा एप्पलको एप स्टोर तथा गुगल प्ले स्टोरका शीर्ष १० वटा एपलाई सामेल गरिएको थियो।
TRG Datacenters ले गरेको उक्त अध्ययन अनुसार प्रयोगकर्ताका डेटाहरू लिनेमा मेटा कम्पनी मातहतका एपहरू अग्रस्थानमा छन् । एप प्रयोगका लागि प्रयोगकर्ताका डेटामा सर्वाधिक पहुँच माग्नेमा फेसबुक पहिलो स्थानमा रहँदा दोश्रो स्थानमा मेटाकै इन्स्टाग्राम छ भने तेश्रो स्थानमा मेसेन्जर रहेको छ ।
मेटाका यी ३ एपहरूले प्रयोगकर्तासँग विभिन्न १४ प्रकारका अनुमतिमा स्वीकृति लिन्छन् । जसमा प्रयोगकर्ताको लोकेसन देखि ब्राउजिंग हिस्ट्री तथा कन्ट्याक्ट जस्ता जानकारीहरू पर्दछन् ।
प्रयोगकर्ताका सर्वाधिक डेटामा पहुँच राख्नेमा मेटा पछि गुगल कम्पनी रहेको छ ।
एपस्टोरमा चौथो स्थानमा रहेको गुगलको युट्युबले एप डाउनलोड गर्दा प्रयोगकर्तासँग १२ थरी डेटामा पहुँच माग्दछ । उता गुगल प्ले स्टोरमा चाहीँ फेसबुककै फेसबुक लाइट चौथो स्थानमा रहँदा गुगल र जिमेल पाँचौँ र छैटौँ स्थानमा छन् ।
एप स्टोरमा पाँचौँ स्थानमा लिंक्डइन छ भने छैटौँमा इन्स्टाकार्ट रहेको छ । एप्पलको एप स्टोरमा प्रयोगकर्ताका धेरै डेटामा पहुँच राख्नेमा टिकटक सातौँ स्थानमा रहेको छ । गुगल प्ले स्टोरमा टिकटक आठौँ स्थानमा छ ।
आइओएसका करीब २० वटा एपहरू मध्ये ९ वटा एपले ११ प्रकारका अनुमतिको माग गर्दछन् । टिकटकले पनि आइओएसमा ११ प्रकारका डेटामा पहुँच प्राप्त गर्दछ ।
गुगल प्ले स्टोरको कुरा गर्दा गुगल एक्लैले विभिन्न १३ प्रकारका डेटामा पहुँच राख्दछ ।
त्यस्तै साविकको ट्वीटर अर्थात् एक्सले पनि एन्ड्रोइड प्रयोगकर्ताबाट ११ प्रकारका डेटा लिन्छ । जबकि आइफोन प्रयोगकर्ताबाट भने उसले केवल ७ प्रकारका डेटामा पहुँचका लागि अनुमति माग्दछ
तथ्यांक अनुसार गुगल प्ले स्टोरका एपहरूले औषतमा ११ प्रकारका अनुमति लिने गर्दछन् । एजेन्सीको सहयोगमा
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4