+
+

मर्दी हिमाल पदमार्गमा पर्यटक सूचना केन्द्र   

रासस रासस
२०८० मंसिर १ गते ११:५५
फाइल तस्वीर

१ मंसिर, कास्की । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्ग पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

मर्दी हिमालसहित माछापुर्च्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर पदयात्रामा मिल्ने भएकाले बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

छोटो समयमा साहसिक पदयात्राको आनन्द लिन पाइने भएपछि पर्यटक मर्दी उक्लिने गरेका छन् । एक दशकअघिसम्म गुमनाम जस्तै रहेको मर्दी पदयात्रामा पर्यटक बढेसँगै पर्यटकीय पूर्वाधार निर्माण सुरु गरिएको छ ।

यस पदमार्गमा आउने पर्यटकलाई आवश्यक सूचना तथा जानकारी प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे गाउँपालिकाले पर्यटक सूचना केन्द्र निर्माण सुरु गरेको छ । देश विदेशबाट पदयात्रामा पाउने पर्यटकलाई व्यवस्थित गर्ने र उनीहरुलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले केन्द्र निर्माण अघि बढाइएको हो ।

पालिकाको ५५ प्रतिशत र जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले ४५ प्रतिशत लगानी गरी ३० लाख रूपैयाँ लागतमा सूचना केन्द्र निर्माणको काम सुरु भएको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताइन् । उनका अनुसार सूचना केन्द्रबाट पर्यटकलाई पदमार्गका बारेमा आवश्यक जानकारी तथा पर्यटकको तथ्यांक संकलनमा सहयोग पुग्नेछ ।

उपाध्यक्ष अधिकारीले भनिन्, ‘मर्दी ट्रेकिङ रुट अहिले पदयात्रा रुचाउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा परेको छ । पदयात्रामा आउने पर्यटकलाई आवश्यक जानकारी तथा सूचना प्रदान गर्नका लागि सूचना केन्द्र निर्माण सुरु गरेका छौँ ।’

गाउँपालिकाले पर्यटक सूचना केन्द्र निर्माणसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई सहज हुने विश्वास लिइएको छ । पर्यटकीय गतिविधि बढेसँगै मर्दी पदयात्रामा बर्सेनि नयाँ होटल तथा रेष्टुरेन्ट थपिनेक्रमसमेत वद्धि भएको छ ।

सूचना केन्द्रबाट मर्दी ट्रेकिङ रुटको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । जंगलको बाटो हुँदै उकालो चढेर दुई हजार नौ सय ७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।

माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाटसमेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?