+
+

बसन्तपुरको संस्कृत विश्वविद्यालयको जीर्ण भवन भत्काउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते ११:४३
उपमेयर सुनिता डंगोल संयोजक रहेको समिति ।

७ मंसिर, काठमाडौं । बसन्तपुर डबलीको दक्षिणतर्फ रहेको नेृपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दे आएको जीर्ण भवन भत्काउन सिफारिस गरिएको छ ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा गठित समितिले भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने भएको जनाउँदै प्राविधिक प्रतिवेदनका आधारमा भत्काउन मंगलबार मेयर बालेन शाहसमक्ष सिफारिस गरेको हो ।

११ फागुन २०७९मा बसेको महानगरपालिकाको १३ औं कार्यपालिका बैठकले उपप्रमुख डंगोलको संयोजकत्वमा वडा नम्बर ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगत र वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो ।

समितिलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम रहेको भवन महानगरपालिकाको मातहतमा ल्याउन र वडानम्बर ५ हाँडीगाउँमा रहेको सार्वजनिक जग्गाको भोगाधिकार प्राप्त गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको थियो ।

सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ को व्यवस्थाबमोजिम जग्गा तथा भवन महानगरपालिका मातहतमा ल्याउन समिति गठन गरिएको महानगरले जनाएको छ ।

व्यवस्था बमोजिम कुनै सरकारी निकायको नाममा दर्ता रहेको जग्गा अर्को सरकारी निकायलाई आवश्यक भएमा जग्गा माग गर्ने निकायको केन्द्रीय निकाय, दर्तावाला निकायको केन्द्रीय निकाय र सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रालयले माग गर्ने सरकारी निकायलाई जग्गा उपयोग गर्न स्वीकृति दिन सक्ने उपप्रमुख डंगोलले जानकारी दिएकी छिन् ।

यही प्रावधानलाई टेकेर डंगोलले १२ भदौ २०८० मा त्रिवि उपकुलपतिको कार्यालयलाई पत्र लेख्दै दर्तावालाका तर्फबाट केन्द्रीय समिति गठन गरेर संयुक्त बैठकको माग गरेकी थिइन् ।

२७ भदौमा दुवै पक्षका अधिकारीबिच संयुक्त बैठक बसेर समितिले काम गर्ने अधिकार लिएको थियो ।

जनधनको क्षति रोक्न भत्काइने

जीर्ण भवन भत्काएर सम्भावित जनधनको क्षति रोक्न स्थानीय ३२ जनाले हस्ताक्षर गरेर १९ कात्तिक वडामा निवेदन बुझाएका थिए ।

निवेदन वडाबाट प्रमुख, प्रमुखबाट प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृतबाट सहरी व्यवस्थापन विभागमा पुगेको थियो । सोही अनुसार विभागले भवनको अवस्थालाई प्राविधिक अध्ययन गर्न इञ्जिनियर जीवन रेग्मी, आर्किटेक्ट इञ्जिनियर अमित बज्राचार्य र आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठ रहेको ३ सदस्यीय समिति गठन गरेर जिम्मेवारी दियो । यो समितिले ४ मंसिरमा प्रतिवेदन दिएको छ ।

प्रतिवेदनमा २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको जनाएको छ ।

पुरानो भवन दक्षिणतर्फ पहिलो तलामा रहेको झ्याल खसेको, उत्तर र दक्षिणतर्फको जमिन तलामा गाह्रो भत्किएको, पूर्वतर्फको पहिलो र दोस्रो तलाको गाह्रो ठाउँ ठाउँमा चिरा परेको, उत्तरतर्फको झ्याल वरपर ठाउँ ठाउँमा चर्किएको, छानाबाट पानी चुहिने हुँदा काठको मुसिं, ढलिः आदि मक्किएको देखिएको उल्लेख छ ।

प्रतिवेदनमा भवन कुनै पनि समयमा भत्किन सक्ने र जनधनको क्षति हुन सक्ने हुँदा जीर्ण भवनको तत्काल व्यवस्थापन गर्नुपर्ने देखिन्छ, भन्ने राय दिइएको छ ।

यो भवन वडा नंं २३ को सिट नं. १०२-११०४-१२, कित्ता नं. ३४८ मा ४ आना १ पैसा २ दाम -०-४-१-२ क्षेत्रफलमा रहेको विभागले जानकारी दिएको छ ।

जग्गा अनुसार त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम देखिने भवन नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो ।

भवन कसले किन बनायो भन्ने संस्कृत विश्वविद्यालय र त्रिविलेसमेत जवाफ दिन नसकेको भन्दै महानगरले अभिलेख भवन भित्रै रहेको हुन सक्ने भन्दै भत्काउँदा संकलन गर्ने जनाएको छ ।

कहिले निर्माण भयो भन्न्ने अभिलेख नै नभएको भन्दै महानगरले संरचनामा नै सम्बन्धित कागजात हुनसक्ने भएपनि छिर्न सक्ने अवस्था नरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?