२३ कात्तिक, काठमाडौं । सरकारले मूलपानी सहित तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा राखेर निर्माण अघि बढाउने निर्णय गरेको छ ।
नेपाल दोस्रो पटक टी–२० विश्वकप क्रिकेटमा स्थान बनाउन सफल भएपछि बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मूलपानी मैदान (तल्लो), मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेर अलपत्र रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गरेको हो ।
यो निर्णयअनुसार ३ देखि ४ वर्षमा तीन वटै क्रिकेट रंगशाला तयार हुने युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले जानकारी दिए ।
मूलपानी र बैजनाथपुर रंगशाला राष्ट्रिय खेलकुद परिषद राखेप मातहतमा छन् । राखेपकै रेखदेखमा रंगशाला निर्माण थालिएको भए पनि गति अत्यन्तै सुस्त छ ।
चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले बनाउन थालेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भने अलपत्र छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुभन्दा २ दिनअघि २१ कात्तिकमा यो रंगशाला चितवन महानगरपालिकाको ३० र बागमती प्रदेश सरकारको ७० प्रतिशत लगानीमा निर्माण गर्ने सम्झौता भएको थियो ।
गौचरन बनेको छ गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला
विराटनगर महानगरपालिका वडा नम्बर १९ स्थित बैजनाथपुरमा १५ विघा ५ कठ्ठा क्षेत्रफलमा रहेको रंगशालाको अहिले डीपीआरको काम भइरहेको छ ।
सरकारले डीपीरआरका लागि चालु आर्थिक वर्षको बजेटमा ३ करोड रुपैयाँ विनियोजन गरेको थियोे । त्यसअनुसार पुल्चोक इन्जिनियरिङ कलेज परामर्श सेवा शाखाले डीपीआर बनाइरहेको राखेप पूर्वाधार शाखाका इन्जिनियर प्रभात बरालले जानकारी दिए ।
२०५४ सालमै सरकारले यहाँ बहुउद्देश्यीय रंगशाला बनाउने भन्दै घोषणा गरेर २०५५ सालमा जग्गा अधिग्रहण गरेको थियो ।
किसानले धानखेत गरिरहेको जमिन सरकारले अधिग्रहण गरेपछि गौचरन बन्यो । त्यही गौचरनको एक भागमा पिच तयार गरेर सातौं राष्ट्रिय खेलकुदको क्रिकेट आयोजना गरियो । त्यसयता खासै केही काम भएको छैन ।

बैजनाथपुरमा क्रिकेट रंगशाला बनाउन २ अर्ब रुपैयाँ लाग्ने सरकारको प्रारम्भिक अनुमान छ ।
मूलपानी कहिले सकिने ?
मूलपानी (तल्लो) मैदानमा हाल ५ वटा ब्लक तयार भएको छ । राखेप इन्जिनियर बरालका अनुसार ड्रेसिङ रुम, भीआईपी र भीभीआईपी ब्लक र दुई वटा सामान्य पाराफिट बनिसकेको छ । डेढ महिनाभित्र पार्किङस्थलको काम पनि सकिनेछ ।
दुई दशकअघि निर्माण सुरु भएको यो मैदानमा पछिल्लो पटक १५ करोड रुपैयाँ बजेट परेको थियो । मूलपानीमै अर्को मैदान पनि छ ।
नेपाल क्रिकेट संघ क्यानको मातहतमा रहेको त्यो मैदानमा भने एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता समेत सञ्चालन भइसकेको छ । क्यानको केन्द्रीय कार्यालयसँगै जोडिएको माथिल्लो मैदानमा तल्लो मैदान जतिको पूर्वाधार भने छैन ।
गौतमबुद्ध रंगशाला
धुर्मुस सुन्तली फाउण्डेसनले सरकारले उपलब्ध गराएको २०७५ सालमा २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बनाउन थालेको थियो । रंगशाला बनाउन भनेर फाउन्डेशनले देश विदेशमा चन्दा उठायो, भरतपुरमै महापुराण लगायो ।
व्यक्तिगत रुपमा नभई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि सहयोगको घोषणा गरे । निर्माण सुरु गर्ने बेलामा ट्रिपर व्यवसायीले सित्तैंमा गिट्टी बालुवा समेत दिए ।

रंगशाला निर्माणको काम सुरु हुँदा मनोरञ्जनको लागि क्रिकेट प्रतियोगिता भयो । सेलिब्रेटी तथा क्रिकेटर नै पनि त्यहाँ क्रिकेट खेल्न पुगे । तर निर्माणको काम अघि बढ्दै गर्दा फाउन्डेसनले १७ करोड रुपैयाँ ऋण लागेको र सहयोगदाताबाट रकम नउठेको भन्दै १५ साउन २०७८ मा निर्माणको काम रोक्यो ।
रंगशाला निर्माणमा ५७ करोड ९२ लाख ८५ हजार ७३८ खर्च भएको छ, जसमध्ये १८ करोड ४३ लाख ऋण छ । फाउण्डेसनले रंगशाला निर्माण अघि बढाउन भरतपुर महानगरपालिकालाई गुहार मागेको थियो, तर ऋण कसले तिर्ने भन्ने विवाद लामो समय चल्यो । लामो समय काम रोकिएपछि मैदानभित्र काँस र सिरु फुलेका छन् । पिलरका लागि ठड्याइएका रडहरुमा खिया लागेकाे छ ।
राष्ट्रिय गौरवका आयोजनामा परेपछि के हुन्छ ?
पछिल्लो समय नेपालले क्रिकेटमा एकपछि अर्को सफलता पाएको छ । १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता जोगाएको नेपालले एसिया कपमा भारत र पाकिस्तान जस्ता बलिया टिमसँग खेल्यो । १० वर्षपछि टी–२० विश्वकपमा छनोट भयो । नेपालको अबको लक्ष्य एकदिवसीय विश्वकप खेल्ने र टेष्ट मान्यता पाउनेछ । तर अहिलेसम्म एउटा पनि सुविधासम्पन्न क्रिकेट रंगशाला छैन ।
थुप्रै रंगशाला निर्माण भइरहेपनि कामको गति निकै सुस्त छ । त्यसलाई ध्यानमा राखेर राखेपले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर काम अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो ।
हाल निर्माण कार्य सहज हिसाबले हुन नसकेको र बजेटका कारण अलपत्र परेकाले राष्ट्रिय गौरवको आयोजनामा सिफारिस गरिएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताए ।
‘राष्ट्रिय गौरवको आयोजनामा रंगशाला पर्नु हाम्रो लागि निकै गर्वको कुरा हो’ उनले अनलाइनखबरसँग भने, ‘आगमी दिनमा राज्यको बजेटको उच्च प्राथमिकतामा पर्ने रंगशालालाई हामीले सिफारिस गरेका हौं ।’
‘पूर्वमा विराटनगरमा एउटा रंगशाला चाहिएको थियो । त्यसैले गिरिजाप्रसाद कोइराला रंगशालालाई सिफारिस गयौं’ सदस्य सचिव घिसिङले भने, ‘काठमाडौंको हकमा मूलपानी लामो समयदेखि पूरा हुन नसकेको र गौतमबुद्ध जनस्तरबाट सुरु भएको रंगशाला पूरा होस् भन्ने उद्देश्यले सिफारिस गरेका थियौं ।’
बिहीबार मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत गरेको छ । खेलकुद मन्त्री लिम्बु भन्छन्, ‘पूर्वाधारमा अब पनि लगानी नगरे कहिले गर्ने ? यो उपयुक्त समय हो भनेर निर्णय गरेका हौं ।’
उनका अनुसार तिहार तथा छठ लगत्तै कार्यविधि बनाइनेछ । अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता दिएपछि बहुवर्षीय ठेक्का लाग्नेछ । ‘अहिले जति बजेट छ, त्यसअनुसार ठेक्का लगाउँदा निकै सुस्त काम भइरहेको छ’ उनले भने, ‘अब बहुवर्षीय ठेक्का लाग्छ र, ३ देखि ४ वर्षमा रंगशाला तयार गर्ने हाम्रो लक्ष्य छ ।’
 
                    










 २०८० कात्तिक  २३ गते २०:३१
                        २०८० कात्तिक  २३ गते २०:३१                     
                         
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4