+
+

काठमाडौं महानगरले बाँसुरी वादन प्रतियोगिता गर्ने, प्रथमलाई साढे एक लाख र चाँदीको बाँसुरी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते ११:४९

१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ मंसिरमा महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ ।

२९औं महानगर दिवसको अवसरमा महानगर स्वणिर्म योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महानगरले जनाएको छ ।

सम्पदा तथा पर्यटन विभागकी प्रमुख अर्चना श्रेष्ठका अनुसार प्रतियोगितामा सहभागी हुन विभागले दर्ता फाराम उपलब्ध गराएको छ ।

श्रेष्ठले इच्छुक हुने समूहले फाराममा नाम, ठेगानासहित प्रतियोगितामा कुन बाँसुरी बजाउने हो, ठुलो बाँसुरी (घोर), मध्यम बाँसुरी (माझवाल), सानो बाँसुरी (तीप), स्केलसहितको विवरण भर्नुपर्ने बताइन् ।

दर्ता फाराममा टोल, गुथि वा संघ संस्थाका गुरुः कजीः, नायः बाट सिफारिस गराउनुपर्छ । यसपछि वडाबाट सिफारिस गराएर मंसिर २० गतेभित्र सम्पदा तथा पर्यटन विभागमा पठाउनुपर्ने श्रेष्ठले बताइन् ।

विभागका अनुुसार प्रतियोगीले प्रस्तुति हुने दिन परम्परागत भेषभुषा र गरगहना (श्रृङ्गार) लगाउनुपर्छ । बजाइने बाँसुरी बाँस, काठ वा प्लाष्टिकमध्ये जुनसुकै भए पनि हुन्छ ।

महानगरका अनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन् । यसमा ८ जनाले बाँसुरी मात्र वादन गर्नु पर्नेछ ।

सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्छ । यो सम्भव नभए कम्तीमा ठुलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्छ ।

‘२ जनाले पछिमा, खिं, कोचखिं, धाः, नायखिं, मादल, धिमे, धोलक, नगरा वा अन्य नेवार समुदायका छालाका बाजामध्ये ३ वटा बाजा बजाउन सक्छन् । यस्तै २ जनाले ताः, झ्याली, बबू, भुस्याः, छुस्या, घौ, घंघलाजस्ता नेवार समूदायमा बजाइने धातुबाट बनेका बाजाहरु सहायक बाजाका रुपमा बजाउन पाउँछन्,’ महानगरले भनेको छ ।

प्रतियोगीले ५ वटा धुन छानेर पठाउनुपर्छ । यसमध्ये २ वटा धुन प्रतियोगितामा बजाउनु पर्छ । पहिलो आफैँले छानेको बजाउन पाइन्छ । दोस्रोमा गोलाबाट छान्दा जुन आउँछ, त्यही बजाउनुपर्छ । एउटा धुन ५ मिनेटभित्र सक्नुपर्छ । ४ मिनेटमा संकेत बज्नेछ । यदि छोटा धुन भए २ वटासम्म मिलाएर बजाउन पाइन्छ । गीत नेपाल भाषाकै हुनुपर्छ ।

प्रथम हुनेलाई १ लाख नगद र चाँदीको बाँसुरी

प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ५० हजार रुपैयाँ र चाँदीको ठूलो बाँसुरी प्रदान गरिने महानगरले जनाएको छ ।

दोस्रो पुरस्कार एक लाख रुपैयाँ नगद र चाँदीको मझौला बाँसुरी र तेस्रोलाई ५० हजार रुपैयाँ नगदसहित चाँदीको सानो बाँसुरी प्रदान गरिनेछ ।

सहभागी सबैलाई प्रोत्साहनस्वरुप १० हजार रुपैयाँ नगद प्रदान गरिने महानगरपालिकाले जनाएको छ ।

प्रतियोगिता मंसिर २७ गते राष्ट्रिय सभा गृहमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?