+
+

भूकम्प प्रभावितलाई ५० हजार एकमुस्ट दिन सकिंदैन : गृहमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १५:०८

१४ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्तामै दिइने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले एकमुस्ट दिन माग भए पनि त्यो सम्भव नभएको बताएका हुन् । उनले दुई किस्तामा दिइने, तर एक दिनको फरकमा समेत पाउन सक्ने जिकिर गरे ।

उनका अनुसार पहिलो किस्ता बिना बैंक खाता नगदै पनि प्राप्त गर्न सक्छन् । दोस्रो किस्ता प्राप्त गर्न भने दुई वटा शर्त छन् ।

पहिलो : कहाँ घर बनाउने हो त्यसको तयारी कुनै न कुनै रुपमा अगाडि बढेको देखाउनुपर्ने ।

दोस्रो : बैंक खाता हुनुपर्ने ।

‘पहिलो किस्ता सहजै पाउँछन् । दोस्रो किस्ता पाउन यसो खोस्रिएर भए पनि यो ठाउँमा आवास बनाउन लागेको भन्ने कम्तीमा होस् । त्यतिञ्जेल बैंक खाता छैन भने खोलोस्’ गृहमन्त्री श्रेष्ठले भने, ‘पहिलो दिन पहिलो किस्ता लिनेले भोलिपल्टै पनि दोस्रो किस्ता पाउन सक्ने अवस्था छ ।’

सत्ता साझेदार नेपाली कांग्रेसले भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ एकमुस्ट दिन सरकारसाग माग गरेको छ ।

सरकारी रकम पीडितको खातामा नै जाओस् भन्ने सरकारको उद्देश्य रहेको तर कतिपयको बैंक खाता नभएकाले सहजीकरणका लागि दोस्रो किस्ता लिन मात्रै बैंक खाता अनिवार्य गरिएको गृहमन्त्री श्रेष्ठले जानकारी दिए ।

गृहमन्त्रालयका सचिव दिनेश भट्टराईले रकम दुरुपयोग नहोस् र भविष्यमा प्रश्न नउठोस् भनेर दुई किस्तामा अनुदान दिन लागिएको बताए ।

पीडितको खातामा पैसा जाँदा त्यसको रेकर्ड राख्न सहज हुने र दोस्रो किस्ता पाउन केही न केही काम अगाडि बढाएको हुनुपर्ने प्रावधानले सरकारी रकम दुरुपयोग नहुने उनको भनाइ छ । सचिव भट्टराईका अनुसार अस्थायी आवास बनाउने थोरै काम सुरु गर्नासाथ दोस्रो किस्ता पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?