+
+

जनकपुर न्यूरो हस्पिटलमा लापरबाहीले बालकको मृत्यु भएको आरोप

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० मंसिर ७ गते १७:५८

७ मंसिर, जकपुरधाम । जनकपुर न्यूरो हस्पिटलले डिस्चार्ज गर्नेवित्तिकै गम्भीर बिरामी परेका एक बालकको मृत्यु भएपछि आफन्तले डाक्टरले लापरवाही गरेको आरोप लगाएका छन् ।

हस्पिटलले डिस्चार्ज गर्नेवित्तिकै गम्भीर बिरामी परेका धनुषाको धनुषाधाम नगरपालिका-६ मालटोल बस्ने ४ वर्षीय जेम्स कालिकोटेको बिहीबार विहान मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाही भन्दै शव उठाउन मानेका छैनन् ।

मृतक बालकका मामा सुनिल परियारका अनुसार बुधबार बिहान बालकले एक्कासी बान्ता गरेका थिए । रुघाखोकी जस्तो देखिएर स्वास्थ्यमा समस्या देखिएपछि बाल रोग विशेषज्ञ डा. शशिभूषण ठाकुरको क्लिनिकमा ल्याएका थिए । डा. ठाकुरले आफू कार्यरत न्यूरो हस्पिटलमा उपचार गर्न रेफर गरेका थिए ।

बालकलाई बुधबार नै हस्पिटलमा भर्ना गरिएको थियो । निको भयो भनेर हस्पिटलले बिहीबार बिहान १० बजेतिर डिस्चार्ज गरेको थियो । निस्किने बेला अचानक बालकले जोडले श्वास फालेर सिकिस्त भएपछि पुनः उपचार गर्दा तुरुन्तै मृत्यु भएको उपचारका लागि कुरुवा आएका छिमेकी मनिषकुमार कर्णले बताए ।

‘चिकित्सकले पिसाबमा इन्फेक्सन छ भनेका थियो । ठीक भइहाल्छ भनेर डिस्चार्ज गरिदियो । डिस्चार्ज भएर तल गेटमा आइसकेपछि बालक एकैपट लामो सास फालेर बेहोस भए । अनि उपचार थालिएपछि मृत्यु भयो’, मनिषले भने, ‘एक्कासी कसरी यस्तो भयो । उपचारमै कुनै लापरबाही गरिएको हुनुपर्छ ।’

डा. ठाकुरले बालकलाई पिसाबमा इन्फेक्सन भएको र उपचारबाट सामान्य  भएपछि परिवारजनकै आग्रहमा डिस्चार्ज गरेपछि अचानक मृत्यु भएको बताए ।

‘बालक आज बिहान खेलिरहेका थिए । मोबाइल पनि चलाइरहेका थिए । बच्चाको आमाले भन्नुभयो मेरो बच्चा खेलिरहेको छ, अब डिस्चार्ज गरिदिनुस् । हामी काठमाडौं नै बस्छौं, काठमाडौं नै लिएर जान्छौं । त्यसपछि मैले डिस्चार्ज गरिदिएँको हुँ’, डा. ठाकुरले अनलाइनखबरसँग भने । बालकको अचानक मृत्यु हुनुमा उपचारको लापरबाही नभएको भन्दै उनले पहिलादेखि बालकमा अरु कुनै स्वास्थ्य समस्या रहेको हुन सक्ने दाबी गरे ।

यो अस्पताल फागुन २०७८ देखि डा. विजय राउतले बिना स्वीकृति सञ्चालन गरिरहेका छन् । २९ साउनमा स्वास्थ्य सेवा विभाग, मेडिकल काउन्सिल, मधेश प्रदेश सरकारको स्वास्थ्य महाशाखा र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिसहितको टोलीले न्यूरो हस्पिटलको अनुगमन गरेको थियो ।

स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक डा. अनुप बास्तोलाको नेतृत्वमा भएको सो अनुगमनले तुरुन्त मापदण्ड पूरा गरी स्वीकृति लिन अथवा विशिष्टिकृत सेवा हटाएर जेनरल सेवा सञ्चालनको अनुमति अथवा हस्पिटल नै बन्द गर्न निर्देशन दिएको थियो । अस्पतालले मापदण्ड पूरा नगरेकाले विभागले अनुमति दिएको छैन ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?