+
+

यमनविरुद्ध घरेलु मैदानमा जित्ने अवसर, अन्जनलाई कीर्तिमान बनाउने मौका

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० मंसिर ५ गते ७:५०

५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह एचमा रहेको नेपालले आज घरेलु मैदानमा यमनसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका सात बजे हुने उक्त खेलमा नेपालसामू अंकको खाता खोल्ने अवसर हुनेछ ।

समूहको पहिलो खेलमा युएईसँग ४-० ले पराजित भएको नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो । यमन भने पहिलो खेलमा बहराइनसँग घरेलु मैदानमा २-० ले पराजित भएको थियो । यमन र नेपाल दुवै प्रारम्भिक चरणको छनोट खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

यस समूहमा रहेका दुई बलिया टोली युएई र बहराइन हुन् । त्यसपछि नेपाल र यमनको हैसियत करिब उस्तै-उस्तै छ । फिफा वरीयतामा यमन १५६ औं स्थानमा रहँदा नेपाल १७३ औं स्थानमा छ ।

घरेलु समर्थक अघि आफ्नो अनुकुल समयमा खेल्न पाउँदा नेपाल सामु यमनलाई हराएर ३ अंक जोड्ने अवसर पनि हुनेछ ।

नेपालले यमनसँग अहिलेसम्म चार खेल खेल्दा कुनै खेल जित्न सकेको छैन । २०१७ मा एसियन कप छनोट अन्तर्गत घरेलु मैदान हलचोकमा भएको खेलमा गोलरहित बराबरी खेल्नु नै नेपालको ठूलो उपलब्धि हो ।

त्यसैले यस पटक समर्थक र खेलाडीलाई पनि आशा दिलाउनका लागि यमन विरुद्ध जित्दै अंक जोड्ने लक्ष्य रहेको नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले बताएका छन् । ‘हामी यो खेल जित्न चाहन्छौँ । समर्थक र खेलाडीलाई आशा दिलाउन पनि यो खेल जित्नुपर्छ । हामी अंक जोड्न चाहन्छौं,’ उनले भने ।

यस्तै कप्तान किरण कुमार लिम्बुले पनि प्रशिक्षकको भनाइमा सहमति जनाउँदै यमन विरुद्धको खेल महत्वपूर्ण हुने बताएका छन् । ‘खेलका लागि उत्सहित छौँ र जित्नका लागि चुनौती पनि छ । यहाँबाट अघि बढ्नका लागि यो खेल महत्वपूर्ण रहेकाले हामीले जित्नुपर्छ,’ कप्तान किरणले भने ।

यमनका प्रशिक्षक भन्छन्- नेपालसँग खेल्न सजिलो हुँदैन

उता यमनका प्रशिक्षक मिरोस्लाभ साउकुपले पहिलो खेलमा बहराइनसँग पराजित भएकाले नेपालसँगको खेल महत्वपूर्ण रहेको बताए । ‘हामी पहिलो खेलमा घरेलु मैदानमै बहराइनसँग पराजित भयौं । दुई गल्तीले गोल खायौं । हाम्रो समूहमा युएई र बहराइन जस्ता टोली छन् । नेपाल पनि छ । त्यसैले नेपालसँगको खेल महत्वपूर्ण छ,’ उनले भने ।

साउकोपले नेपाल विरुद्धको खेलका लागि आफ्नो टिम तयार रहेको तर नेपालसँगको खेल सहज भने नभएको बताएका छन् । यद्यपि आफ्नो टिमले राम्रो प्रदर्शन गर्ने विश्वास उनले राखेका छन् । ‘नेपालसँग खेल्न सजिलो हुँदैन । नेपाल पहिलो खेलमा युएईसँग ४-० ले हारेपनि राम्रो खेलेको थियो । युएईमा गएर गोलको अवसर बनाउनु राम्रो हो । यमनको टिम पनि खेल्न तयार छ,’ साउकोपले पनि नेपालसँगको खेलबाट अंकको खाता खोल्ने लक्ष्य रहेको बताए ।

अन्जनलाई कीर्तिमान बनाउने अवसर

यमन विरुद्धको खेलमा नेपालको पहिलो रोजाईमा को-को खेल्छन् त्यो पनि महत्वपूर्ण हुने नेपालका प्रशिक्षक एनेसले बताइसकेका छन् । युएईविरुद्ध पहिलो रोजाइमा खेलेका मिडफिल्डर लकेन लिम्बु त्यस खेलमा घाइते भएका थिए र यमन विरुद्ध खेल्ने छैनन् ।

अहिले नेपाली टिममा कप्तान किरणसहित रोहित चन्द र अन्जन विष्ट मात्र अनुभवी खेलाडीको रुपमा छन् । चोटका कारण अर्का अनुभवी खेलाडी अनन्त तामाङ युएई गएका थिएनन् । उनले यमन विरुद्ध खेल्ने वा नखेल्ने टुंगो छैन ।

फरवार्ड अन्जन विष्टका लागि भने यमन विरुद्ध गोल गर्द नयाँ कीर्तिमान बनाउने अवसर पनि हुनेछ । अन्जनले राष्ट्रिय टिमका पूर्व फरवार्डद्वय हरि खड्का र निराजन रायमाजीको नाममा रहेको सर्वाधिक १३ गोल गर्ने कीर्तिमान यसअघि लाओस विरुद्धको खेलमा बराबरी गरेका थिए । आज यमनविरुद्ध गोल गरे उनले उक्त कीर्तिमान आफ्नो नाममा लेखाउनेछन् ।

हेड टु हेडमा नेपाल र यमन

नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ । तर कुनै खेल जित्न सकेको छैन । सन् २०१७ मा नेपालमै भएको एएफसी कप छनोटको खेलमा यमनलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको उत्कृष्ट प्रदर्शन हो ।

त्यसअघि सन् २००० मा भएको एसियन कप छनोटको खेलमा नेपाल यमनसँग ३-० ले पराजित भएको थियो । यस्तै सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल यमनसँग २-० ले पराजित भएको थियो ।

यस्तै एसियन कप छनोट अन्तर्गत नै २०१८ मा दोहामा भएको खेलमा नेपाल यमनसँग २-१ ले पराजित भएको थियो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?