+
+

ठूला सरकारी अस्पतालमा चिकित्सा शिक्षा पढाउने स्वास्थ्य मन्त्रालयको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १८:२९

६ मंसिर, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्नको लागि एक सय देखि ३ सय बेडका सरकारी अस्पतालमा  पारामेडिक्स र नर्सिङ विषय पढाउन चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव लगेको छ ।

स्वास्थ्यमन्त्री मोहन बस्नेतले बुधबार  स्वास्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै देशमा स्वास्थ्यकर्मीको अभाव पुर्ती गर्नको लागि मन्त्रालयले मन्त्रिस्तरिय निर्णय गरेर यस्तो प्रस्ताव लगेको बताए । त्यस्तै, उनले ३ सय बेड माथिका अस्पताललाई पारामेडिक्स र नर्स सहित एमबीबीएस पढाउन समेत प्रस्ताव लगेको बताए ।

उनले यो प्रस्ताव चिकित्सा शिक्षा आयोग र मन्त्रिपरिषदमा छलफल भइसकेको र त्यहाँबाट सकारात्मक जवाफ आएको  बताए । चिकित्सा शिक्षा ऐनमा भएको त्रुटि सच्याउन सरकारले यस्तो निर्णय गरेको उनको भनाइ छ । ‘चिकित्सा शिक्षामा यो क्रान्तिकारी निर्णय हो, यो निर्णयसँगै अब देशमा स्वास्थ्यका विषय पढ्न समस्या हुनेछैन’ उनले भने ।

मन्त्री बस्नेतले मन्त्रालयको प्रस्ताव कार्यन्वयन भए विदेश पढ्न जाने अवस्था अन्त्य हुने बताए । ‘नेपालबाट मेडिकल पढ्न बर्सेनि अर्बौ रकम विदेसिन्छ यो निर्णय कार्यन्वयन भएमा मेडिकल पढ्न जाने अवस्था अन्त्य हुन्छ’ मन्त्री बस्नेतले भने ।

मन्त्रालयले यो निर्णय कार्यन्वयन गराउन सक्ने सरकारी अस्पतालाई आफ्नो पुर्वाधार र जनशक्ति अवस्थाको बारेमा जानकारी गराउन पत्राचार गरेको छ ।

अहिलेसम्म यो प्रस्ताव स्वीकृत भएमा कहाँ कति र कुन विषय पढाउन सकिन्छ भन्ने तथ्यांक भने जुटाइसकेको छैन । ‘छिट्टै नै कहाँ कति र कुन विषय पढाउन सकिन्छ भन्ने तथ्यांक तयार हुन्छ’ मन्त्री बस्नेतले भने ।

यस्तै मन्त्री बस्नेत चिकित्सा शिक्षा  ऐनले यसमा बाधा पार्ने अवस्थामा ऐन  संशोधनको तयारी समेत भइरहेको उनले संकेत गरे । यस विषयमा प्रधानमन्त्री, शिक्षामन्त्री र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष राखेर छलफल भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?