+
+

लक्ष्मीपूजाको दिन घर जल्दा लाखौं क्षति, मोरङमा ४ प्रहरीसहित २८ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते ९:४७

२७ कात्तिक, काठमाडौं । लक्ष्मी पूजाका दिन मोरङ, सुनसरी, संखुवासभा लगायतका जिल्लामा भएका आगलागीमा लाखौंको क्षति भएको छ ।

मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरी र २४ जना सर्वसाधारणसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार र दुई जना जवान घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको झापाको बीएमसी, विराट नर्सिङ होम, आर्या, रेडप्लस, लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालका अनुसार स्थानीय दीपक कार्कीको घरमा आगो लागेपछि ग्यास सिलिण्डर विष्फोट भएको थियो । त्यसबाट बाटोमा हिँडिरहेकाहरु समेत घाइते भएको दाहालले बताए । ‘घाइतेहरुमध्ये कसै–कसैको ५० प्रतिशतसम्म शरीर जलेको छ,’ दाहालले भने ।

आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण पनि आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

इनरुवामा पटाका पड्काउँदा घर जल्यो

गएराति सुनसरी सदरमुकाम इनरुवा-१ को मुख्य बजारमा वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी हुँदा ५० लाख मूल्य बराबरको क्षति भएको छ ।

सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटाका जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्णरुपमा जलेर नष्ट हुँदा करिब ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको उनले बताए ।

इनरुवा, दुहबी, धरान, कोसी, इटहरी, देवानगञ्ज, रामधुनीलगायतका स्थानबाट आएका बारुणयन्त्र सहित स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा नगर प्रहरीलगायतका सहयोगमा आगो निभाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संखुवासभामा दियोबाट सल्कियो आगो

यसैगरी संखुवासभा सदरमुकाम खाँदबारी नगरपालिका-१ हिमावी टोलस्थित लिला राईको घरमा लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्किँदा घर पूर्णरुपमा क्षति भएको छ ।

संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले दिएको जानकारी आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा, खाद्यान्न, नगद ३१ हजार र घर परिसरमा पार्किङ गरी राखिएको एक अटो जलेका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?