+
+

निश्चल बस्नेतले ‘दिमाग खराब’को दोस्रो श्रृंखला २०८३ सालमा ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १४ गते १९:२०

काठमाडौं । निर्देशक निश्चल बस्नेतले पछिल्लो फिल्म ‘दिमाग खराब’को दोस्रो श्रृंखला ल्याउने घोषणा गरेका छन् । प्रदर्शनको ५१ औं दिन मनाउन शनिबार आयोजित समारोहमा उनले २०८३ सालको दशैंमा सिक्वेल ल्याउने बताए ।

यसबारे उनले भने, ‘ढुक्क हुनूस सिक्वेल आउँछ । २०८३ सालको दशैंमा आउँछ । हामीलाई लागेको र राष्ट्रको हितमा हुने विषय त्यसमा हुनेछ । अहिले भनिहाल्ने अवस्था छैन । तर, त्यो समयलाई टार्गेट गरेर आउँछ ।’

‘दिमाग खराब’ले न्यूरोडको रञ्जना सिनेप्लेक्समा प्रदर्शनको ५१ दिन मनाएको थियो । फिल्मले अहिलेसम्म १० करोड हाराहारीमा कमाइ गरेको निश्चलको भनाइ छ । कलाकार, निर्माता र वितरकले केक काटेर ‘दिमाग खराब’को सफलता सेलिव्रेट गरे ।

अभिनेता खगेन्द्र लामिछानेले ‘दिमाग खराब’ ५१ दिन मनाउने आफू अभिनित पहिलो फिल्म भएको बताए । ‘यो पहिलो फिल्म नै हो । यसअघि ४९ दिनसम्म मनाएको याद छ । एकदमै खुशि छु’ उनले भने । फिल्ममा लामिछानेको शीर्ष भूमिका छ ।

अभिनेत्री स्वस्तिमा खड्काले दर्शकीय प्रतिक्रियाले आफू उत्साहित रहेको बताइन् । ‘पहिलो साता हामीलाई निकै कठिन भएको थियो । स्लिपलेस नाइट रहे । निर्माता निर्देशक पनि आफ्नै घरको भएकाले ५१ दिनसम्म आइपुग्दा निकै उतारचढाव भोग्नुपर्‍यो’ उनले भनिन् ।

अभिनेता दयाहाङ राईले फिल्मले सयदिन मनाउने आशा व्यक्त गरे । ‘मैले अभिनय गरेको वर्षको पहिलो फिल्म जारीले १०० दिन मनाएको थियो । यसले पनि सयदिन पक्कै मनाउँछ । मुख्यतः हाम्रो कारणले गरेको कामको परिणाम सुखद आउनु ठूलो कुरा हो’ उनले भने ।

सो अवसरमा निर्माताले कलाकार र क्रिउलाई सम्मानपत्र वितरण गरेका थिए । तिहार छेकोमा यो फिल्म कात्तिक २४ गते देशब्यापी प्रदर्शन भएको थियो । नेपालसहित केही मुलुकमा समेत फिल्म चलिरहेको छ ।

निश्चल र अभिनेत्री स्वस्तिमा खड्का अष्ट्रेलिया प्रदर्शनको दौडाहा सकेर काठमाडौं फर्किसकेका छन् । फिल्मलाई अब भारतमा प्रदर्शन गर्न बाँकी रहेको जानकारी बस्नेतले दिए । फिल्मले व्यवस्थाविरुद्ध असन्तुष्ट आममान्छेको संघर्ष र शक्तिसम्मको यात्राको कथा पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?