+
+

इन्ड्राइभ र अफलाइन राइडर ट्राफिक प्रहरीको निशानामा

९ महिनामा १८ हजार मोटरसाइकल चालकलाई जरिवाना

नारायण अधिकारी नारायण अधिकारी
२०८१ वैशाख ९ गते १९:१२

९ वैशाख, काठमाडौं । गत २२ चैतको बेलुका बौद्धको नयाँबस्तीस्थित पहेँलो पुलमा इन्ड्राइभ एपमार्फत राइड सेयरिङ गर्दै आएका १० जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले जनही दुई हजार रुपैयाँ जरिवाना गर्‍यो ।

मोटरसाइकल चालकले ग्राहकसँग मोलमोलाइ गरेर अफलाइनमा राइड सेयरिङ गरेको पाएमा ट्राफिकले कारबाही गर्ने गरेको थियो । इनड्राइभका राइडरले आफूहरुले अफलाइन नचलाएको भन्दै ट्राफिकसँग अनुनय गरे पनि प्रहरीले दुई हजारको चिट थमायो ।

जरिवानामा परेकामध्ये रोशन खड्काले अनलाइनखबरसँग भने, ‘नेपालमै केही गरिखाउँ भनेर काम गर्दा बिना गल्ती २ हजारको चिट थमाइदिएको छ । गरिखाने वातावरण भएन ।’

ट्राफिक प्रहरीले भने इनड्राइभ नेपालमा दर्ता नभएकाले यसमार्फत राइड सेयरिङ गर्ने मोटरसाइकल चालकलाई कारबाही गर्न थालेको बताएको छ ।

‘नाम नै तोकेर फलानो राइड सेयरिङ भनेर कारबाही भएको छैन । तर बिना दर्ता चलेका राइड सेयरिङहरुलाई हामीले कारबाहीको दायरामा ल्याएका छौं’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता जीवन श्रेष्ठले भने ।

नेपालमा हाल पठाओ र इन्ड्राइभ गरी दुईवटा राइड सेयर एप सञ्चालनमा छ । पठाओ नेपालको कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता छ भने इनड्राइभ कतै दर्ता भएको छैन । मोटरसाइकल चालक र ग्राहकले मोवाइलमा राखेको एपका आधारमा सम्पर्क भई राइड सेयरिङ हुँदै आएको छ । नेपालमा दर्ता नभएकाले इनड्राइभ एपमार्फत राइड सेयरिङ गर्ने मोटरसाइकल चालकहरु कारबाहीमा पर्ने प्रहरीको भनाइ छ ।

नाम नै तोकेर फलानो राइड सेयरिङ भनेर कारबाही भएको छैन । तर बिना दर्ता चलेका राइड सेयरिङहरुलाई हामीले कारबाहीको दायरामा ल्याएका छौं-जीवन श्रेष्ठ,प्रवक्ता, उपत्यका ट्राफिक प्रहरी कार्यालय

कतै दर्ता नभएको र यात्रुको बीमा पनि नभएको राइड सेयरिङ एपमार्फत यात्रु ओसारपसार गर्न दिँदा दुर्घटना भएमा भविष्यमा समस्या आउने र यात्रु असुरक्षित हुने एसएसपी श्रेष्ठले बताए । यस्ता राइडरलाई ट्राफिक प्रहरीले प्रयोजन विपरीत सवारी चलाएको आरोपमा २ हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ ।

गत १४ चैतमा यात्रुको तीन वटा औला भाँचेको आरोपमा प्रहरी वृत्त सिंहदरबारले ५ वैशाखमा एक जना इन्ड्राइभका राइडरलाई पक्राउ गरेर मुद्दा नै चलाएको छ ।

इनड्राइभर चढेर थापाथली जाने क्रममा गलत बाटो लगेको विषयमा यात्रु कपिल (नाम परिवर्तन) र इनड्राइभर चालक नवलपरासीको विहादी गाउँपालिका–२ का २६ वर्षीय जोन तामाङबीच विवाद भएको थियो । सो क्रममा यात्रुले मोटरसाइकलको चाबी निकालेर प्रहरीले खबर गर्छु भनेपछि विवाद हुँदा इनड्राइभर चालकले चाबी खोस्न खोज्दा यात्रुको तीन वटा औंला भाँचिएको थियो ।

दर्ता नभएका राइड सेयरिङ एप चलाउने र अफलाइनमा यात्रु बोक्ने मोटरसाइकल चालकका कारण दुर्घटना र अपराध बढ्न सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

‘अफलाइन चढेको छ । मोटरसाइकल नम्बर पनि थाहा छैन । कम्पनी कतै दर्ता पनि छैन । यस्तो अवस्थामा अपराध भए वा कुनै दुर्घटना भए पत्ता लगाउन गाह्रो हुन्छ’, उनले भने, ‘सीसीक्यामेराको माध्यमबाट धन्न हामीले व्यक्ति पहिचान गरी पक्राउ गरेर कारबाहीको दायरामा ल्याएका छौं ।’

घटनाको २० दिनपछि बल्ल पक्राउ गरेका इनड्राइभर चालकमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । यस्तै प्रकृतिका अपराधका घटनाहरु हुन नदिन पनि नेपालको कानुन अनुसार दर्ता नभएका राइड सेयरिङ एप र अफलाइन राइडरलाई प्रहरीले कारबाही गर्ने गरेको हो ।

९ महिनामै १८ हजार मोटरसाइकल चालक कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २०८० साउनदेखि २०८१ वैशाख २ गतेसम्म राइड सेयरिङ गर्ने १८ हजार १३६ जनालाई कारबाही गरेको छ ।

उनीहरुमध्ये अधिकांश इनड्राइभ एपमार्फत राइड सेयरिङ गर्ने र अफलाइनमा यात्रु बोक्नेहरु छन् । ‘बिना दर्ता पनि निकै व्यस्त रुपमा चलेको इनड्राइभ नै हो । हामीले करबाही गरेकाहरु मध्ये अधिकांश इनड्राइभका राइडरहरु नै छन्’, ट्राफिक प्रहरी स्रोतले भन्यो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८० सालमा २ हजार ७२१, भदौमा २ हजार ३०७, असोजमा १ हजार ४२५, कात्तिकमा १ हजार २६०, मंसिरमा १ हजार ५६६, पुसमा १ हजार ४७९, माघमा १ हजार ६१८, फागुनमा १ हजार ४७०, चैतमा सबैभन्दा बढी ३ हजार ९६२ र वैशाख २ गतेसम्म ३२८ गरी १८ हजार १३६ राइडहरु कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २०८० साउनदेखि २०८१ वैशाख २ गतेसम्म राइड सेयरिङ गर्ने १८ हजार १३६ जनालाई कारबाही गरेको छ ।

जघन्य अपराधका घटनामा समेत अफलाइन राइडहरु प्रयोग हुँदै आएको छ । ७ वैशाख २०८० मा चावहिल सरस्वतीनगरस्थित निरु किचेनकी सञ्चालक निरा पाण्डे आचार्यलाई हत्या गरी गरगहना लुटेर एक युवक फरार भएका थिए । प्रहरी अनुसन्धानका क्रममा हत्या गरेर झापाका विनोद विश्वकर्मा अफलाइनमा राइड सेयरिङको मोटरसाइकल चढेर भागेको खुलेको थियो ।

त्यसपछिका अन्य अपराधका घटनामा समेत अफलाइन राइडको प्रयोग देखिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले अफलाइन राइडरलाई पक्राउ गरेर करबाही समेत गरेको थियो ।

दर्तामा महालेखाले उठाएको थियो प्रश्न

नेपालको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा एउटा प्रयोजनमा दर्ता भएको सवारी साधन अर्को प्रयोजनमा लगाउन नपाइने व्यवस्था छ । अर्थात् निजी सवारी साधनले यात्रु ओसारपसार गर्न पाउँदैन । तर नेपालमा राइड सेयरिङ एपमार्फत निजी मोटरसाइकल चालकले यात्रु बोक्दै आएका छन् ।

यो विषयमा बारम्बार विवाद हुने गरेको छ, तर राइड सेयरलाई नियमन र व्यवस्थित गर्ने गरी सरकारले कानुन निर्माण अघि बढाएको छैन ।

तर सर्वसाधारणको यात्रा सहज हुने, युवाहरु स्वरोजगार हुने र सरकारले कर पनि पाउने हुनाले कम्पनी दर्ता गरेर सञ्चालन गर्ने राइड सेयरलाई सञ्चालन हुन रोकतोक गरिएको छैन । पठाओ नामक राइड सेयर यसरी नै सञ्चालन भइरहेको छ ।

राइड शेयरिङ व्यवसायको दर्ता प्रक्रियाबारे महालेखा परीषकको कार्यालयले बेला बेलामा प्रश्न उठाउँदै आएके छ । महालेखाको ६० औं वार्षिक प्रतिवेदनमा राइड शेयरिङ व्यवसाय सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ विपरीत सञ्चालन भइरहेकाले उक्त कानुन संशोधन गर्न भनिएको थियो ।

उच्च अदालत पाटनले समेत २९ माघ २०७६ को कानून बनाएर राइड शेयरिङ व्यवसायलाई नियमन गर्न भने पनि अहिलेसम्म भएको छैन ।

उच्च अदालतको आदेश कार्यान्वयन गर्न सुझाव दिँदै महालेखाले भनेको छ, ‘सबै सेवाप्रदायक कानुनी दायरामा नआएको, निजी प्रयोजनका निम्ति दर्ता भएका सवारीसाधनले कानुनविपरीत भाडा लिई यात्रु तथा सामग्री ओसारपसार गरेको र सेवा लिएपश्चात् बिल जारी हुने व्यवस्था नरहेको कारण कानुन पालनामा कमी रहेको विद्यमान अवस्था सम्बन्धमा उच्च अदालत पाटनले कानून बनाएर नियमन गर्न २०७६÷ १० ÷ २९ मा आदेश दिए तापनि सो को कार्यान्वयन भएको छैन ।’

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?