 
																			२ मंसिर, बुटवल । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा केबलकारहरु अझ धेरै संख्यामा निर्माण गर्नुपर्ने बताएका छन् ।
हालसम्म नेपालमा केबलकार पर्यटकलाई यात्रा गराउने उद्देश्यले मात्र बनाइएको भन्दै उनले नेपाल जस्तो पहाड र हिमालको भू बनोट भएको मुलुकमा केबलकारलाई सडकको विकल्पमा ढुवानी र यातायातको माध्यम बनाउनुपर्ने बताएका हुन् ।
शनिबार बुटवल र पाल्पा जोड्ने लुम्बिनी केबलकारको अवलोकनपछि पत्रकारहरुसंग कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले नेपालमा केबलकारको संख्या बढ्दै गए विद्युत खपत पनि बढ्ने बताए ।
पहाडी क्षेत्रमा सडक बनाएर इन्धनबाट ढुवानी गर्नु धेरै महंगो पर्ने, ब्यापार घाटा वृद्धि हुने र वातावरण समेत प्रदूषित हुने भएकाले सरकारले केबलकारलाई प्रवद्र्धन गर्नुपर्ने उनको भनाइ छ ।
घिसिङले केबलकारहरुले नेपालमा पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जनासंगै स्वच्छ उर्जा खपतमार्फत वातावरण संरक्षणमा पनि योगदान गरिरहेको बताए । ‘केबलकारले पर्यटनमा टेवासंगै वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गरेको छ’, घिसिङले भने, ‘पहाडका चुनखानीहरुबाट सिमेन्ट उद्योगसम्म ढुवानी गर्न केबलकारहरु सबैभन्दा उपयुक्त विकल्प हुनसक्छ, त्यसतर्फ सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्छ ।’
सो अवसरमा घिसिङले केबलकारको टप स्टेशनमा रहेको बुटवल–पाल्पा ३३ केभीए प्रशारण लाइनको समेत निरीक्षण गर्दै करेन्ट लागेर हुनसक्ने सम्भावित दुर्घटना रोक्न बसन्तपुरमा एउटा पोल थप्न निर्देशन दिए ।
केबलकारका स्टेसन म्यानेजर डीएन कायस्थले लुम्बिनी केबलकारले प्रति महिना ६ लाख रुपैयाँको बिजुली खपत गरिरहेको बताए । उनले केबलकारले स्थानीयलाई प्राथमिकता दिई करिब सय जनालाई रोजगारी दिएको र प्रत्येक टिकट दरको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकालाई सेवा शुल्क वापत बुझाउंदै आएको जानकारी गराए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4