+
+

शनिबार ‘दिमाग खराब’ उत्साहजनक, खगेन्द्र भन्छन्- चाडबाडमा आफ्ना फिल्म हेरौं

निश्चलले गरे वैकल्पिक राजनीतिको पक्षधरतालाई अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २५ गते २०:०८

काठमाडौं । ‘दिमाग खराब’ले शनिबार उत्साहजनक कमाइ गरेको छ । शुक्रबार औषत ओपनिङ गरेको फिल्म तिहारको पहिलो दिन शनिबार लयमा देखियो ।

काग तिहारको दिनमा प्रमुख मल्टिप्लेक्स र बजारमा अकुपेन्सी उत्साहजनक देखिएको छ । क्यूएफएक्सका १३ फ्रेन्चाइजीसहित आइएनआई, बिग, एफक्यूब, वान सिनेमाज्, मिडटाउनमा फिल्मको शनिबारीय कमाइ राम्रो रह्यो ।

शनिबार पनि बिहानी शोमा अकुपेन्सी कम रहेपनि दिउँसो, बेलुका र रात्री शोज सुखद देखिए । वितरक गोविन्द शाहीले ‘वर्ड अफ माउथ’ सकारात्मक रहेको र आगामी दिनमा अकुपेन्सीमा अझै वृद्धि हुने आशा राखेको बताए ।

आइतबार लक्ष्मीपूजाको दिनमा बलिउड फिल्म ‘टाइगर ३’ रिलिज हुने भएकाले स्वभाविकरुपमा चुनौति हुनेछ । तर, सकारात्मक दर्शकीय प्रतिक्रियाको फाइदा ‘दिमाग खराब’ले उठाउन सक्छ । सामाजिक संजालमा समेत समग्रमा निश्चल बस्नेत निर्देशित फिल्मको रिभ्यू सुखद छ ।

‘चाडबाडमा आफ्ना फिल्म हेर्न जरुरी छ’

शनिबार ‘दिमाग खराब’को टोली हल भ्रमण र दर्शकसँगको साक्षात्कारमा ब्यस्त देखियो । निर्देशक बस्नेतसहित कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, सुमन कार्की लगायत हल दौडाहामा ब्यस्त रहे ।

हल भिजिटको क्रममा फिल्म टोलीले मिडिया कुराकानी समेत गर्‍यो । अभिनेता लामिछानेले चाडबाडमा आफ्ना फिल्म हेर्न जरुरी रहेको बताए । यसो गर्न सकिए उद्योगको विकास र राम्रा फिल्म बन्ने आधार निर्माण हुने उनले बताए ।

खगेन्द्र भन्छन्- हाम्रो सिनेमालाई ग्रो गराउनलाई अरुको सिनेमा हेरेर हुँदैन । यो ध्रुवसत्य कुरा हो । तीतो लाग्ला तर आफ्नो सिनेमा आफै हेर्ने हो । यहाँको उत्पादन किन्नुभयो भने त्यो ग्रो हुन्छ । देश त्यसरी बन्ने आधार निर्माण हुन्छन् । त्यसकारण आफ्नो चाडबाडमा आफ्नो सिनेमा हेरौं ।’

जति धेरै दर्शकले फिल्म हेरे, त्यति नै नेपाली फिल्म उद्योगको विकास हुने र राम्रा फिल्म बन्ने आधार निर्माण हुने उनले बताए । ‘जति मान्छेले फिल्म हेर्नुभयो त्यति उद्योगको पनि विकास हुने र राम्रा फिल्म बन्ने आधार बन्दै जान्छन् । यसकारण राम्रा सिनेमा बनेको खण्डमा हलसम्म आएर यसलाई हेरिदिनुपर्ने हुन्छ । किनभने यो हाम्रो सिनेमा हो ।’

उनले ‘दिमाग खराब’ दर्शकको मनमा बस्ने र यसमा आफ्नो कथा प्रस्तुत भएको बताए । ‘फिल्म आएन र भएन भन्ने प्रवृत्ति छ । सयवटा फिल्म बन्दा केही मात्र मान्छेको मनमा बस्छन् । जतिपनि दर्शकले प्रतिक्रिया दिनुभयो- नेपाली दर्शकको मनमा बस्ने र आफ्नो कथा भएको फिल्म छ’ उनले भने ।

‘वैकल्पिक राजनीति’को पक्षधरता अस्वीकार

निर्देशक बस्नेतले ‘दिमाग खराब’को ब्यस्ता सकिएपछि आफू अर्को फिल्ममा ब्यस्त हुने बताए । अबदेखि फिल्म बनाउन ग्याप नराख्ने र अर्कोवर्ष अर्को फिल्म ल्याउने तयारी रहेको निश्चलले बताए ।

उनले दिमाग खराबको सिक्वेल नल्याउने स्पष्ट पारे । ‘सिक्वेल आवश्यकता अनुसार बनाउने हो । यसले राम्रो ग¥यो अब सिक्वेल बनाउनुपर्छ भन्ने मलाई लाग्दैन । मलाई केही नयाँ चीज गराउनुपर्छ भन्ने लाग्छ’ उनले भने ।

फिल्मले वैकल्पिक राजनीति र स्वतन्त्र उम्मेदवारको पक्षधरता लिएको भन्ने कतिपय टिप्पणीलाई निर्देशक बस्नेतले अस्वीकार गरे । ‘फिल्ममा एकजना स्वतन्त्र उम्मेदवार उठेको हुनाले सबै त्यतैतिर मात्र जोड्नुपर्छ भन्ने छैन । कसैले पनि भ्रष्टाचारविरुद्ध आवाज उठाउनु भनेको सायद रिभोलुसन पनि त्यही हो’ बस्नेतले भने ।

फिल्मले भ्रष्ट मान्छे रहिरहुञ्जेल जुनसुकै सर्वसाधारणले उसको विरुद्ध आफूलाई उभ्याउनुपर्ने सन्देश फिल्मले दिने निश्चलले बताए । अभिनेत्री खड्का र डेब्यु अभिनेता कार्कीले समेत दर्शकीय प्रतिक्रियाबारे टिप्पणी गरेका थिए ।

६ वर्षपछि निर्देशनमा फर्किएका बस्नेतले ‘दिमाग खराब’मा शक्ति र व्यवस्थासँग लड्ने आममान्छेको कथा पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?