+
+

जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

रासस रासस
२०८० मंसिर ३ गते १६:३१

३ मंसिर, रुकुमपूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताएका छन् ।

रुकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई ध्यानमा राखेर क्षतिपूर्तिका लागि स्पष्टरुपमा आफ्ना कुरा राखिने बताए ।

जलवायु परिवर्तनको पीडा कम गर्न अन्तर्राष्ट्रिय कोषबाट सहयोग उपलब्ध गराइँदै आएको भए पनि नेपालले हालसम्म कममात्रै रकम पाएकाले त्यसमा उल्लेख्यरुपमा वृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई आफूले पटकपटक अनुरोध गरेको स्पष्ट पारे ।

आफ्नो आग्रहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टियो गुटरेसले नेपाल भ्रमण गरेर जलवायु परिवर्तनबाट परेको प्रभावलाई नजिकैबाट हेरेर गएको प्रधानमन्त्री दाहालले उल्लेख गरे । जलवायु परिवर्तनबाट परेको प्रभावबाट दुःख पाएको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने राहत अधिकारको विषय भएको प्रधानमन्त्रीको भनाइ छ ।

नेपालीले गर्दै नगरेको कमजोरीको सजाय पाइराखेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ‘क्लाइमेट फन्ड’बाट ठूलो राहतका लागि सरकारका तर्फबाट दस्तावेज तयार पार्न उच्च अधिकारीलाई निर्देशन दिइएको बताए । उनले मैकोटलाई खुला सङ्ग्रहालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारकोतर्फबाट साथ तथा सहयोग रहने स्पष्ट पारे ।

यस्तै प्रधानमन्त्री दाहालले जडीबुटी तथा कृषि क्षेत्रको विकासका लागि एउटा विशेष परियोजना अगाडि बढाउन पहल गर्ने विश्वास दिलाए । आफ्नो चीन भ्रमणका क्रममा हिमाली क्षेत्रका केही जिल्लामा विशेष परियोजना सञ्चालन गर्ने सहमति भएको जानकारी दिँदै प्रधानमन्त्रीले रुकुमपूर्वको पुथा उत्तरगङ्गा पनि हिमाली पालिका भएकाले एउटा परियोजना अगाडि बढाइने बताए । उनले मैकोटलाई जीवित सङ्ग्रहालय बनाउनका लागि केन्द्र सरकारकोतर्फबाट बजेटको प्रबन्ध गरिने विश्वास दिलाए ।

क्रान्तिको समयमा ठूलो त्याग, तपस्या र बलिदान गरेको यस क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ छ । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रको विकासका लागि पनि उत्तिकै महत्त्व दिइएको उनको कथन छ ।

नेपालको संविधानमा नै समाजवादउन्मुख विषयलाई उल्लेख गरिएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सरकारले पहलकदमी लिएको र सोही सङ्कल्पका आधारमा काम सुरु भएको बताए । तराई–मधेसमा रहेका लाखौँ किसानलाई मिटरब्याजीबाट पीडा र अत्याचारबाट मुक्त गरिएको जानकारी दिए ।

यस्तै, नागरिकताविहीन नेपाली नागरिकलाई पनि वर्तमान सरकारले प्राथमिकता राखेर नागरिकता प्रदान गरिएको तथ्य पेस गरे । विदेशमा गएका लाखौँ नेपाली युवाको हकअधिकार सुनिश्चित गर्न सामाजिक सुरक्षाको दायरामा ल्याइएको, अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई पनि त्यसको दायरामा ल्याइएको प्रधानमन्त्रीको भनाइ छ ।

सामाजवादको आधार तयार पार्ने काममा सरकार लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले केही तथ्यसमेत पेस गरे । भ्रष्टाचार नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै ठूलाठूला मन्त्री र नेतासमेत जेल जाने अवस्थाको सिर्जना भएको बताए ।

सुन तस्करी नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुशासन कायम गर्न निरन्तर लागिपर्ने बाँकी नराखिने बताए । फरक एक प्रसङ्गमा प्रधानमन्त्री दाहालले वर्तमान गठनबन्धन पूरै पाँच वर्ष टिक्ने र देश तथा जनताका पक्षमा काम गरेरै देखाउने विश्वास व्यक्त गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?