८ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेक आफूले आयोजना गर्ने प्रतियोगिताको टिकट बिक्री तथा व्यवस्थापनको विशेष अधिकार दुई वर्षका लागि बिक्री गर्ने भएको छ।
क्यानले मंगलबार सार्वजनिक सूचना जारी गर्दै टिकटिङ अधिकार बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो। इच्छुक तथा योग्य कम्पनीले राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाअन्तर्गत सिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।
बोलपत्रसम्बन्धी कागजात क्यानको मूलपानीस्थित कार्यालयबाट प्राप्त गर्न सकिनेछ। त्यसका लागि ३० नोभेम्बर २०२६ सम्म नियमित कार्यालय समयमा आवेदन दिनुपर्नेछ। क्यानको वेबसाइटबाट पनि बोलपत्रसम्बन्धी कागजात डाउनलोड गर्न सकिनेछ। कागजात प्राप्त गर्न १० हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
बोलपत्र १ डिसेम्बर २०२६ को दिउँसो १२ बजेसम्म क्यानको कार्यालयमा हातैले वा कुरियरमार्फत बुझाउनुपर्नेछ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे बोलपत्रदाताका प्रतिनिधिको उपस्थितिमा खोलिने क्यानले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम १४ लाख रुपैयाँको धरौटी राख्नुपर्नेछ। बोलपत्र खोलिएको मितिदेखि ९० दिनसम्म बोलपत्र मान्य हुनुपर्नेछ भने धरौटीको अवधि बोलपत्रको मान्य अवधि सकिएको मितिपछि थप ३० दिनसम्म कायम हुनुपर्नेछ।

प्रतिक्रिया 4