+
+

सैनिक चेकपोष्ट नजिकै गैंडा मार्न सफल भए तस्कर

सुवास पण्डित सुवास पण्डित
२०८० मंसिर १ गते २०:५८

१ मंसिर, काठमाडौं । कात्तिक २२ गते चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चाडपर्वमा हुन सक्ने चोरी सिकारी रोक्न कडा सुरक्षा व्यवस्था मिलाएको दावी गरे ।

प्रमुख संरक्षण अधिकृत पुनले सञ्चारमाध्यममा चाडपर्व लक्षित कडा सुरक्षा योजना लागु गरेको बताइरहँदाको बखत निकुञ्जभित्र तस्करहरुले गैंडालाई धराप थापेर मारेको पुष्टि भएको छ ।

अझै गम्भीर कुरा त के छ भने, निकुञ्जको सुरक्षा पोष्टबाट ३ किलोमिटर नजिकै तस्करहरुले कयौं दिन लगाएर खाडल खन्ने र गैंडा मार्ने काम गर्दासमेत निकुञ्ज र सेनाले पत्तो पाएन ।

निकुञ्जको पूर्वी सेक्टर सौराहा अन्तर्गत चपरचुली सुरक्षा पोष्टबाट नजिकै तस्करले खनेका एक सय मिटर दूरीका दुईवटा खाडलमा विभत्स तरिकाले गैंडा मरेको दृश्यहरु देखिन्छ । निकुञ्जको हात्तीसहितको सुरक्षा गस्ती टिमले दुई गैंडा मारेको अवस्थामा भेटेको थियो ।

चुरेको फेदीको अनकन्टार जंगलमा तस्करहरुले १८ वर्ष र ६ वर्षको पोथी गैंडा मारेर खाग र खुर लिएर गएका छन् । १८ वर्षको गैंडा १० दिन अगाडि र बच्चा ४ दिन अगाडि मात्रै मारेको अनुमान छ । उनीहरु माउ बच्चा हुन सक्ने आशंका छ ।

ठूलो गैंडा खाडलको तल्लो भागमा मुख जोतिएर मुन्टो भाँचिएर मरेको र सानो गैंडा कुनै वस्तुले आक्रमण गरेर मारेको आंशका छ । गत वर्ष माघमा चितवन निकुञ्जको पश्चिम क्षेत्र नवलपरासी मध्यविन्दु नगरपालिका–२ नारायणी किनारमा तस्करले करेन्ट लगाएर दुईवटा गैंडा मारेर खाग काटेका थिए ।

गैंडा मारेर खाग कारोबार गर्नेहरुलाई निकुञ्जले पक्राउसमेत गरेर थुनामा पठाइएको छ ।

यसपटक तस्करहरुले सानो गैंडालाई खाडल खनेर मारेको भेटिएको छ । खाडलमा परेको गैंडाको पिठँयूबाट छालासमेत काटेर माटो दलेर छाडिदिएका छन् । खाग गैंडा कै भएको प्रमाणका लागि छाला लगेको हुन सक्ने अनुमान गरिएको छ । सानो गैंडा मारेको खाडलको १५/२० मिटर पर घोल छ ।

घोल नजिकै तस्करले खाडल खनेर गैंडा मार्नु निकै चुनौतीपूर्ण मानिने निकुञ्जका अधिकारीहरू बताउँछन् । चुरे पहाडको फेदीमा पुरानो तरिका अपनाएर व्यावसायिक तस्करहरूले गैंडा मार्न सफल हुँदा निकुञ्ज प्रशासनले सुइकोसमेत पाउन सकेन ।

निकुञ्जको सुरक्षा खड्कदल गणले गर्दै आएको छ । निकुञ्ज भित्र सेनाका ६७ सुरक्षा पोष्ट छन् । यो पोष्टमा मात्रै झण्डै २० जना सैनिक बस्छन् । तर, सेनाको पोष्ट नजिकै तस्करले खाडल खनेर एउटा गैंडा अन्दाजी १० दिन र अर्को गैंडा ४ दिन अगाडि मार्दासमेत सेनाले थाहा नपाउनु गम्भिर सुरक्षा लापरबाही भएको निकुञ्जका एक पूर्व संरक्षण अधिकृतले अनलाइनखबरलाई बताए ।

यो क्षेत्रमा तस्करले गैंडा फसाउन चार बटा खाडल बनाएका छन् । ती सबै खाडल निकुञ्जले पुरेको छ । तस्करहरूले एउटा खाडल गैंडा मात्रै फस्ने गरि बनाएका छन् भने अर्को खाडल अलि ठूलो बनाएका छन् । खाडलको माटो अन्यत्र लगेर फालेको घटनास्थलमा देखिन्छ । एक सय मिटरको फरकमा बनाइएका खाडलमा गैंडा परेका थिए ।
गैंडा सधै प्रायः एउटै बाटो भएर हिँड्छन् । गैंडा हिड्ने बाटोको पहिचान गरेर वा गैंडालाई अन्यत्रबाट तर्साएर छेकेर सो बाटोमा हिड्न बाध्य बनाएर खाडलमा खसालेर विभत्स तरिकाले मारेको हुनसक्ने निकुञ्जका एक पूर्व संरक्षण अधिकृतले बताए ।

‘गैंडा मार्नका लागि तस्करहरुले कति दिन लगाएर खाडल खने, खाडल खन्ने सामाग्रीहरू लिएर निकुञ्ज भित्र गए, माटो अन्यत्रै लगेर फाले, खाडल खन्ने वित्तिकै पनि गैंडा त्यहाँ परेनन् होला’, निकुञ्जका पूर्व संरक्षण अधिकृतले भने, ‘तस्करले एउटा मात्रै नभई ४/४ वटा नयाँ पुराना खाडल खनेर यतिका हर्कत गर्दा पनि नजिकै रहेको पोष्टले थाहा नपाउनु आफैंमा लज्जास्पद र गम्भिर लापरवाही हो, यस्तो दुर्दशा कहिल्यै देख्न पाइएको थिएन ।’

गल, गैंची, माटो फाल्ने सावेल र अन्य सामग्री लिएर झण्डै आधा दर्जन जति व्यक्ति निकुञ्जको कोर क्षेत्रमा पसेर मजाले आफ्नो काम फत्ते गर्दा निकुञ्ज प्रशासनको सुरक्षा कहाँ थियो भन्ने प्रश्न खडा भएको उनको भनाइ छ ।

यो क्षेत्रमा आफैंमा सम्वेदनशील क्षेत्र हो । माओवादी युद्धका समयमा सबैभन्दा बढि गैंडा यहीँ क्षेत्रमा मारिएका थिए । तस्करले एकै वर्ष ३८ वटासम्म गैंडा मारेका थिए, अधिकांश गैंडा पूर्वी सेक्टरमा नै मारिएका थिए । सुनाचुरी खोलैखोला, भण्डाराबाट तल खगेन्द्रमल्ली वा पूर्वबाट तस्करहरु यो क्षेत्रमा पुगेका हुन सक्ने अनुमान छ ।

निकुञ्जको यही क्षेत्रमा गत भदौ १४ गते गैंडाको खाग भेटिएको थिएन, हाडखोर मात्रै भेटिएको थियो । सो गैंडा पनि तस्करहरुले मारेको हुन सक्ने आशंका गरिएको छ ।

निकुञ्जभित्र सुरक्षा सम्वेदनशीलता भएका र मानिसको चहलपहल धेरै हुने ठाउँमा लुकाएर क्यामरा राखिएको दावी निकुञ्जले गर्दै आएको छ । निकुञ्जका पूर्व अध्ययन प्रतिवेदनले समेत यो क्षेत्रलाई संवेदनशील क्षेत्र भनी पहिचान गरेको छ ।

तर, यहीँ नै सुरक्षा सतर्कता कमजोर भएको हुन सक्ने निकुञ्जका एक संरक्षण अधिकृतले बताए । सेना र निकुञ्ज प्रशासनको आपसी समन्वय नहुँदा यस्ता घटनाहरु दोहोरिने गरेका छन् ।

चितवन राष्ट्रिय निकुन्ज र मध्यवर्ती क्षेत्रमा चालु आ.व. २०८०/०८१ मा ८ वटा गैंडा मरेका छन् । ती मध्ये १ गैंडा तस्करले मारेको हो । गैंडा दुर्लभ वन्यजन्तु भएका कारण यसलाई मारेमा वा यसको अंगको कारोबार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । सन् २०२१ मा गरिएको गणनामा नेपालमा दुर्लभ एक सिङ्गे गैंडा ७५२ वटा रहेको तथ्यांक सार्वजनिक भएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैंडा छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?