+
+

नेपाल संवतको नयाँ वर्षको स्वागतमा काठमाडौं महानगरको सांस्कृतिक अर्केस्ट्रा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १२:४६

काठमाडौं । नेपाल संवत्को अवसरमा काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले वसन्तपुरमा शनिबार साँझ सांस्कृतिक अर्केस्ट्रा प्रस्तुत गरेको छ । महानगर स्वर्णिम योजनाको ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत अर्केस्ट्रा प्रस्तुत गरिएको पर्यटन महाशाखा प्रमुख श्रीजु प्रधानले जानकारी दिए । सोमबारबाट नेपाल संवत् ११४४ सुरु हुँदैछ ।

डबली पुनरुत्थान कार्यक्रमअन्तर्गत परम्परागत रुपमा सामाजिक क्रियाकलाप हुने गरेका डबलीहरुमा मौलिक प्रस्तुति तथा प्रदर्शनी गर्ने गरिएको प्रधानले बताए । यसै क्रममा बसन्तपुरको दश अवतार मन्दिर र डबलीमा सांस्कृतिक अर्केस्ट्रा कार्यक्रम गरिएको उनले बताए ।

नासः सृष्टि कलासँगको सहकार्यमा आयोजना गरिएको अर्केस्ट्रालाई बाद्यसम्राट न्हुच्छेबहादुर डंगोल र वरिष्ठ वाद्यगुरु धर्म मुनिकारले निर्देशन गरेका थिए ।  अर्केस्ट्रामा ११० जना कलाकारले २१ प्रकारका बाजामा १४ प्रस्तुति दिए ।

प्रस्तुतिमा द्यः ल्यायेगु (संगीतका गुरुको प्रार्थना)बाट अर्केस्ट्रा सुरु गरिएको थियो । यसमा तग्वः धिमे मुल बाजा हो । यससँग भुस्याः र घौ बाजा बजाइएको थियो । धुन्याप्वः मा तग्वः धिमे, धुन्या चाःहिकेगु मुख्य बाजा तथा भुस्याः र घौ सहायक बाजाका रुपमा बजाइएको थियो । धुन्या ज्यापू समुदायका युवाहरुलाई १२ वर्षमा एक पटक प्रशिक्षण दिइन्छ । छोरीलाई गुफा राखेर सूर्य दर्शन गराए जस्तै छोराहरुलाई बलाछ्व्ये गराएर प्रशिक्षण दिने गरिएको सांस्कृतिक महानगर स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकारले जानकारी  दिए ।

निस्तेनाथ ग्वारा बसन्त ऋतुबाहेक अन्य ऋतुमा बादन तथा गायन गरिन्छ । दाफा संगीतभित्र ग्वारा र चाली गरी दुई प्रकारका गायन र बादन हुन्छ । यसको मुख्य बाजा खिं हो । साथै ताः, बबु र पोंगा बजाइन्छ । नेवार समुदायमा सगुन दिंदा, कसैलाई स्वागत गर्दा, फूलमाला गर्दा जस्ता शुभ कार्य गर्दा मंगल धुन बजाउने चलन छ । धिमे मुख्य बाजा र भुस्याः सहायक बाजा रहेको यो गायन तथा वादन वर्षौंदेखि जनबाद्य (सेतो मच्छिन्द्रनाथ) को भजन घरमा बादन र गायन गरिंदै आएको मुनिकारले बताए ।

दशैंको कोगाज्रत पूर्णिमापछिको एक महिना धनाश्री जति राग बादन तथा गायन गर्ने चलन रहँदै आएको छ । यसअघिका करिब दुई महिना मालश्री धुन बजाउने तथा यस रागमा गाउने चलन छ । यसका लागि पछिमा मूल बाजा र ताः, झ्याली सहायक बाजाका रुपमा बजाइएको थियो । यो नेपाल संवतका अवसरमा मैतिदेवी जात्रामा बजाइन्छ । जात्रा मालीगाउँदेखि मैतिदेवी र मैतिदेवीदेखि मालीगाउँसम्म चलाउने गरिएको छ । यसमा गायन हुँदैन, बादन मात्र हुन्छ । झीगु खः नेपाल संवत् बोलको गीत अर्केस्ट्रामा समेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?