+
+

सुनचाँदीका गहना बोकेर ट्याक्सी चालक प्रहरीमा पुगेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १३:४५
Photo Credit : ट्राफिक प्रहरी

३ मंसिर, काठमाडौं । काठमाडौंको जडिबुटीबाट जम्मुडाँडासम्म जाने क्रममा यात्रुले ट्याक्सीमा छोडेका ४० लाख मूल्य बराबरका सुनचाँदीका गहना ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

बा २ ज ३४५३ नम्बरको ट्याक्सी चालक रोशन वयलकोटी स्वयम् सुनका गहना सुरक्षित लिएर आज बिहान ट्राफिक प्रहरी वृत्त गौशालामा सम्पर्क गर्न आएपछि ट्राफिक प्रहरीले गहना धनी पत्ता लगाएर हस्तान्तरण गरेको हो ।

जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४५३ नम्बरको ट्याक्सीमा करिब ७ तोला बराबरको सुन र ४ तोला बराबरको चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी संगिता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेकी थिइन् । सो खबर र लिखित निवेदनको आधारमा ट्राफिक प्रहरीले सिसिटिभी क्यामेराको सहायतामा ट्याक्सी खोजिरहेको थियो । त्यहीबेला ट्याक्सी चालक वयलकोटी आफैं गहना लिएर ट्राफिक प्रहरी वृत्त गौशालामा आएका थिए ।

त्यसपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आज सम्बन्धित धनीलाई उक्त गहना हस्तान्तरण गरेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सवारी साधनमा छुटेका धनमाल प्राप्त निवेदनका आधारमा खोजी गरेर धनीलाई बुझाउँदै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले जनाएको छ । गत साउनदेखि हालसम्म १३३ जना व्यक्तिले दिएको निवेदनको आधारमा ९९ जनाको धनमाल खोजी गरी ४० लाख ६ हजार ६२५ रुपैयाँ मूल्य बराबरको सामान सम्बन्धित धनीलाई बुझाइएको प्रवक्ता भट्टले बताए ।

आफ्नो धनमालको सुरक्षा गर्न र सवारी साधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० नम्बरमा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन पनि प्रहरी वरिष्ठ उपरीक्षक भट्टले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?