+
+

कांग्रेसले क्यालेन्डर बनायो, पछ्याएन

पार्टीलाई वर्षैभरि चलायमान बनाउन पाँच महिनाअघि क्यालेन्डर बनाएको कांग्रेसले त्यसलाई लागू गर्न चुकेपछि नेताहरू नै भन्न थालेका छन्-क्यालेन्डरका नाममा कार्यक्रमका लागि कार्यक्रम गरेर अर्थ छैन ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० मंसिर १२ गते २०:२७

१२ मंसिर, काठमाडौं । साउनको केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले आफूलाई वर्षैभरि व्यस्त राख्न क्यालेन्डर पारित गराएको थियो । पाँच महिनाको चाल हेर्दा यो पार्टी आफ्नो कार्यतालिकाको अभ्यासमा चुकेको देखिएको छ ।

वर्षभरि पार्टीलाई गतिशील बनाउने ध्येयमा क्यालेन्डर बनाएको कांग्रेसले केही निर्णय लागू गरायो, कतिपय कार्यक्रमको लागू गर्नु त के, पार्टीभित्र चर्चा पनि भएन ।

कांग्रेसले कार्यतालिका अनुसार सफल पारेका योजनामा पोलिसी ह्याकाथन, संगठन सुदृढीकरण अभियान, बीपी साहित्य महोत्सव, प्रदीप गिरी स्मृति दिवस पर्छन् । पहिलो सूची अनुसार साउन ६ मा ‘रूख रोपौं अभियान’ प्रारम्भ गर्ने दिन तोकिएको थियो ।

बीपी स्मृति दिवसको अवसर पारेर ६ हजार ७४३ वटै वडा कार्यसमितिले रूख रोप्ने अभियान सञ्चालन गर्ने निर्णय भएको थियो । केन्द्रीय समिति बैठक जारी रहेकै बेला उक्त दिन परेकाले ‘रूख रोपौं’ अभियानले मूर्त रूप लिन सकेन ।

साउनमा बसेको केन्द्रीय समिति बैठकपछि पहिलो कार्यान्वयनमा निर्णय ‘पोलिसी ह्याकाथन’ थियो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साउन २७ मा युवाहरूबाट अवधारणापत्र माग गरिएको थियो ।

पोलिसी ह्याकाथनका लागि देश–विदेशबाट प्राप्त २२७ अवधारणाबाट भदौ ९ मा पहिलो, दोस्रो र तेस्रोलाई पुरस्कार वितरण गरिएको थियो । मातहतका सबै समिति (७७ जिल्ला र ७५३ पालिका) ले पनि उक्त कार्यक्रम गर्ने निर्णय गरिए पनि तल्लो तहमा कार्यक्रम भए/नभएको चर्चा समेत भएन ।

पार्टी सुदृढीकरण, सबलीकरण र शुद्धीकरणका लागि साउन २० देखि भदौ १ मा अभियान चलाउने निर्णय भएको थियो । ७७ जिल्लामा केन्द्रीय तहका नेताहरू खटाएर तल्लो संरचनाको पार्टीको अवस्था बुझ्न पठाइएको थियो ।

जिल्लामा खटिएका प्रतिनिधिमा केहीले वस्तुगत अवस्था प्रतिवेदनका रूपमा बुझाएका छन् भने कतिपयले प्रतिवेदनै बुझाएका छैनन् । संगठन सुदृढीकरणका लागि  जिल्ला खटिएर फर्केका प्रतिनिधिले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको आन्तरिक अवस्था ब्रिफिङ गरेका छन् ।

समुदायसँग कांग्रेसलाई जोड्ने अभिप्रायले भदौ १० देखि २४ सम्मका लागि ‘समुदायमा कांग्रेस’ कार्यक्रमको घोषणा गरिएको थियो । तर, उक्त अभियान सञ्चालन हुन सकेन । वर्षाको समय भनी स्थगित गरिएको कार्यक्रम हुन सकेन । तोकिएका कार्यक्रम नै सफल हुन नसकेपछि पार्टीका साथीहरूको सुझाव लिएर क्यालेन्डर नै पुनरावलोकन गर्न लागिएको महामन्त्री गगन थापाले बताए ।

‘साथीहरूको सुझाव अनुसार क्यालेन्डरमा थुप्रै कुरा पुनरावलोकन गरेका छौं’ कार्यतालिका प्रस्तुतकर्ता समेत रहेका महामन्त्री थापाले भने, ‘महासमिति बैठकको चापले गर्दा यो वर्ष गर्न नसकिने अर्को वर्षलाई सार्ने भनेका छौं ।’

संशोधित कार्यतालिका अब बस्ने केन्द्रीय समिति बैठकले पारित गर्ने महामन्त्री थापाले जानकारी दिए । महामन्त्री थापाका अनुसार केही कार्यक्रमहरू प्रदेशले गर्ने गरी संशोधित कार्यतालिका आउनेछ ।

केन्द्रीय सदस्य श्याम घिमिरेले वार्षिक क्यालेन्डरका कतिपय कार्यसूची नै अव्यावहारिक भएकाले निर्णयहरू लागू हुन नसकेको बताए । सूची व्यावहारिक नदेखिएका बेला जबर्जस्ती निरन्तर कार्यक्रम गरेको गर्‍यै गर्नु उपयुक्त नहुने उनको भनाइ छ ।

‘हाम्रो जस्तो देशमा निरन्तर कार्यक्रम हुन सक्दैन । नियमित कार्यक्रम गर्ने भन्दा कार्यक्रमको आकर्षण नै घट्न जान्छ । कार्यक्रमका लागि कार्यक्रम गरेर अर्थ छैन’, घिमिरेले अनलाइनखबरसँग भने ।

१५ भदौभित्र भ्रातृ संस्थालाई पूर्णता दिने र त्यही महिनाको मसान्तभित्र भ्रातृ संस्थाले कार्ययोजना पेश गर्नुपर्ने निर्णय गरिएको थियो । उक्त निर्णय पनि लागू हुन सकेन । नेविसंघ, तरुण दलमा जम्बो आकारको तदर्थ समिति बनाइएको छ । ती भ्रातृ संस्थामा मनोनित पार्टीले तोकेको १५ भदौभित्र सभापति शेरबहादुर देउवाले गरेनन् ।

अन्य भ्रातृ संस्थाको केन्द्रीय समिति अपूर्ण छ भने केही भने समितिविहीन छन् । भदौ मसान्तभित्र भ्रातृ संस्थाले कार्ययोजना पेश गर्ने निर्णय गरिए पनि कार्यान्वयन हुन सकेन । हालसम्म कुनै पनि भ्रातृ संस्थाले कार्ययोजना पेश गरेका छैनन् ।

भदौ २ दिवानसिंह राई स्मृति दिवसमा उनको स्मरण र योगदानमा आधारित रही विचार गोष्ठी गरिने निर्णय लागू भएन । भदौ ५ मा प्रदीप गिरी स्मरण सभा भयो । मधेश प्रदेशका ८ वटै जिल्लामा  गिरीको विचारमा केन्द्रित रही ‘प्रदीप गिरी’ संवाद कार्यक्रम आंशिक कार्यान्वयनमा आयो ।

बीपी जन्मजयन्तीलाई मनाउने क्रममा यसपटक कांग्रेसले पृथक् कार्यक्रम ल्यायो । भदौ २४, २५ र २६ का लागि बीपी साहित्य महोत्सवको समय निर्धारण गरिएको थियो । अन्तिम दिनको कार्यक्रम पूर्व सभामुख सुवास नेम्वाङको निधनले सर्‍यो ।

संस्थापक नेता बीपीलाई यसपटक कांग्रेसले उनको साहित्यिक देनलाई प्रधानता दिएर कार्यक्रम राख्यो । महोत्सवमा बीपीका पुस्तक, रचना, विचारको बारेमा मन्थन भए । बीपीको साहित्यिक, आर्थिक, सामाजिक, राजनीतिक आयाम, बीपीका दृष्टिकोणबारे छलफल र संवाद गरियो ।

भदौ २४ मा विश्व आत्महत्या रोकथाम दिवसमा गरिने कार्यक्रम पार्टीको प्राथमिकतामा परेन । भदौ २९ मा कांग्रेस विपन्न छात्रवृत्ति अभियानको चर्चै भएन । उक्त कार्यक्रम अन्तर्गत ‘प्रत्येक वडा समितिले सामुदायिक विद्यालयमा पढ्ने विपन्न विद्यार्थीका लागि छात्रवृत्ति (एक वडा कम्तीमा २ छात्रवृत्ति) अभियान सञ्चालन गर्ने’ निर्णय थियो ।

असोज २ मा गणेशमान सिंहको स्मृति दिनमा ‘गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना’ विषयक विचार गोष्ठी गर्ने पार्टी निर्णय थियो । उक्त विषयमा केन्द्रीय तहमा विचार गोष्ठी नभए पनि ललितपुर जिल्लाले पनि कार्यक्रम राख्यो ।

संविधान दिवसका अवसरमा ३ असोजमा ‘कन्सिच्युसन कन्सर्ट’ र शिक्षण संस्थामा डेमोक्रेसी एण्ड कन्सिच्युसन विषयमा कक्षा, प्रवचन र अन्तरक्रिया गर्ने निर्णयलाई पार्टीले मूर्त रूप दिन सकेन । पार्टी निर्णय अनुसार असोजको पहिलो साता क्षेत्रीय सभापतिहरूसँग अनलाइन सदस्यता, नयाँ क्रियाशील सदस्यता, सदस्यता अभिलेखीकरण, बैठक र सम्मेलन लगायत विषयमा दुई महामन्त्रीले अनलाइन बैठक गरे । कांग्रेसले परम्परादेखि गर्दै आएको कोजाग्रत पूर्णिमाको चियापान कात्तिक ११ मा गर्‍यो ।

संस्थापक नेता सुवर्णशमशेरको स्मृति दिवस पारेर २४ कात्तिकका लागि तोकिएको अर्थनीति सम्बन्धी दुईदिने कन्क्लेभ स्थगित गरिएको छ । तिहार पर्व सुरु भएकाले तोकिएको समयमा अर्थनीति कन्क्लेभ स्थगित गर्नुपरेको कांग्रेसको जिकिर छ ।

सात वटै प्रदेश र ७५३ वटै गाउँ-नगर कार्यसमितिले आ-आफ्नो तहमा पार्टीले लिनुपर्ने आर्थिक नीतिसँग सम्बन्धित रही अर्थनीति संवादको कार्यक्रम गर्ने निर्णयमा उल्लेख थियो । अर्थ कन्क्लेभ फागुनका लागि सारिएको महामन्त्री थापाले जानकारी दिए । ‘सुवर्णशमशेरको जन्मजयन्तीमा गर्ने गरी कार्यतालिका परिवर्तन गरिएको छ । ठूलो इभेन्ट भएकाले महासमिति अघि गर्न सम्भव देखिएन’, महामन्त्री थापाले भने ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नोभेम्बर २५ बाट १६ दिन महिला हिंसा विरुद्धको अभियान गर्ने कांग्रेसको निर्णय थियो । महिला संघको संस्थापक नेता मंगलादेवी सिंहको जयन्ती पारेर गर्ने भनिएको उक्त अभियान कांग्रेसले प्रारम्भ नै गरेन । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मंसिर ९ मा परेको थियो । मधेशका पुराना नेता शेख इद्रिसको स्मृतिमा भू-संरक्षणसँग सम्बन्धित विषयमा विचार गोष्ठी मंसिर ११ गर्ने भनिए पनि कार्यान्वयन भएन ।

पार्टीले गरेको महत्वपूर्ण निर्णयका रूपमा रहेको मंसिर १५ देखि माघ १५ सम्म दुईमहिने अभियान थियो । ‘घरघरमा कांग्रेस अभियान’ महासमिति बैठकले गर्दा कार्यान्वयनमा नआउने निश्चित छ । महासमिति बैठक पुस १६ देखि बस्दैछ ।

आगामी असार १ सम्म ५ देखि ७ लाख सदस्य थप्ने महत्वाकांक्षी योजना कांग्रेसको बैठकले गरेको छ । त्यस अनुसार यो बीचमा करिब ५० प्रतिशत सदस्य थपिसक्ने समय भएको छ । तर, सदस्यता थप्ने अभियान प्रारम्भ नै हुनसकेको छैन ।

गत साउनदेखि अनलाइन प्रणालीबाट नयाँ सदस्यता लिने व्यवस्था गरिए पनि उक्त प्रणालीबाट अत्यन्तै न्यून संख्यामा सदस्यता लिएको कांग्रेसका एक नेताले जानकारी दिए । उनका अनुसार नयाँ सदस्यता लिनेको संख्या दुई हजारको हाराहारी छ ।

पार्टीले गरेको निर्णय अनुसार सभापति देउवाले नै गर्नुपर्ने निर्णयहरू कार्यान्वयन हुन सकेनन् । १५ भदौको समयसीमा पाएका देउवाले विभागको प्रमुखमा हालसम्म १७ जनालाई मनोनित गरेका छन् । यो बीचमा लेखा, अनुशासन र निर्वाचन समितिले पूर्णता पाएका छन् ।

सभापति देउवालाई विधानले बाँध्ने गरी ल्याएको प्रस्ताव पारित भए पनि समयमा केन्द्रीय समितिको बैठक बोलाइएको छैन । प्रत्येक दुई महिनामा बैठक बस्ने विधानको व्यवस्था अनुसार मिति नै तोकेर केन्द्रीय समिति बैठक बस्ने निर्णय गरिएको थियो । साउनपछि असोजमा बसेको बैठक विधान अनुसार नै थियो । मंसिर पहिलो साता बस्नुपर्ने बैठक आह्वान गरिएन ।

कांग्रेस मास बेस्ड पार्टी भएकाले निरन्तरको कार्यक्रमको आवश्यकता नरहेको केन्द्रीय सदस्य श्याम घिमिरेको बुझाइ छ । उनी भन्छन्, ‘मास बेस्ड पार्टीले निरन्तर कार्यक्रम गर्नुपर्दैन । क्याडर बेस्ड पार्टीलाई निरन्तर कार्यक्रमको आवश्यकता पर्दछ ।’ क्यालेन्डर बनाएर पार्टीले गतिविधि गर्ने विगतको परम्परा नभएकाले कतिपय निर्णय कार्यान्वयनमा कमजोरी रहेको महामन्त्री थापा बताउँछन् । तल्लो संरचनामा सम्मेलन हुनुमा वार्षिक क्यालेन्डरले भूमिका खेलेको थापाको निचोड छ । अर्को वर्षदेखि वडादेखि केन्द्रसम्म सबैले वार्षिक क्यालेन्डर बनाउनुपर्ने निर्णय गरिने बताए ।

कांग्रेसको विधान अनुसार महाधिवेशन नभएको वर्ष केन्द्रमा महासमिति र तल्लो तहमा सम्मेलन गर्नुपर्ने व्यवस्था छ । एक कार्यकालमा एकपटक महासमिति बस्दै आएको थियो । तल्लो तहमा सम्मेलनलाई केन्द्रले महत्व नदिने गरेको थियो । केन्द्रले निर्देशन नगरे पनि तल्लो संरचनाले पनि सम्मेलन नगर्ने प्रणाली नै बसेको थियो ।

यसपटक वडा, पालिका, क्षेत्रीय, जिल्ला अधिवेशन भइरहेको छ । पछिल्लो समय जिल्ला अधिवेशन धमाधम हुन थालेका छन् । सम्मेलन गर्नैपर्ने कारणले गर्दा जिल्लामा पार्टीको गतिविधि बढेको केन्द्रीय सदस्य नैनसिंह महर बताउँछन् । उनी भन्छन्, ‘वडादेखि जिल्लासम्म भएका सम्मेलनले पार्टीप्रतिको आकर्षण बढेको देखिन्छ । बीचको समय मतदातामा अलमल जस्तो देखिए पनि यो नै (कांग्रेस) निर्णायक फोर्स हो कि भन्ने जनतामा परेको छ ।’

पार्टीले गरेका केही निर्णय कार्यान्वयन नहुनुमा भने उनी मुख्य पदाधिकारीलाई दोषी देख्छन् । ‘विग फाइभ’ (सभापति, दुई उपसभापति र महामन्त्री) ले पहलकदमी लिए सबै निर्णय लागू हुने उनी दाबी गर्छन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?