+
+

सिंहदरबार छिर्‍यो ट्राफिक प्रहरी, मुख्य समस्या रहेको पार्किङ नहेर्ने

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० चैत २६ गते ११:२९

२६ चैत, काठमाडौं । सिंहदरबार परिसभित्र ट्राफिक व्यवस्थापन भद्रगोल भएपछि ट्राफिक प्रहरीको छुट्टै युनिट खडा भएको छ ।

सिंहदरबारभित्र ट्राफिक सम्बद्ध समस्या बढ्दै गएपछि गृह मन्त्रालयले ट्राफिक युनिट नै राखेर व्यवस्थापनको प्रयास थालेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेलले सिंहदरबारभित्रका सडकमा ट्राफिक व्यवस्थापन हेर्न प्रहरी नायब निरीक्षकको नेतृत्वमा ५ जना ट्राफिक प्रहरी खटाइएको बताए । उनका अनुसार यसअघि सिंहदरबारको गेटहरुमा खटिनेसहित अहिले सिंहदरबारमा ट्राफिक प्रहरीहरुको संख्या १३ पुगेको छ ।

‘त्यहाँ सडकमा हुने सवारी व्यवस्थापन हेर्छौं,’ उनले भने, ‘हामी पार्किङसम्बद्ध विषय चाहिँ हेर्दैनौं ।’

सिंहदरबारभित्र ट्राफिक व्यवस्थापनको समस्या पुरानो हो । यहाँ सडकको दुवैतर्फ आधा–आधा भाग र सडक पेटीको पुरै भाग ढाकेर गाडी राखिनु सामान्य बनेको छ । काम विशेषले सिंहदरबारभित्र जानेहरु फुटपाथ ओगटेर पार्किङ गरिएका गाडीका कारण बीच सडकबाटै हिँड्नुपर्ने बाध्यता छ ।

भित्रका सडक क्षेत्रमा तीव्र गतिमा सवारी हाँक्ने र मूल सडक क्षेत्रमै असार पर्ने गरी सवारी नियम उल्लंघन गर्नेहरुलाई ट्राफिकले निगरानी गर्नेछ ।

मुख्य समस्या नहेर्ने

सिंहदरबारभित्रको मूल समसयाका रुपमा रहेको पार्किङ हेर्न ट्राफिक प्रहरीले अधिकार पाएको छैन । सिंहदरबारभित्र अनावश्यक कर्मचारी थुपार्ने र कर्मचारीलाई जथाभावी गाडी सुविधा उपलब्ध गराउने परम्पराले सिंहदरबारभित्र ट्राफिक व्यवस्थापन भद्रगोल हुने अवस्था आएको भएको कर्मचारीहरु नै बताउँछन् ।

मन्त्री, सचिव, विभाग र डिभिजनका हाकिमहरु रिझाएर अधिकृतहरुले समेत गाडी चढ्ने गरेका छन् । अझ मन्त्री निकटका कार्यकर्ताहरु पनि गाडी लिएर सिंहदरबार छिर्ने गर्दा समस्या थपिएको छ ।

यसैपनि सिंहदरबारभित्र व्यवस्थित फुटपाथ छैन । हिँड्दाहिँड्दै सडकपेटी नै हराउँछन् । कतिपय ठाउँमा आधा फिटका पेटी छन् । सडकपेटीमा रेलिङ समेत नहाल्दा अपांगता भएकाहरुलाई सास्ती छ ।

ह्विलचेयरमा सिंहदरबार जानेहरुलाई गाडी गुड्ने सडकमै ह्विलचेयर गुडाउनुको विकल्प छैन । सडक छेउबाट ह्वीलचेयर गुडाउने मिल्ने केही ठाउँमा पनि गाडी नै पार्किङ गरिएका हुन्छन् ।

अझ सिंहदरबारलाई ट्राफिक नियम नलाग्ने क्षेत्र घोषणा गरेर जथाभावी सवारी पार्क गर्दै अशक्त अपांग र पैदलयात्रीलाई पूर्णतः बेवास्ता गरिएको छ ।

फुटपाथ र सडकको एक छेउ ढाकेर गाडी राख्ने गर्दा पैदलयात्री सबैभन्दा धेरै समस्यामा पर्छन् । गाडीले ढाकिएका कारण फुटपाथ प्रयोगकर्तालाई जोखिम र सास्ती दुबै छ ।

मान्छे हिँड्नलाई बनाइएको पेटीभरि सरकारी गाडी र मोटरसाइकल हुन्छन् । प्रधानमन्त्री, मन्त्री, उच्च पदस्थ सरकारी अधिकारीको दैनिक आउजाउ हुने सिंहदरबारभित्रको यो हालतले अनुशासन र सभ्यतालाई गिज्याउने गरेको छ ।

सिंहदरबारबाहिरको सडक र पेटीमा यसरी गाडी राख्ने हो भने काठमाडौं महानगरपालिकाले उठाउँथ्यो, नभए ट्राफिक प्रहरीले जरिवाना गर्थ्यो । सिंहदरबारभित्रको ट्राफिक नियमविपरीतका पार्किङ लगायतका गतिविधिहरू ती निकायले पनि टुलुटुलु हेर्न बाध्य छन् । भीआईपीको गाडी सडकमा पार्किङ हुँदा सिंहरदबारभित्र ट्राफिकलाई जरिवाना गराउने अधिकार छैन ।

आधा सडक र फुटपाथ ढाकिने गरी पार्किङ गरिने गाडी धेरैजसो उच्चपदस्थ सरकारी अधिकारीले चढ्ने सरकारी नम्बर प्लेटका हुन्छन् । संघीय संसद सचिवालय, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कृषि तथा पशुपंक्षी, भौतिक पूर्वाधार, शहरी विकास, अर्थलगायतका मन्त्रालय अगाडि पार्किङका यस्ता समस्या बढी छन् ।

यसरी फुटपाथ र सडक ढाकिने गरी गाडी राखिएका ठाउँमा कतै कतै त ‘नो पार्किङ’ लेखेको बोर्ड पनि राखिएका देखिन्छन् । ट्राफिक प्रहरीले मन्त्रालयको अगाडि हुने जथाभावी पार्किङ नियन्त्रणको जिम्मा पनि सम्बन्धित मन्त्रालयको नै हुने बताउँदै आएको छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?