+
+
Shares
ईपीएस प्रणाली :

१५ वर्षमा श्रमिकका रुपमा एक लाख नेपाली पुगे कोरिया

नेपालीको आर्कषक श्रम गन्तव्य कोरियामा ईपीएस प्रणालीबाट मात्र १५ वर्षमा एक लाख एक हजार नेपाली श्रमिकका रुपमा पुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते २०:३०

१६ वैशाख, काठमाडौं । बितेको १५ वर्षमा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत एक लाख बढी नेपाली श्रमिक दक्षिण कोरिया पुगेका छन् ।

सन् २००७ मा कोरिया र नेपाल सरकारबीच नेपाली श्रमिक कोरिया लैजाने सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार सन् २००८ देखि नेपाली श्रमिकहरु ईपीएस प्रणाली अनुसार रोजगारीका लागि कोरिया जान थालेका थिए ।

हालसम्म ईपीएस प्रणाली मार्फत एक लाख एक हजार २६८ श्रमिक कोरियामा रोजगारीका लागि पुगेका छन् । अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका भएकाले पनि कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा बनिरहेको छ । सन् २०२३ मा मात्र १९ हजार ६८९ नेपाली श्रमिक कोरिया पुगेका छन् ।

कोरियाले लिने भाषा परीक्षा उतीर्ण गरेर नेपालीहरु श्रमिकहरु कोरिया जान पाउँछन् ।

कम लागत र अन्य मुलुक भन्दा धेरै कमाइ हुने भएकाले पनि श्रमिकको प्रथामिकतामा कोरिया पर्ने गरेको ईपीएस कोरिया शाखाकी निर्देशक मैयाँ कडेल बताउँछन् ।

‘कोरियाले श्रमिक लैजाने प्रक्रिया एकदमै पारदर्शी छ । जि–टु–जी अर्थात सरकार–सरकारबीचको सम्झौता मार्फत पठाउने भएकाले सुरक्षित पनि छ’, उनले भनिन्, ‘अन्य मुलुक जान भन्दा लागत कम र कमाइ पनि धेरै हुने भएकाले कोरिया नेपाली युवाको रोजाइमा परिरहेको छ ।’

कोरिया जान धेरै नेपाली चाहन्छन् भन्ने कुरा भाषा परीक्षामा हुने सहभागिताले पनि देखाउँछ । सन् २०२३ मा मात्र भएको कोरियाली भाषाको परीक्षामा झण्डै ८० हजार नेपाली युवा सहभागी भएका थिए ।

कोरियाले यसअघि कृषि, पशुपालन तथा उत्पादनमूलक क्षेत्रमा नेपाली श्रमिक लैजादै आएकामा यसवर्ष पानी जहाज निर्माणको क्षेत्रमा पनि नेपालीलाई लिन थालेको निर्देशक कँडेल बताउँछिन् । उनले कोरियाले यसै वर्षदेखि सेवा क्षेत्र, रुट इन्ड्रष्ट्री र वन क्षेत्रमा पनि श्रमिकहरु माग गर्न थालेको जानकारी दिइन् ।

कोरियाले नेपालबाट माग गर्ने श्रमिक संख्या पनि हरेक वर्ष बढ्दै गएको छ । पहिलो पटक सन् २००८ मा ईपीएस प्रणालीबाट दुई हजार ८१४ जना श्रमिक लगेको कोरियाले २०२३ मा मा झण्डै १९ हजार श्रमिक लगेको छ ।

नेपाली श्रमिक इमान्दार र मिहिनेती हुने भएकाले पनि कोरिया नेपालप्रति सकारात्मक भएको निर्देशक कँडेलले बताइन् । ‘कोरियाले नेपालबाट नै सबैभन्दा धेरै श्रमिक लैजाने गरेको छ’, उनले भनिन् ।

कोरियाले नेपाललाई सबैभन्दा धेरै श्रमिक पठाउन सफल भएको भन्दै पुरस्कृत समेत गरेको थियो ।

कति कमाउँछन् ?

कोरियामा नेपालीहरुले साना उद्योग, कृषि क्षेत्र र पानी जहाज बनाउने काम गर्दै आएका छन् । कोरिया गएका नेपालीले मासिक २ लाखदेखि ६ लाख रुपैयाँसम्म कमाइ गर्न सक्ने निर्देशक मैयाँ कँडेल बताउँछिन् ।

‘श्रमिकको कामको प्रकृति, ओभर टाइम लगायतले पनि कमाइ कति हुने निर्धारण गर्छ’, उनले भनिन्, ‘तर न्यूनतम पनि एक जना श्रमिकको कमाइ दुई लाखबाट सुरु हुन्छ ।’

उनका अनुसार एक जना श्रमिक कोरिया भाषा पास गरेर जाँदा दुई लाख रुपैयाँ खर्च लाग्ने बताउँछिन् ।

कसरी छनोट हुन्छन् कोरिया जाने श्रमिक ?

कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत विश्वका १६ वटा देशबाट श्रमिक लैजाने गरेको छ । श्रमिक छनोटका लागि कोरिया सरकारको मानव संशाधन विभाग (एचआरडी कोरिया) जिम्मेवार छ, जसको नेपालमा समेत कार्यालय रहेको छ ।

कोरियाको मानव संशाधन विभागको मागअनुसार नेपालको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले कोरियाली भाषा परीक्षाको लागि आवेदन माग गर्छ ।

कोरियाली अधिकारीहरूले नै कोरियाली भाषाको परीक्षा लिई नतिजा प्रकाशित गर्छन् । उत्तीर्ण हुनेलाई ईपीएस शाखा मार्फत कोरियाको मानव संशाधन विभागमा पठाइन्छ र विवरण ठीक भएपछि रोजगारदाताको रोष्टरमा सूचीकृत गरिन्छ ।

कोरियाका रोजगारदाताले मानव संशाधन विभागमार्फत श्रमिक माग गर्दछन् । मानव संशाधन विभागले मापदण्ड पुगेका तीनगुणा बढी श्रमिकको सूची पठाउँछ । रोजगारदाताले त्यही सूचीबाट श्रमिक छनोट गर्छन् । श्रमिक छनोट गर्ने अधिकार भन्ने अधिकार रोजगारदातालाई नै हुन्छ ।

पहिले सम्झौता अनुसार श्रमिकको मागको तीनगुणा बढी रोष्टरमा सूचीकृत हुनुपर्ने थियो । तर फेब्रुअरीदेखि कोरियाले रोष्टरमा सूचीकृत हुनेको तीनगुणा मात्र आवेदकलाई परीक्षामा समावेश गर्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?