+
+

पर्यटकीय गन्तव्य बन्दै म्‍याग्दीको केभहिल क्षेत्र

रासस रासस
२०८० मंसिर १४ गते १७:४५

१४ मंसिर, बेनी । धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडा । हिमालसँगै म्याग्दीका ३६ बढी वडाका भू-भागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्न थालेको छ ।

बेनी नगरपालिका-५ स्थित गाजनेको धुरीमा रहेको केभहिल अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ । बेनी नगरपालिका-५ गाजने र बेनी नगरपालिका-९ तोरीपानीको शिरमा अवस्थित केभहिल क्षेत्रमा अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ ।

बेनीबाट पुलाचौर हुँदै गाजनेसम्म सडकको पहुँच पुगेको छ भने बेनी-पुलाश्रम–घतानकोट-ढोलठान हुँदै केभहिल र तोरीपानीबाट पैदलमार्ग हुँदै आन्तरिक पर्यटक केभहिल क्षेत्रमा पुग्ने गर्छन् ।

केभहिलमा बेनी नगरपालिकाले भ्यूटावर, पदमार्गलगायतका पूर्वाधार निर्माण गरेपछि पर्यटकको आगमन बढेको स्थानीयवासी बताउँछन् । पहिले गुफा डाँडाका नामले चिनिने यस क्षेत्रलाई पर्यटक आकर्षित गर्न केभहिलका नामले चिनाउन थालिएको र पर्यटन प्रवर्द्धन अभियानले पर्यटकको चहलपहल बढ्दो क्रममा छ ।

गाजने, पुलाश्रम र तोरिपानी क्षेत्र भएर केभहिलको भ्रमणमा जानेहरू बढेको तोरिपानीका स्थानीय सागर बानियाँले बताए । ‘पहिले खासै चर्चामा थिएन, अहिले यस क्षेत्रको प्रचार-प्रसार र पर्यटन पूर्वाधार बन्ने क्रम बढेपछि आन्तरिक पर्यटक बढेका छन्, शनिबार र बिदाका समयमा त यस क्षेत्रमा घुम्न आउनेको लर्को नै लाग्ने गर्छ’, उनले भने । यहाँबाट धवलागिरि र अन्नपूर्ण रेञ्जका करिब एक दर्जन हिमालको अवलोकन गर्न सकिन्छ ।

प्राकृतिकरूपमै भ्यू प्वाइन्टको आकारमा समुद्री सतहबाट दुई हजार दुई सय मिटर उचाइमा रहेको केभहिलको पहाडबाट गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमाल एकैठाउँबाट अवलोकन गर्न सकिन्छ ।

पहाडको थुम्कोबाट मनोरम हिमशृङ्खला र भू-बनोटको अवलोकन गर्न पाउँदा मन प्रफुल्लित भएको केभहिलमा पुग्नुभएका बेनीका सङ्गीता पौडेलले बताए ।

‘ठाउँ अत्यन्तै रमाइलो रहेछ, म्याग्दीका धेरैजसो गाउँठाउँसमेत देख्न सकिने, हिमाल आँखै अगाडि उभिएजस्तो देखिने रहेछन्, पैदल र मोटरबाटो सजिलो भैदिए धेरै जना यहाँ आउन पाउने थिए”, उनले भने ।

केभहिल, डढेकोट र भुमेथानबाट हिमालका चुचुरा, वनजङ्गल, नदीनाला, विविधतायुक्त ग्रामीण भूगोल र बेँसीका तरेली परेका फाँटको मनमोहक दृश्यावलोकन गर्न पाउनु यहाँ पुग्ने पर्यटकका लागि प्रमुख आकर्षणका रूपमा रहेका छन् ।

पर्यटकीयसँगै धार्मिक र ऐतिहासिक महत्वका हिसाबले समेत गाजने क्षेत्र सम्भावनायुक्त मानिन्छ । तत्कालीन बाइसे-चौबीसे राजाका पालामा तत्कालीन पर्वत राज्यका तृतीय मल्लराजा दिलीप बमले डढेकोटमा दरबार बनाएर शासन सञ्चालन गरेको इतिहासमा उल्लेख छ ।

गाजनेमा दिलीपबम मल्लले विसं १५५०-६० को समयमा जगन्नाथ मन्दिरसमेत निर्माण गरी नृत्य पूजाआजा गर्न सुरु गरेको मन्दिरसमेत रहेकाले यस क्षेत्र पर्यटकीय, धार्मिक र ऐतिहासिक महत्वले भरिपूर्ण रहेको गाजनेका स्थानीय अगुवा नीलकण्ठ शर्माले बताए ।

यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भ्यूटावर निर्माण, ऐतिहासिक जगन्नाथ मन्दिरको पुनःनिर्माण, पदमार्ग निर्माणलगायतका कार्यले सहयोगी भूमिका खेलेको छ ।

विसं २०६९ मङ्सिर ७ देखि १३ गतेसम्म लगाइएको सप्ताहव्यापी श्रीमद्भागवत् ज्ञान महायज्ञबाट सङ्कलित रु एक करोड आठ लाख रकममध्ये जगन्नाथ मन्दिरको पुनःनिर्माणका लागि रु ४७ लाख ९१ हजार नौ सय ७३ खर्च भएको गुठी व्यवस्थापन समितिका सचिवसमेत रहेका स्थानीय अगुवा शर्माले जानकारी दिए ।

मन्दिर शिखरशैली एवं काठमाडौँको पाटन, त्रिपुरेश्वर र भारतको उडिसा राज्यमा अवस्थित कृष्ण तथा जगन्नाथ मन्दिरको आकार र शैलीमा निर्माण गरिएको छ ।

डढेकोटमा तत्कालीन राजाले बनाएको दरबार भग्नावशेषका रूपमा रहेको छ । यस क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक सम्पदा र पर्यटकीय गन्तव्यको विकासका लागि पूर्वाधार निर्माण र प्रचार-प्रसारका लागि पहल गरिएको बेनी नगरपालिका-५ का वडाध्यक्ष गोविन्द बानियाँले बताए ।

उनले नगरपालिकाबाट केभहिलमा भ्यूटावर निर्माण गरिएको र त्यसलाई थप सुधार गरेर सुरक्षित बनाउन आवश्यक रहेको बताए ।

गाजनेबाट डढेकोटसम्म पदमार्ग निर्माण भएको छ । पुलाचौरबाट नयाँगाउँ हुँदै जगन्नाथसम्म सडक पुहँच पुगेको छ । यो सडकलाई स्तरोन्नति गरी नियमित सहज सवारीआवत जावत गर्ने बनाउनका लागि नगरपालिका र प्रदेश सरकारमा पहल गरिएको छ ।

बेनीबाट पदमार्गले समेत जोडिएको यो क्षेत्रलाई व्यवस्थित पदमार्ग बनाउन बेनी-अर्थुङ्गे-पुलाश्रम-घतानकोट-ढोलठान-केभहिल-डढेकोट हुँदै पर्यटकीयस्थल टोड्के जोड्ने पदमार्ग निर्माण गर्न सकेमा यो क्षेत्रको पर्यटन विकासले थप सार्थकता पाउने वडाध्यक्ष बानियाँको भनाइ छ ।

यस क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरेर गाजनेमा घरबास र सरिबोटको फाँटमा होटल सञ्चालन गर्ने स्थानीयवासीले तयारी गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?