१९ असोज, काठमाडौं । स्कुटरले ठक्कर दिँदा काठमाडौंको तिनकुनेमा एक जना ट्राफिक प्रहरी घाइते भएका छन् ।
तिनकुने सडक-खण्डको गैरीगाउँबाट कोटेश्वर तर्फ जाँदै गरेको बा.प्र. ०२–०५० प ४६०५ नम्बरको स्कुटरले ड्यूटीमा खटिएका प्रहरी जवान नवीन तामाङलाई ठक्कर दिएको हो ।
घाइते २३ वर्षका तामाङको सिभिल अस्पतालमा उपचार भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ताका नरेशराज सुवेदीले जानकारी दिए । तामाङका दुवै गोडा र कम्मरमा सामान्य चोट लागेको छ ।
उता, कपनमा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार, कपनको भृकुटी चोकमा बा ७७ प ९२३० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
स्कुटर सडकको किनारमा गहेको बिजुलीको पोलमा ठोक्किन पुगेको थियो । दुर्घटनामा परी स्कुटर चालक २३ वर्षका टपेन्द्र कुमार राई र पछाडि सवार २५ वर्षका कर्म ग्यालजेन शेर्पा दुवै घाइते भएका छन् ।
दुवै घाइतेहरू ओखलढुंगा निवासी हुन् । प्रहरीका अनुसार, चालक राईको नाक र टाउकोमा चोट लागेको छ र बोल्न नसक्ने अवस्थामा छन् । शेर्पाको भने टाउकोमा सामान्य चोट छ ।
प्रतिक्रिया 4