+
+

विश्वकप खेलेका खेलाडीले पनि खेल्नेछन् एनएसएल, ड्रोग्बा पनि आउँदै

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० कात्तिक २८ गते १४:५९
एनएसएलका मार्की प्लेअरहरु ।

२८ कात्तिक, काठमाडौं । २४ नोभेम्बर अर्थात ८ मंसिरमा हुने नेपाल सुपर लिग (एनएसएल) यसवर्ष विशेष हुँदैछ, जहाँ उपस्थित हुँदैछन् आइभरीकोस्टका चर्चित फुटबल खेलाडी डिडियर ड्रोग्वा ।

खेल जीवनपछि डिडियर ड्रोग्वा फाउन्डेसनमार्फत सामाजिक सेवामा लागेका ड्रोग्बाले एनएसएलसँग मिलेर जाजरकोट भूकम्पका पीडितलाई २० लाख रुपैयाँ पनि सहयोग गर्दैछन् ।

एनएसएलले ड्रोग्बाको नेपाल भ्रमण मात्र जुराएको छैन । आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ  (एन्फा) को प्राविधिक सहयोगमा गर्न लागेको एनएसएलको दोस्रो संस्करण पहिलो भन्दा विशेष हुँदैछ । किनकी पहिलो संस्करण कोभिड १९ को मारमा पर्दा दर्शकको उपस्थिति थिएन ।

दोस्रो संस्करणमा भने दर्शकको उपस्थितिसहित खेल हुने हुँदा यसको रोमाञ्चकता पक्कै बढ्नेछ । पछिल्लो समय शहीद स्मारक ए डिभिजन लिग कहिले हुने टुङ्गो नलाग्दा एनएसएले नेपालमा फुटबल माहोल फर्काउने धेरैको आशा छ, खेलाडीहरु पनि उत्साहित छन् ।

६ पुरानो ३ नयाँ टोली

एनएसलको पहिलो संस्करणमा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा काठमाडौं रेजर्स एफसीले धनगढी एफसीलाई पराजित गरेर उपाधि जितेको थियो ।

पहिलो संस्करणमा यी दुईसहित ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, एफसी चितवन, विराटनगर सिटी एफसी र बुटवल लुम्बिनी एफसी सहभागी थिए ।

दोस्रो संस्करणमा झापा एफसी, स्पोर्टिङ इलाम डी मेची र वीरगञ्ज युनाइटेड थपिएका छन् । तर पहिलो संस्करण खेलेको विराटनगरले दोस्रो संस्करण नखेल्ने जनाएपछि कूल ९ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

९ टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र क्वालिफायर र फाइनल गरी कूल ४० खेल हुनेछ र अन्तिममा एक टिम च्याम्पियन बन्नेछ ।

साविक विजेता काठमाडौं रेजर्सले उद्घाटन खेलमा नयाँ टोली स्पोर्टिङ इलाम डी मेचीसँग प्रतिस्पर्धा गर्नेछ ।

१४ पुस अर्थात ३० डिसेम्बरसम्म चल्ने एनएसएलमा ६ दिन दुई-दुई खेल हुनेछन् भने अन्य दिन एक खेल मात्र हुनेछ ।

ब्राण्ड एम्बासडर बनाउने होड

एनएसएलको सहभागी टोलीहरुले खेलको तयारीका साथै आफ्नो प्रचारका लागि ब्राण्ड एम्बासडर समेत बनाउन थालेका छन् । जसमा ललितपुर सिटी, झापा एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी अघि छ ।

ललितपुर सिटीले नेपाली महिला राष्ट्रिय बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठलाई आफ्नो ब्राण्ड एम्बासडर बनाएको छ । यस्तै साविक उपविजेता धनगढीले आफ्नै क्षेत्रकी कलाकार तथा टिकटक स्टार मिस पविलाई ब्राण्ड एम्बासडर बनाएको छ ।

यस्तै झापाले राष्ट्रिय टिमका पूर्वस्टार स्ट्राइकर तथा कप्तान हरि खड्कालाई ब्राण्ड एम्बासडर बनाएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका लिजेण्ड क्रिकेटर शक्ति गौचन बुटवल लुम्बिनीको ब्राण्ड एम्बासडर छन् ।

तीन टिममा विदेशी प्रशिक्षक

पहिलो संस्करणको एनएसएलमा विराटनगरको प्रशिक्षकको रुपमा यान ल मात्र विदेशी प्रशिक्षक थिए । यस्तै नेपाली मूलका अमेरिकन नागरिक प्रदीप हुमागाईंले ललितपुर सिटीको प्रशिक्षण सम्हालेका थिए । यस पटक ९ मध्ये ३ टोलीमा विदेशी अनुभवी प्रशिक्षक अनुबन्ध भएका छन् ।

ललितपुर सिटीले यस सिजन अष्ट्रेलियन इयान आन्द्रे गिलियनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । यस्तै झापा एपसीले स्पेनका ओरिएल मोहेडानोलाई मुख्य प्रशिक्षक बनाएको छ । एफसी चितवनले पनि भारतीय मेहराजुद्दिन वाडुलाई मुख्य प्रशिक्षकको रुपमा भित्र्याएको छ । चितवनले सुरुमा भारतका खालिद जमिललाई मुख्य प्रशिक्षक नियुक्त गरेपनि आपसी सहमतिमा सम्झौता रद्द गरिएको थियो ।

यस बाहेक ६ टोलीमा नेपाली प्रशिक्षक नै छन् । जसमा बालगोपाल महर्जन साविक विजेता काठमाडौं रेजर्समा यथावत छन् । यस्तै नविन न्यौपाने पोखरा थण्डर्स र युगल किशोर राई धनगढी एफसीमा निरन्तर छन् ।

यसअघि पहिलो संस्करणमा चितवनका प्रशिक्षक रहेका मेघराज केसी यस पटक स्पोर्टिङ इलाम डी मेची र गत सिजन बुटवल लुम्बिनीका प्रशिक्षक रहेका सनोज श्रेष्ठ यस पटक वीरगञ्ज युनाइटेडमा प्रशिक्षक बनेका छन् । बुटवलले भने विजय महर्जनलाई मुख्य प्रशिक्षक बनाएको छ ।

मार्की प्लेअरमा युवाको बाहुल्य

पहिलो संस्करणको एनएसएलमा अनुभवी र चर्चित खेलाडीहरु मार्की प्लेअर बनेका थिए । तर पछिल्लो समय फुटबल खेलाडी अष्ट्रेलिया जाने क्रम बढेपछि अहिले मार्की खेलाडीमा युवा खेलाडीहरुको बाहुल्य छ ।

संयोग के छ भने पहिलो संस्करणमा ट्यालेन्ट हन्टबाट पोखरा थण्डर्समा समावेश भएका आयुष घलान अहिले पोखराकै मार्की प्लेअर बनेका छन् ।

यस्तै राष्ट्रिय टिममा प्रवेश पाएको एक वर्ष पनि नबित्दै फरवार्ड आशिष चौधरी धनगढी एफसीको मार्की बनेका छन् ।

त्यस्तै अर्का युवा फरवार्ड हिसुव थपलिया काठमाडौं रेजर्सको मार्कीमा छन् । अर्का युवा खेलाडी एरिक विष्ट बुटवल लुम्बिनीको मार्की छन् भने गोलिकपर दिप कार्की वीरगंजको मार्की  प्लेअर बनेका छन् ।

पहिलो संस्करणमा मार्की नरहेका अनन्त तामाङ यस पटक ललितपुर सिटीको मार्की प्लेअर बनेका छन् । सुरुमा मार्की बनेका विमल घर्ती मगर अष्ट्रेलिया गएपछि ललितपुरले अनन्तलाई मार्की बनाएको हो ।

पहिलो संस्करणमा मार्की रहेका अञ्जन विष्ट  र गोलकिपरद्वय विशाल श्रेष्ठ र विकेश कुथु मात्रै दोस्रो संस्करणमा मार्की छन् ।

विशाल एफसी चितवन, विकेश इस्पोर्टिङ इलाम डी मेची तथा अञ्जन  झापा एफसीका मार्की प्लेअर छन् । यस पटक तीन गोलकिपर मार्कीमा छन् । पहिलो संस्करणमा पोखराका मार्की रहेका नवयुग श्रेष्ठ र चितवनका मार्की रहेका भरत खवास भने यस पटक अक्सनबाट स्पोर्टिङ इलाम डी मेचीमा अनुबन्ध भएका छन् ।

अष्ट्रेलिया पलायन भएका चार खेलाडी पनि आइकोनिक प्लेअरको रुपमा नेपाल फर्किएका छन् । जसमा विमल घर्ती मगरलाई चितवनले आइकोनिक प्लेअर बनाएको छ । यस्तै बुटवल लुम्बिनीले आफ्नै पूर्व खेलाडी आशिष लामालाई, वीरगञ्जले तेज तामाङ र पोखराले दिनेश राजवंशीलाई आइकोनिक प्लेअरको रुपमा अनुबन्ध गरेको छ । अन्य टोलीले भने मार्की तोकेको छैन ।

नेपाली राष्ट्रिय टिमका कप्तान किरण कुमार लिम्बु र डिफेण्डर रोहित चन्द भने विदेशी क्लबमा लिग खेलिरहेकोले एनएसएलसँग जोडिएका छैनन् । पहिलो सिजनमा किरणले धनगढी एफसीबाट खेलेका थिए ।

विश्वकप खेलेका खेलाडी पनि

पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा दोब्बर बढी विदेशी खेलाडी एनएसएल खेल्न आउँदैछन् । जसमा अफ्रिकी राष्ट्रका खेलाडी धेरै छन् । यस्तै यस पटक विश्वकप खेलिसकेका र युरोपियन लिगहरुमा खेलाडी पनि नेपाल आउँदैछन् ।

जसमा सन् २०१४ मा ब्राजिलमा भएको पिफा विश्वकप खेलेका घानाका खेलाडी अफ्रियिए एक्वाह छन् । पोर्चुगल विरुद्ध २-१ ले पराजित भएको खेलमा उनले वैकल्पिक खेलाडीको रुपमा विश्वकपमा डेब्यु गरेका थिए ।

पहिलो सिजनमा सहभागी टोलीले ३ मात्र विदेशी खेलाडी राख्न पाउने नियम थियो । तर यस पटक त्यो संख्या बढाएर ५ बनाइएको छ । सहभगी ९ टोलीले ५-५ विदेशी खेलाडी राख्दा कूल ४५ खेलाडी एनएसएल खेल्न आउनेछन् । यसमा दुई तिहाई भन्दा बढी अफ्रिकन खेलाडी छन् । त्यसबाहेक युरोप र एसियाका खेलाडीहरु छन् ।

अहिलेसम्म धेरै टोलीले आफ्नो विदेशी खेलाडीको नाम घोषणा गरिसकेका छन् र त्यसमा धेरै जसो नेपाल आएर टिममा सामेल भइ प्रशिक्षण समेत थालिसकेका छन् ।

साविक विजेता काठमाडौं रेजर्सले उज्वेकिस्तानका कोमिलजोन तोज्हिडिनोभ र सोदरुख मकामुद्कोजिभ, क्यामरुनका ओलिभर किनगुए र जुनियर एन किनगुए । घानाका स्टेफेन अबेइकु अक्वाहलाई विदेशी खेलाडीमा अनुबन्ध गरेको छ ।

ललितपुर सिटीले  फ्रान्सको दोस्रो, तेस्रो र चौथो श्रेणीको फुटबलमा अनुभव लिइसकेका गोलकिपर जेफ्रे बाल्टस, फ्रान्सकै फरवार्ड इबोउ केबे र नाइजेरियन डिफेण्डर ओमोलाजा करिमलाई विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको छ । बाँकी दुई खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।

साविक उपविजेता धनगढी एफसीले घरेलु फुटबलमा चम्किएका नाइजेरियन फरवार्ड ओलावाले आफिजलाई निरन्तरता दिएको छ । यस्तै युरोपियन लिग खेलिसकेका सेगेनलका फालोउ डियाग्ने र इंग्लयाण्डका ट्रे विलियम्सलाई पनि भित्र्याएको छ । यस्तै घरेलु लिग खेल्दै आएका लेवनानी गोलकिपर मोहमम्द ताह र घानाका रिचर्ड ओसेई अग्यमाङलाई पनि अनुबन्ध गरेको छ ।

एफसी चितवनले विश्वकप खेलिसकेका घानाका अफ्रिइए अक्वाह, घानाकै युसिफ मुबारिक, स्पेनिस डिफेण्डर इभान गोन्जालेज र घानाका रफिक अमिनु र टोरिक जेब्रिनलाई अनुबन्ध गरेको छ ।

पोखरा थण्डर्सले भने विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छैन ।

यस्तै बुटबलले नेपालको घरेलु फुटबलमा राम्रो खेलिरहेका साविक विजेता काठमाडौं रेजर्समा रहेका क्यामरुनका स्टेफन विनोङलाई अनुबन्ध गरेको छ । यस्तै क्यामरुनकै डिफेन्सिभ मिडफिल्डर सर्ज निकोलस सङ तथा आइभोरीकोस्टको उमेर समूहबाट खेलिसकका गोलकिपर कोउसी क्रिस्टियनलाई अनुबन्ध गरेको छ ।

नयाँ टोलीहरु मध्ये झापाले उज्वेकिस्तानका सेन्टर ब्याक सामन्दर ओचिलोभ र सर्बियाको उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका गोलकिपर स्टेफन क्युफिकलाई अनुबन्ध गरेको छ ।

स्पोर्टिङ इलाम डी मेचीले भने पाँच विदेशी खेलाडीलाई नेपाल भित्र्याइसकेपनि नाम सार्वजनिक गरेको छैन ।

यस्तै वीरगञ्ज युनाइटेडले घानाका चार खेलाडी विलियम ओपोकु, ओबेड ओउसु, हान्स केओफी र अइकिन्स काइ बाफोउर तथा कंगोका सामाला डीजाडेलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?